
बस्ती शक्ति सञ्चीतको एक रूप हो
चिसालाई जागृत पार्ने पारीलो धूप हो
नसा-नसामा रक्तसञ्चार गर्ने पोसिलो सुप हो
एक्लाएक्लै युद्ध फत्ते हुन्छ सोच्नू बेवकुफ हो।
झुण्डमा जो जान्छ शिकार अवश्य ल्याउछ घर
एक्लोलाई त्यै हो आकाशको फल आखातरी मर
भनिन्छ ढुङ्गालाई माटोको भर माटोलाई ढुङ्गाको भर
माटोकै त छ रातो सेतो विभेद ढुङ्गा त झन परै सर।।
बस्तीमा न्याय ल्याउने तिमी तिम्रो बस्ती कहाँ छ ?
दबिएर बस्ने नै तिमी ब्राह्मणवादको गस्ती जहाँ छ।
खुसीहरू ल्याउने तिमी तिम्रो आफ्नै मस्ती कहाँ छ ?
तिम्रो मर्काले न्याय भेट्छ त्यहाँ तिमी जस्ती जहाँ छ।।
आउ तिम्रो मेरो एक न्यायिक संसार बनाऔँ
हल्लाउन नसक्ने कसैले बलियो आधार बनाऔँ
थिचोमिचो र दमन गर्नेलाई नै लाचार बनाऔँ
तिम्रो मेरो हित गर्ने नया वैज्ञानिक संस्कार बनाऔँ ।।
प्रकाशित मिति : २०७९ माघ १९ गते बिहिवार