० तपाईहरुले राष्ट्रघाती भन्दै आएको एमसीसी  सदनबाट पास भयो नि, अब के गर्नु हुन्छ तपार्ईहरु ?

– हो, राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको छ । यो अत्यन्त दुखद र खेदजनक छ । किन भने अब देश हिजोको अवस्थामा रहेन । एमसीसी संसदले अनुमोदन गरेपछि नेपालले मान्दै आएको असंलग्न परराष्ट्र नीतिमै प्रभाव परेको छ । नेपाल अब आफ्नो असंलग्न परराष्ट्र नीतिलाई लत्याएर एउटा शक्ति राष्ट्रको कठपुतली बन्न पुगेको छ । यसरी देशको सार्वभौमिकता, राष्ट्रिय अखण्डता माथि नै गम्भीर समस्या हुने काम संसदबाट एमसीसी पास गरेर भयो ।

अब देशमा एमसीसी परियोजना संचालन र सुरक्षाको नाममा अमेरिकी सेना आउन ढोका खुला भएको छ । यसैको नाममा देशको सामरिक महत्वका ठाउँहरुमा अमेरिकी सेना आउने र बस्ने निश्चित भयो । अब यसबाट देश, जनता, राष्ट्रियता र सार्वभौमिकतालाई बचाउन नेपाली जनताले यसका विरुद्धमा ठूलो शक्तिशाली जनआन्दोलन गर्न जरुरी छ । हामी त्यसको लागि जनतालाई सचेत पार्ने, संगठित गर्ने काममा लाग्नु पर्द छ ।

० उनीहरुले त व्याख्यात्मक टिप्पणी सहित पास गरेका छन् नि, राष्ट्रघाती प्रावधानहरु हटायौं भनिरहेका छन्, अनि फेरि विरोध किन नि ?

– यो व्याख्यात्मक टिप्पणी सहित भन्ने जुन कुरा आएको छ, त्यो त ‘मनको लड्डु घ्युसँग खाए’ भने जस्तै हो । अमेरिकाले यसमा एउटा पनि अक्षर तलमाथि हुँदैन भनी बारम्बार भनी राहेको छ । संसदमा कांग्रेस नेता मिनेन्द्र रिजालले नै भने नि–‘यो व्याख्यात्मक टिप्पणी त कसैको जुंगा बचाउन मात्र राखिएको हो’ भनेर । त्यसैले यिनीहरु व्याख्यात्मक टिप्पणी सहित पारित गरेका छौं , त्यसमा भएको राष्ट्रघाती बुँदाहरु हटाएका छौं,भन्ने भनाई सरासर गलत हो । यो नेपाली जनतालाई भ्रम पार्न मात्र गरिएको खेल हो ।

वास्तावमा त्यसरी राष्ट्रघाती एमसीसी संसदबाट अनुमोदन गरेर ती पार्टी र नेताहरुले देश र जनताप्रति ठूलो गद्दारी गरेका छन् । जनताले उनीहरुको यो राष्ट्रघाती कुकर्मको एक एक हिसाब राखेका छन् । जनताले कुनै समय यी राष्ट्रघाती गद्दारहरुलाई उचित सजाय अवस्य दिने छन् ।

० तपाई प्यूठान जिल्लाको स्थापित नेता पनि हुनुहुन्छ, के छ अहिले प्यूठानमा तपाईहरुको पार्टीको अवस्था ?

–हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (मसाल) देशको सबैभन्दा क्रान्तिकारी पार्टी थियो । किनभने सर्वहारावर्ग , गरीब निमुखा उत्पीडित वर्गको मुक्ति, शोषणविहिन समाजको निर्माण, नयाँ जनवादी क्रान्ति हुँदै समाजवाद साम्यवादमा पुगि सम्पूर्ण उत्पीडित वर्गको मुक्ति, नेकपा मसालले गर्ने छ। यसको नीति सिद्धान्त ठिक छ भन्ने लागेको थियो । प्यूठानका अधिकांश जनताले विश्वास गरेका थिए मसाललाई । तर अहिले पछिल्लो समयमा पार्टी नेतृत्व सातौं महाधिवेशनको नीतिबाट विचलित भई , संसदीय व्यवस्थालाई नै प्रमुख ठान्ने गरि हिडेको छ। चुनाव कसरी जित्ने ? सरकारमा कसरी पुग्ने ? आफ्नो मान्छेलाई कसरी सत्ताको विभिन्न विभागका भाग बण्डामा पुराउने ? भन्नेमा केन्द्रित भएको छ ।

सत्ता स्वार्थको उद्देश्य पूरा गर्न,पार्टीलाई संसदीय दलदलमा फसाउन,पार्टीले क्रानितकारी नीतिलाई आठौं महाधिवेशनबाट दक्षिणपन्थी संसोदनवादी लाईनमा लगेर सरकारमा जाने नीतिलाई रणनीतिक रूपमा खुल्ला राख्ने निर्णय गर्यो । यो तरिका भनेको सधैभरी चुनावमा जाने हो । हामीले भने जस्तो चुनावको क्रान्तिकारी उपयोग रहेन। वर्ग संघर्षका कार्यक्रम, जनताको पार्टीको रूपमापार्टी स्थापित हुन सकिन र क्रान्तिकारी जुझारु पन पार्टी बाट हराउदै गयो ।

वर्ग दुश्मनसँग साँठगाँठ गर्ने र संघर्षलाई उपेक्षा गर्न थालियो । यसो हुनाले हाम्रो पार्टी आधारभूत बर्गको बिचमा स्थापित हुन सकेन। पार्टीले दक्षिणपन्थी कार्यदिशा अपनायो । हामीले पार्टीभित्र लगातार आफ्ना मत राख्दै आयौं । पार्टी सच्चिनु पर्छ ।तर नेतृत्वले यो कुरालाई सुनेन, बरु उल्टै हामीमाथि कार्वाहीको डण्डा बर्षाइयो । हामी व्यापक कार्यकर्ताको बीचमा पुगेर पार्टी नेतृत्वलाई दक्षिणपन्थी संसोदनवी लाईन सुधार गर्न दबाब दिन खोजेका छौ । यदि नेतृत्वले अपनाएको दक्षिणपन्थी कार्यदिशालाई सुधार गरेर जान चाहेन भने , हामी एउटा सशक्त क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गरेर जानुपर्छ भन्ने सोचाइमा छौ । र हामी क्रान्तिकारी पार्टी निर्माणको दिशामा अगाडि बढ्ने छौं ।

० तपाई जीवनभर पार्टी क्रान्तिप्रति सबै छोडेर लागेको मान्छे, के त्यस्तो अनुशासनविहिन काम गर्नु भयो र तपाईलाई मसालले फाल्नै पर्यो ?

–म यो पार्टीमा सबै छोडेर लागेको सत्य हो । सबै भन्दा ठूलो पार्टी हो । हाम्रो पार्टीको नेतृत्वमा हुने क्रान्तिले , आम शोषित पीडित सर्वहारा वर्गको मुक्ति हुन्छ । त्यो मुक्ति भित्र मेरो जीवनको मुक्ति, मेरो परिवारको मुक्ति पनि हुनेछ भन्ने लागेको थियो । यही सोचले म सम्पूर्ण रूपमा पार्टी र क्रान्तिकारी आन्दोलनमा समर्पित भएर लागेको हो । म जस्तै अरु धेरै साथीहरु पनि लाग्नु भाएको छ थियोे र अझै लागिपरेका छौ । तर हामी सबैले विश्वास गरेको पार्टी वर्गसंघर्षबाट टाढा भाग्दै कम्युनिस्ट मूूल्यमान्यताबाट बिचलित भएर यही संसदीय व्यवस्था भित्र नै रमाउन थालेपछि, क्रान्तिकारी विचारको रक्षाका लागि हामीले विद्रोहको झण्डा उठाएका हौं । आज हामी इमान्दार नेता कार्यकर्ताहरु हाम्रो पार्टी क्रान्तिकारी बिचार बाट विचलित भई , दक्षिणपन्थी कार्यदिशा समात्यो भन्ने चिन्ताले दुखी छौ।त्यही चिन्ता गर्ने हजारौं साथीहरू मध्य म पनि पर्छु । पार्टीलाई बिचलन को बाटोबाट बचाउने उद्देश्य राखी हामीले आठौं महाधिवेशनमा अलग दस्तावेज प्रस्तुत गरेका थिम।मेरो पनि त्यो प्रस्तावमा समर्थन रहेको थियो ।

महाधिवेशन पछि उक्त प्रस्तावका पक्षमा रहेका नेता तथा कार्यकर्ताहरूलाई एकली करण गर्ने ,बञ्चितिकरण गर्न , घटुवा गर्ने र निलम्बन देखि अनिश्चितकालीन निस्कासन गर्ने काम गरियो । मसाल नेतृत्वले पार्टीलाई गलत दिशामा जानबाट सच्चाउनुको साटो म लगाएत हजारौं नेता तथा कार्यकर्ताहरूलाई अनुशासन उल्लंघन गरेको आरोपमा कार्वाही गर्ने काम ग¥यौं । म माथि मसाल नेतृत्वले गरेको कारवाही मुलतः भिन्न विचारमाथिको दमन नै थियो ।

० अब कसरी अगाडि बढ्ने सोंच बनाउनु भएको छ ?

–हामी अन्त्यसम्म पार्टीलाई फुट हुनबाट बचाई, पार्टीलाई बलियो शक्तिशाली क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गरेर जानु पर्छ भनि रहेका छौ। हाम्रो मत छ विना पूर्वाग्रह पार्टी संगठनमा वास्तविक रुपमा दक्षिणपन्थी कार्यदिशाको असर परेको छ कि छैन ? ०५५/०५६ सालको जस्तै मसालको सांगठनिक अवस्था छ कि छैन ? र आज हाम्रो संगठनमा ह्रासको अवस्था किन आयो ? गम्भीर भएर चिन्तन मनन गर्न सबै इमान्दार नेता कार्यकर्ताहरुमा अनुरोध गरेका छौं । हाामीले कोअर्डिनेशन कमिटी बनाई संस्थापन पक्षलाई पटकपटक आग्रह गरेका छौं। र समस्या सुल्झाउन विशेष महाधिवेशन गरी गलत निर्णयलाई सुधार गरेर जाउ भनेका छौ।पार्टीलाई एक ढिक्का र अझ बलियो क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण गरेर जानुपर्छ भनेका छौं । तर दक्षिणपन्थी भाषमा चुर्लुम्म डुबेको मसाल नेतृत्वले अहिलेसम्म पनि हाम्रो कुरा सुनिरहेको छैन ।

० प्यूठान जिल्ला मसालको लाल किल्ला भनिन्थ्यो, के छ प्यूठान जिल्लामा मसालको पछिल्लो अवस्था ?

– प्यूठान जिल्ला क्रान्तिकारी कम्युनिस्ट पार्टीको आधार भएको जिल्ला हो । तर आज त्यसमा क्रमशः स्खलन हुँदैछ । पार्टी कमजोर हुँदैछ । हिजो हामी प्यूठानका दुबै क्षेत्रमा जितेका थियौं । पछि आएर एक क्षेत्र बन्यो । अब एक सिट पनि एक्लै संगठनको बलले जित्न सक्ने अवस्था रहेन। त्यो किन भयो भने पार्टी क्रान्तिकारी नीति सिद्धान्तबाट विचलित भयो । नितान्त चुनावी मानसिकतामा हामी डुब्न थालिम । हामी र अन्य संसदवादी पार्टीमा अन्तर न भएपछि जनता हाम्रो पछि लागि रहने अवस्थ रहेन।हामी कहिल एमाले, कहिले कांग्रेसको मतियार बन्न पुगिम। साथै पार्टीको आठौं महाधिवेशनले दक्षिणपन्थी कार्यदिशा समातेको कारण संगठन कमजोर हुदै गयो ।

पार्टीको दक्षिणपन्थी कार्यदिशा र संसदीय दलदलको प्रभावबाट मुक्त गरेर क्रान्तिकारी स्पीरिट बोकेको पार्टी निर्माणमा जुटेका छौ। धेरै साथीहरू यो बिषयमा गम्भीर हुनुहुन्छ । र पार्टीले दक्षिणपन्थी नीति लिएकोमा सहमत पनि हुनुहुन्छ । कोही चुनावमा हारिन्छ अहिले यत्तिकै बसौं भन्दछन् । धेरै साथीहरु क्रान्तिबाट विचलन भएको, दक्षिणपन्थी कार्यदिशा लिएको र संसदीय आहालमा पार्टी फसेकोमा चिन्तित हुनुहुन्छ । सबै साथीहरुलाई सचेत बनाउँदै, हामी क्रान्तिकारी पार्टी निर्माणमा जुट्नु पर्दछ भन्ने साथीहरु पनि प्रशस्तै हुनुहुन्छ । हामीलाई विश्वास छ– पक्कै पनि यो विचार नै अन्त्यमा बलियो भएर जाने छ । पार्टी बलियो र हिजोको मसाल जस्तै शक्तिशाली बनेर जाने कुरामा हामी ढुक्क छौं ।

० अन्तमा त्यस्तो केही थियो कि ?

–देश अहिले अत्यन्त संकटपूर्ण अवस्थामा छ । देशको राष्ट्रियता, स्वाधिनतामाथि कालो बादल मडारिइरहेको छ । सम्पूर्ण देशभक्त तथा वामपन्थी शक्तिहरु मिलेर राष्ट्रियता रक्षाको लडाई अगाडि बढाउनुपर्दछ । श्रमजीवि जनताको वास्तविक मुक्ति सच्चा कम्युनिस्ट पार्टीको नेतृत्वमा हुने नयाँ जनवादी क्रान्तिले मात्र गर्न सक्दछ । तर विडम्बना नेपालमा त्यस्तो कम्युनिस्ट पार्टीको अहिले अभाव खड्किरहेको छ । हामी त्यही पार्टी निर्माणको दिशामा अघि बढीरहेका छौ ।