रेडक्रसले ल्याइदियो घरघरमा खानेपानी

खुसीयालीमा नाचगान

२३ फागुन, रोल्पा । नेपाल रेडक्रस सोसाइटी अन्तर्गत एकीकृत सामुदायिक उत्थानशील परियोजनाले रोल्पाको माडी गाउँपालिका–२ का ६० घरधुरीलाई खानेपानी बनाइदिएपछि उपभोक्ता हर्षित् भएका छन् । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका यहाँका ढाप्चाटोल, गलमपाटी, सिरुवाली, पोखराडाँडा, सिमपानी लगायतका गाउँको हरेक घरमा खानेपानी पहुँच पुगेको हो ।

करिब २ सय ६० जनसंख्या रहेको यहाँको समुदायको खानेपानीका लागि नेपाल रेडक्रस सोसाइटी एकीकृत सामुदायिक उत्थानशील परियोजनाले २१ लाख ६५ हजार २ सय ७४ रुपैयाँ खर्चिएको छ भने समुदायले ५ लाख ८३ हजार रुपैयाँ बराबरको जनश्रमदान गरेका छन् । जम्मा २७ लाख ४८ हजार ९ सय ७४ रुपैयाँ लागत रहेको परियोजना निर्माणसँगै खानेपानी अभावका कारण समस्यामा परेका उपभोक्तालाई स्वच्छ पानी पिउनुका साथै तरकारी खेती गर्न र गाइबस्तुलाई खुवाउन पनि सहज भएको छ ।

कोरोनाका कारण समस्या
परियोजनालाई अझ प्रभावकारी बनाउने लक्ष्य भए पनि कोरोना महामारीका कारण एकवर्ष खेर गएको र भनेजस्तो काम पनि गर्न नसकिएको नेपाल रेडक्रस सोसाइटी रोल्पाका सभापति डी.बी. घर्तीमगरले बताए । कार्यक्रम अझै लामो समयसम्म सञ्चालन गर्ने र फिनिस रेडक्रसको आर्थिक सहयोगमा माडी गाउँपालिकामा भइरहेका जलवायु अनुकुलन, स्वास्थ्य, लैंगिक सामाजिक समावेशीकरण, खानेपानी सरसफाई स्वच्छता र रेडक्रसको संस्थागत विकासका क्षेत्रमा धेरै काम गर्नुपर्ने भएपनि कोरोनाका कारण भनेजति गर्न नसकिएको सभापति घर्तीमगरले बताए । रेडक्रसको परियोजना सम्पन्न गर्न स्थानीय सरकार, राजनीतिक दल, उपभोक्ता सबैले सकारात्मक साथ दिएको रेडक्रसका निवर्तमान जिल्ला सभापति नौलसिंह पुनले बताए ।

रेडक्रसले खानेपानी निर्माण गर्दा स्थानीय सरकारलाई ठूलो सहयोग पुगेको माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले बताए । यसअघि खानेपानीका लागि धेरै समय खर्चिएर टाढाबाट पानी लिनुपर्ने बाध्यता हटेको र त्यसबाट बचत समयलाई अन्य कृषि कर्ममा लगाउन सकिने पुनको भनाइ छ । स्वास्थ्य, खानेपानी, सरसफाई, कृषि, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा गाउँपालिकाले पनि धेरै प्रगति गरेको चर्चा गर्दै अध्यक्ष पुनले रेडक्रसजस्तो दाता पाउँदा गाउँपालिकालाई ठूलो राहतको महसुस भएको बताए । विपदको सारथिको रुपमा रहेको रेडक्रसले मानव जीवनसँग सम्बन्धित विविध पक्षमा काम गरिरहेको भन्दै जिल्ला समन्वय समिति रोल्पाका सदस्य मानबहादुर केसीले प्रशंसा गरे ।

पानी खेर जान नदिन मिटर जडान
हरेक धारामा मिटर जडान गरिएकाले पानी खपट भएअनुसारको शुल्क निर्धारण गरी उक्त शुल्कलाई मर्मतसम्भारमा खर्चिने उपभोक्ताको योजना छ । मिटरकै कारण जथाभावी पानी खर्च गर्ने समस्या पनि रोकिने र त्यसबाट उठेको रकमबाट पानी संरक्षणमा लगाइँदा दीर्घकालीन हुने भएकाले पनि यसो गरिएको परियोजना अधिकृत कमला राईले बताइन् । मर्मत सम्भारका लागि भन्दै उपभोक्ताको बैंक खातामा परियोजनाले १ लाख २० हजार रकम समेत जम्मा गरिदिएको छ ।

घरघरमा खानेपानी पुगेको खुसीयालीमा स्थानीयले नाचगान गरेका छन् । खानेपानी उद्घाटनका लागि चिसापानी ठूलोसानो खानेपानी उपभोक्ता समितिको व्यवस्थापन, माडी गाउँपालिकाको समन्वय तथा एकीकृत सामुदायिक उत्थानशील परियोजनाले आयोजना गरेको कार्यक्रममा स्थानीय आमा समूह तथा उपभोक्ताहरुले खुसीयालीसहित नाचगान गरेका छन् । ‘गाउँमै खानेपानी आएपछि उपभोक्ता सबै खुसी छन्’ उपभोक्ता समितिका अध्यक्ष सञ्जयकुमार घर्तीले भने, ‘पानी भएपछि हरेक कुरामा कृषकलाई फाइदा हुन्छ, अब धेरै गर्न सक्छौं भन्ने आत्मविश्वास आएको छ ।’ अर्का कृषक टेकबहादुर बाँठाले पनि अब तरकारी उत्पादनमा बृद्धि हुने बताए ।

पानी धारासँगै उपभोक्ताले बनाए चाङमचाङ
नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित परियोजनाले घरघरमा पानीधारा निर्माण गरिदिएपछि उपभोक्ता आफैले भाँडा सुकाउन चाङमचाङ निर्माण गरेका छन् । निकै कम लागतमा निर्माण हुने भाँडा सुकाउने चाङमचाङ बनाउन दिएको सल्लाहअनुसार सबैजसो घरमा निर्माण भएको परियोजनाका कार्यक्रम अधिकृत विमला राईले बताइन् । ‘धारा बनाइसकेपछि भाँडा सुकाउने कुरा पनि आवश्यक पर्छ भनेर सल्लाह दियौं’ अधिकृत राईले भनिन्, ‘यसरी बनाउनुस् भनेर भन्यौं उहाँहरुले सहजै बनाउनुभयो ।’ हरेक घरमा धारा, चाङमचाङ, शौचालय बनेपछि गाउँ नै स्वच्छ र हराभरा बन्न थालेको छ । वडाले यसअघि नै हरियाली वडा बनाउने भन्दै सबै घरमा हरियो रङ लगाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस