१ जेठ, रोल्पा । विकास बजेट खर्चौला र केहि काम गरौला भनेका जनप्रतिनिधिहरु कोरोना महामारीका त्राससँगै देश लकडाउनमा गएपछि दिक्क बनेका छन् । उनिहरु ‘असफलताको ट्याग’ लाग्न सक्ने भन्दै चिन्तित बनेका हुन ।
पहिलो वर्ष काम सिक्दैमा बिताएका जनप्रतिनिधिलाई दोस्रो वर्ष कर्मचारी अभावले काम गर्न असहज बनाएको थियो । यो पटक भने छिटो, छरितो र राम्रो काम गर्ने योजना सहित बसेका उनिहरुलाई लकडाउनले फेरी पनि गतिलोसँग काम गर्न दिएको छैन ।
धमाधम योजनाहरु संचालन गर्ने समयमा देश लकडाउनमा गएपछि जिल्लाका सयौँ ठूला साना योजनाहरु अलपत्र परेका छन् । कर्मचारीहरु कार्यालय बन्द भएपछि घरतिर लागेका छन् । जनप्रतिनिधिलाई स्वास्थ्य र क्वारेन्टाईन व्यवस्थापनमा भ्याई नभ्याई छ ।
बजेट प्रयाप्त भए पनि काम गर्ने वातावरण नभए पछि चारैतिर अलमल देखिन्छ । यतिबेला जनप्रतिनिधिलाई काम गर्न नपाउनुको चिन्तासँगै गर्न सकेनन् भनेर लाग्ने आरोपको पनि उत्तिकै भय छ । कार्यकाल अधुरै सकिने चिन्तामा रहेका उनिहरु लकडाउनमै पनि योजना सकाउन लागिरेहका छन् ।
कार्यकाल अधुरै सकिने चिन्तामा रहेको बताउदै परिवर्तन गाउँपालिकाका अध्यक्ष निमकान्त डाँगी भन्छन् ‘यो समयमा गर्न नसकेको बुझिदिनुपर्ने हो तर आरोपको भय चाहि छ ।’ त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वली भन्छन् ‘परिस्थिति बुझ्नेले असफलताको ट्याग लगाउदैन । असहजताका बीचमा पनि काम गरिरहेका छौँ । खोजेका थियौ तर परिस्थिति नै असहज बन्यो तर पनि आरोप लगाउनेलाई सजिलो हुनेछ ।’
अघिल्ला दुई वर्ष गतिलोसँग काम नगरेका वा गर्न नपाएका स्थानीय तहहरुले यसपटक फेरी घोषणा—पत्र अनुसार प्रगती देखाउन सक्ने छैनन् । ‘अघिल्लो दुई वर्ष पनि यो भन्दा अलि बढि गर्न सकिन्थ्यो । यो वर्ष पनि दुई चौमासिक सकिदासम्म पनि खासै काम भएको थिएन ।’
नेपाल पत्रकार महासंघका अध्यक्ष महेश न्यौपाने भन्छन ‘विविध कारणले स्थानिय तहका पहिलो निर्वाचित जनप्रतिनिधिको गतिलो मुल्याङ्कन नहुने भयो । यो ५ वर्ष सिक्दैमा बित्ने सम्भावना देखिन्छ ।’ हुन त रोल्पामा पहिलो आठ महिना सकिदासम्म पनि विभिन्न विकासे कार्यालय र स्थानीय तहहरुले निकै कम बजेट खर्चिएका छन् ।
यो आर्थिक वर्षको दोस्रो चौमासिक अर्थात ८ महिनाको अवधिमा पुँजिगत तर्फ केन्द्र सरकारले दिएको कुल बजेटको १३.३४ प्रतिशत र प्रदेश सरकारले दिएको कुल बजेटको १५.४० प्रतिशत मात्र निकासा भएको छ । केन्द्र सरकारको ९३ करोड ९० लाख ९ हजार बजेट मध्य हालसम्म १२ करोड ५३ लाख ४ हजार ३ सय ८२ रुपैँया मात्र निकासा भएको छ । प्रदेश तर्फको पुँजिगत बजेट ४० करोड ७१ लाख ८४ हजार बजेट रहेकोमा ६ करोड २७ लाख ६ हजार ९ सय ५१ रुपैया ४० पैँसा मात्र निकासा भएको छ ।
त्यसै गरि केन्द्र सरकारको चालु तर्फ ३ अर्व ८८ करोड ५८ लाख ६४ हजार ४ सय ९९ रुपैँया १७ पैसा मध्य २ अर्व ३७ लाख ८१ हजार ८ सय ८८ रुपैँया ४४ पैसा निकासा भएको छ भने प्रदेशले दिएको ६९ करोड ८७ लाख ७ हजार मध्य ३२ करोड ७४ लाख ८९ हजार १ सय ९८ रुपैया ६६ पैसा निकासा भएको हो ।
यहाँ निकासा भएको देखिएको रकम पनि खर्च भने न्युन रहेको देखिन्छ । रोल्पा उद्योग वणिज्य संघका अध्यक्ष विश्वकुमार चन्द अलमल रहेको बताउछन । ‘समय अलमल मै बित्ने देखिन्छ । संघीय, प्रदेश र स्थानीय सरकारले गतिलोसँग समयमै बजेट खर्च गर्न नसक्नु स्पष्ट निति वधिि नहुनुको परिणाम हो ।’—दिनेश सुवेदी /नागरिक दैनिकबाट साभार