आत्महत्या गरेका पूर्व जनमुक्ति सेनालाई पूर्व सहयोद्धाको श्रद्धाञ्जली

राज्यसत्ता परिवर्तन र सामाजिक रुपान्तरणको उदात्त लक्ष्य लिएर आरम्भ भएको दशवर्षे जनयुद्धमा देशैभरीबाट सबैभन्दा उच्च बलिदान गरेको त्यो रोल्पा जेल्वाङको एक बहादुर युद्धयात्री प्रिय सहयोद्धा रेगबहादुर पुन (क. रेशम) ले देह त्याग गर्नुभएको खबर मलाई पत्याउनै गाह्रो भइरहेको छ। जुन गाउँबाट सामाजिक न्याय, समानता र मुक्तिका लागि ७३ जना वीरविरङगनाहरुले गौरवपुर्ण बलिदानी दिएका थिए। त्यस्तो वीरताको इतिहास लेखिसकेको गाउँको एक साहसिक पूर्व जनमुक्ति सेनाले कसरी यस्तो दुर्भाग्यपूर्ण बाटो अवलम्बन गर्न सक्छ? यहीँ प्रश्नले मलाई बारम्बार घोचिरहेको छ। कमरेड रेशमसँग थुप्रै रणमैदानमा उत्साह र वीरताका साथ वर्ग दुश्मनसँग पौठेजोरी खेलेका थियौं हरेक चुनौतीलाई सफलताको सिढी मान्नु हुन्थ्यो कमरेड रेशम।

मृतक रेगबहादुर पुन (रेशम)

२०६० असोजमा दाङको भालुवाङ सशस्त्र बेस क्याम्प आक्रमण, म्याग्दीको सदरमुकाम बेनी आक्रमण, रुकुम खाराको दोस्रो आक्रमण २०६२ मा नवलपरासीको घोडाहा भिडन्त, २०६२/११/२५ को तौलिहवा आक्रमण लगायतका दर्जनौं युद्ध स्वर्णिम भविष्य निर्माण गर्ने उत्साहजनक सपना सयपत्री सजाउदै सँगसँगै लडे अझै पनि मेरो मानसपटलमा ताजै छ। युद्धमैदानमा देखाउनु भएको उच्च मनोबल सम्झदा अझै पनि मलाई विश्वास छैन कमरेड रेशमले आत्महत्या गर्नु भयो भनेर तैपनि मन भारी बनाएर सत्य स्विकार्न विवश भएको छु।
प्रिय कमरेड रेशम हिजो हामीलाई देखाइएको र देखेको हाम्रो सपना नेतृत्व विहिन भएर चौबाटोमा रोइरहेको जस्तो लाग्छ। तपाईं हामीले गरेको बलिदानले राजनीतिक व्यवस्था फेरियो तर सामाजिक, आर्थिक र सांस्कृतिक अवस्था, चेतना र चिन्तन अझै फेरिएको छैन। आज तपाईं हामी जस्तै हजारौं स्वप्नद्रष्टा योद्धाहरु खाडीको चर्को घाममा पल—पल जल्दै एक गाँस र एक सरो लगाउनको लागि नङग्रा खिह्याउन विवश छन्। यी र यस्तै विकराल परिवेश नै तपाईंको मृत्युको कारण बन्यो कि भन्ने लागिरहेको छ। म पनि अवाभ र संकटकै अगेनामा जलिरहेको छु। तथापि अलिकति पश्चाताप, अलिकति आवेग र केही आशा लिएर प्रदेशी भुमीमा निरन्तर संघर्ष गर्दै जीवन धान्ने मेसो गरिरहेको छु। कमरेड रेशम तपाईंसँग बिताएका अविस्मरणीय पलहरु भौतिक रुपमा पुनः भलाकुसारी गर्ने अपेक्षा अधुरै रहयो। प्रिय कमरेड रेशम हाम्रो त्यो आत्मीय सहकार्यको बिम्ब मेरो मस्तिष्कमा अजम्बरी रहनेछ।
उही तपाईंको पुर्व सहयोद्धा राजकुमार बुढा (शुगम) रोल्पा नगरपालिका – १० रोल्पा हाल क्वालालम्पुर मलेसिया।

प्रकाशित मिति : २०७७ जेष्ठ १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस