जिल्ला कारागार कार्यालय रोल्पामा गत जेठ ४ गते एक जना कैदीको मृत्यु भएपछि अहिले यो विषय राष्ट्रिय चर्चाको विषय बनेको छ । सुरुमा कैदीले आत्महत्या गरेको भन्ने खबर बाहिरिए पछि घटना सामान्य जस्तै मानिएको थियो । तर जुन व्यक्तिको मृत्यु भएको छ ति व्यक्ति नै फरक व्यक्तिको नाममा कैद भुक्तान गरिरहेको कुरा थाहा भयो त्यस पछि घटनाले थप अर्काे रुप लिएको हो । सुर्खेतका विजयविक्रम शाहको नाममा बाँकेका सुन्दर हरिजनले कैद भुक्तान गरिरहेको कुरा उनको मृत्यु पश्चात थाहा भएपछि अहिले यो विषय राष्ट्रिय रुपमा उठेको छ । यो विषयलाई लिएर संसद्देखि मानवअधिकार आयोगसम्म उठाइएको छ भने कारागार विभाग र गृह मन्त्रालयले पनि समिति नै बनाएर छानविन गरिरहेको छ ।
यद्यपि छानविन प्रक्रिया अघि बढीरहदा घटना बारे थप कुरा खुल्दै जाने र यसमा भएका गम्भीर गल्तीमा कसले कस्तो सजाय भोग्नुपर्ला त्यो पछिको थाहा हुने नै छ । तर अहिले नै घटना बारे केहि आशंका र गम्भीर गल्ती भएका भने देख्न सकिन्छ । नेपाल हो यहाँ जे गरे पनि हुन्छ भन्ने गलत प्रवृतिले यो घटना हुन गएको आशंका मज्जाले गर्न सकिन्छ । किनकि विजयविक्रम शाह जस्तो आपराधिक क्रियाकलापबाट कारागार चलान भएका व्यक्ति र एउटा सामान्य चोरी गरेको आरोपमा जेल गएका सुन्दर हरिजनलाई कसरी फसाइयो भन्ने भन्ने घटना गम्भीर रहेको मान्न सकिन्छ । चोरी जस्तो सामान्य घटना र नाबालक सुन्दरलाई जसरी कारागार चलान गरिएको छ त्यसबाट नै आशंका गर्न सकिन्छ कि यहाँ सेटिङ हुदैछ ।
त्यतिमा मात्रै घटना सीमित हुदैन् । जबकि सुन्दर छुट्ने समय केहि महिना मात्र बाँकी रहदा जसरी बाँके कारागारबाट रोल्पा कारागार सरुवा गरियो यो अर्काे गम्भीर सेटिङ थियो । यति हुँदासम्म पनि कारागार विभाग र जिल्लाका सुरक्षा निकायहरुको पनि केहि गम्भीर गल्ती देखिन्छ । कैदीहरुको बारेमा विस्तृत विवरण जानकारी नलिएरै बाँके कारागारबाट रोल्पा कारागारमा कसरी सरुवा गरियो ? यस्तै विजयविक्रमको नाममा सुन्दरले कसरी कैद भुक्तान गरिरह्यो ? सुन्दर छुट्ने समयमा विजयविक्रम कसरी छुट्यो ? विजयविक्रमलाई बचाउन जिल्ला कारागार रोल्पा नै छान्नुपर्ने के थियो कारण ? विजयविक्रमको अर्काे मुद्दा बाँके अदालतले फैसला गरेको केहि समयमै सुन्दरको मृत्यु ? नाबालक सुन्दरलाई जेल चलान गर्ने न्यायाधिस दिलिपराज पन्त अहिले जिल्ला अदालत रोल्पामै कार्यरत हुनु ? सरकारी छानविन टोलीले जिल्लाका सरोकारवासँग गम्भीर छलफल नगरी टालटुले प्रतिवेदन बुझाउनुले पनि गम्भीर आशंका निम्त्याएको छ ।


