सिंचाई पोखरी निर्माणपछि स्थानीय खुसी

९असार, रोल्पा । वन तथा वातावरण मन्त्रालय पहाडी साना किसानका लागि अनुकुलन आयोजना अन्तर्गत आशा परियोजनाले सिंचाई पोखरी निर्माण गरिदिए पछि रोल्पाको गजुलबासी दंग छन् । हिउँदको समयमा सिंचाई अभावका कारण सुख्खा रहने करिब २ सय ४३ रोपनी जमिनमा सिंचाई हुने गरी आशा आयोजनाले पोखरी बनाइदिएपछि उनीहरु खुसी भएका हुन् ।

सिंचाई अभावका कारण हिउँदभर सुख्खा रहने सुनिलस्मृति गाउँपालिका वडा नं. ६, गजुलकोट गाउँमा अब भने बाह्रै महिना सिंचाई हुने भएको छ । बढ्दो औद्योगिकरण, वन विनास, अव्यस्थित सहरीकरण तथा प्रविधिको बढ्दो प्रयोगले वातावरणमा प्रभाव परेकाले पानीका मुहान सुक्ने र सिंचाई अभावमा जमिन बाझो रहने समस्या अब गजुलबासीले भोग्नुनपर्ने आयोजना कार्यान्वयन इकाई रोल्पाका दिपक केसीले बताउनुभयो । स्थानीय कुवापानी सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा निर्माण गरिएको तितेपोखरा सिंचाई पोखरी निर्माण आयोजनाले गजुलका ८१ घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष चित्रजङ सेनले बताए । ‘सिंचाई पोखरी निर्माणले कृषकमा धेरै आशा जगाएको छ’ सेनले भने ‘विशेषगरी सिंचाई पोखरीले हिउँदमा धेरै कृषकलाई लाभान्वित बनाउने अपेक्षा छ ।’

सिंचाई पोखरी निर्माणमा आशा परियोजनाले १३ लाख ७० हजार, वडा कार्यालयले २ लाख र जनश्रमदानबाट ३ लाख ३६ हजार गरी १९ लाख ६ हजार खर्चिएको सुनिलस्मृति गाउँपालिका वडा नं. ६ का अध्यक्ष अर्जुन सुवेदीले बताए । ‘आशा परियोजनासँग वडा कार्यालय र जनश्रमदान गरी स्थानीयले पनि सहकार्य गरेका छन्’ वडाअध्यक्ष सुवेदीले भने ‘स्थानीय सरकार र स्थानीयबासीको समेत योगदान भएकाले यसको प्रयोग र संरक्षणमा पनि सबैको चासो उत्तिकै हुने विश्वास छ ।’

परियोजनाले सुख्खा याममा पानीको उचित प्रयोग गरी सिंचित गर्ने र खाद्य तथा नगदे बाली उत्पादन बढाउने उद्देश्यका साथ सिंचाई पोखरी निर्माण गरेको हो । सिंचाई पोखरी निर्माणपछि हिउँदे बाली तथा तरकारी उत्पादनमा आफूहरुलाई धेरै सहयोग पुग्ने स्थानीय रेश्मी सुवेदीले बताइन् । ‘पहिले पिउने पानीको समेत समस्या हुन्थ्यो, अहिले सिंचाई सुविधा पनि पाउने भएका छौं, खुसी छौं’ स्थानीय लालबहादुर सेनले बताए ।

आशा परियोजनाले गजुलमै भनारे पोखरी सिंचाई पोखरी पनि निर्माण गरेको छ । पोखरी निर्माणले २५ घरधुरी लाभान्वित हुने स्थानीय हरिबहादुर थापाले बताउ छन् । बाह्रै महिना सिंचाई हुने भएपछि तरकारी उत्पादनमा बृद्धि गर्ने कृषकको योजना छ । सडक, विद्युत पुगेपनि पर्याप्त सिंचाईका लागि पानी नहुँदा तरकारी तथा अन्य वस्तु आयात गर्नुपरेको र अब त्यसका कमी आउने स्थानीय बताउँछन् ।

प्रकाशित मिति : २०७७ असार ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस