साउनमा किन लगाउने मेहन्दी र हरियो चुरा ? यस्तो छ धार्मिक महत्व

१ साउन, काठमाडाैँ । यतिखेर बजारमा हरियो पोशाकमा सजिएर हातमा हरियो र रातो चुराको साथै हातमा विभिन्न डिजाइनको मेहन्दी लगाएर युवती समूहगत रुपमा हिँडेको साँच्ची नै निकै आकर्षक देखिन्छ। साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण रहेकाले वर्षमा एक महिनाभरि महिलाहरु हरियो चुरा र मेहन्दी लगाउछन्।

यस्तो छ हरियो चुराको महत्व

शास्त्रमा प्रकृतिलाई ईश्वरको रुपमा लिइएको छ। जसकारणले गर्दा प्रकृतिको पूजा अर्चना गर्ने गरिएको छ। साउन महिनामा प्रकृतिको पूजा अर्चना गर्दा समृद्धिका साथ आयुआरोग्य वृद्धिहुने धार्मिक विश्वास रहेको छ।

ज्योतिषीका अनुसार हरियो रंग सौभाग्यको रंग हो। साउन महिनाको प्राकृतिक हरियालीसँग आफूलाई एकाकार गर्ने महिना पनि हो।

भगवान शिवलाई जल अर्पण गरेर प्रकृतिसँग नजिक हुने अवसर भएका कारण यो महिनामा हरियो रंगको विशेष महत्व रहेको हुन्छ । हरियो रंग र प्रकृतिसँगको एकाकारले भाग्यमा पनि सकारात्मक प्रभाव पर्ने मान्यता रहेको छ ।

श्रावणमा हरियो लगाउँदा शिव भगवान खुसी हुने धार्मिक विश्वास छ। भगवान शंकर प्रकृतिसँग विशेष रुपमा जोडिएका छन्।

जब भक्तले स्वयंलाई प्रकृतिसँग नजिक ल्याउँछन् तब भगवान शिवले उनीहरुको मनोकामना पूरा गर्ने विश्वास गरिन्छ । श्रावणमा हरियो रंगको चुरा पहिरिने महिलासँग भगवान विष्णुसमेत प्रसन्न हुनेछन् ।

हरियो रंग प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक उर्जाको वृद्धिको प्रतिक हो । हरियो उपचारको रंग पनि हो जो मुटसँग जोडिएको हुन्छ ।

उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ । विवाहित जोडिको सुमधुर सम्बन्धमा पनि शयनकक्षको दक्षिण पूर्वी क्षेत्रमा हरियो रंग लगाएको खण्डमा दाम्पत्य जीवन सुखी हुने कुरा वास्तुशास्त्रमा उल्लेख गरिएको छ ।

ज्योतिषशास्त्र अनुसार, हरियो रंग बुध ग्रहको प्रतीक पनि हो । हरियो रंग लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति हुन्छ । अनि यस रंगले बुद्धि र समृद्धि प्राप्ति हुन्छ भन्ने मान्यता रहेको छ ।

महिलाका लागि रातो रंग खुशी र सौभाग्यको प्रतीक हो। यस्तै हरियो रंग चाहिँ परिवार र जीवनमा खुशी ल्याउन निकै प्रभावकारी हुन्छ। बुध ग्रहको असर व्यक्तिको करीयर र व्यवसायमा सीधै पर्छ। यस रंगलाई शरीरमा धारण गर्दा मनुष्य आफ्नो कार्यक्षेत्रमा सफल हुने धार्मिक विश्वास रहेको छ।

प्रकाशित मिति : २०७७ साउन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस