….र यहि
नाङ्गो पैतलाले हिडेर भएपनि
एकदिन आईपुग्नेछु
म हजुरको शहरमा
मलाई थाहा छ
हजुरको शहर सम्म आईपुग्न
मैले हिड्नुपर्ने छ
एउटा खतरनाक बाटो
जहाँ फ्याकिएका हुन सक्छन् ।
पृथ्वीको समाचार बोकेर हिडेको बतासको
न्युनतम ठक्करले फुटेका दरबारका सिसाहरु,
जहाँ फ्याकिएका हुन सक्छन् ।
कुनै आदिम आरनमा घन खादा—खादा प्रयोगबिहीन बनेका
धर्मका स—साना तिखा धातुहरु,
जहाँ फ्याकिएका हुन सक्छन् ।
कुनै प्राचिन गुफा भित्र मृत अवस्थामा भेटिएको
ईश्वरको कंकाल र हाडखोरहरु,
जहाँ फ्याकिएका हुन सक्छन् ।
सिमान्तकृत जिवनलाई चिथोर्न पल्केका
विषालु काँडाहरु
जहाँ फ्याकिएका हुन सक्छन् ।
चेतनाको आकाश सोहोरेर जम्मा भएको
दुर्गन्धित विचारको फोहोरहरु
र
जहाँ बगेको हुन सक्छ
सभ्यता सिक्न भिन्नै ग्रहबाट आईपुगेको
कुनै एलियनको गन्हाउने पिसाब,
मलाई यो पनि थाहा छ
हजुरको शहर सम्म आईपुग्ने बाटोमा,
भेटिन सक्छ
उत्तर आधुनिक संस्कारको यौनीबाट जन्मिएको
कुनै नवजात सुर्यको लास
भेटिन सक्छन् ।
अध्यारो प्रयोगशालामा
मृत्युको नयाँ विज्ञान खोजिरहेका
डरलाग्दा खप्परहरु
भेटिन सक्छन् ।
सपनाहरु जलाएर आगो
तापिरहेका कठोर आँखाहरु,
र भेटिन सक्छन् ।
अस्थित्वको युद्धमा प्रयोग भएका
आधुनिक बन्दुकका नालहरु
मलाई यो सम्म थाहा छ कि
बाटोमा सजाय भोगिरहेका श्रपित पत्थरहरुको ढाडमाथि
उम्रिएका हुनेछन् ।
जातीय पतझडहरु
दिवगंत रुखका बुटाहरुमा
उम्रिएका हुनेछन्
लैंगिक च्याउहरु,
र मलाई कमजोर बनाउन
बाटोभरि देखिनेछ ।
कुहिरो र तुषारोको ऐतिहासिक जुलुस,
तर
सबै–सबै कुल्चेर,
सबै–सबै टेकेर,
सबै–सबै छलेर,
सबै–सबै भोगेर,
जसरि पनि एकदिन
आईपुग्नेछु हजुरको शहरमा
त्यस दिन मेरो रक्ताम्य कुर्कुच्चा र पैतलाको
पदचापहरुले लेख्नेछन् ।
कुनै दुर्लभ ईतिहास
जहाँ यो ब्रम्हान्डलाई शासन गरिरहेको हुनेछ
एउटा आदिवासी मान्छे ।