दिन प्रतिदिन घट्दै सक्रिय संक्रमित

२४भदौ,काठमाडौँ । मंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित डिस्चार्ज भएका छन् । एकै दिन २ हजार २ सय ८७ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कुल संक्रमितमध्ये ६८ दशमलव ४७ प्रतिशत डिस्चार्ज भएका छन् । ३२ हजार ९ सय ६४ संक्रमित निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो साता सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । मंगलबारसम्म देशभर १४ हजार ८ सय ६८ सक्रिय संक्रमित उपचाररत छन् । गत बिहीबार १८ हजार ४ सय १३, शुक्रबार १८ हजार ४ सय ४, शनिबार १७ हजार ८ सय ७० सक्रिय संक्रमित उपचाररत थिए ।

यस्तै, गत आइतबार १७ हजार २७, सोमबार १६ हजार २ सय ५९ जना सक्रिय संक्रमित आइसोलेसनमा उपचाररत थिए । डिस्चार्ज हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या घट्दै गएको हो । देशभर मंगलबार थप ९ सय २ जनामा कोरोना संक्रमण देखिएको छ । योसहित संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८ जना पुगेको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस