प्रेस युनियन लुम्बिनी प्रदेशको भेला सम्पन्न

२३ भदौ, प्युठान । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशकाे प्रदेश स्तरीय दुई दिने भेला प्युठानकाे स्वर्गद्वारीमा सम्पन्न भएकाे छ ।शुक्रबार देखि सुरु भएकाे भेलाकाे आज समापन गरिएकाे छ ।

भेलाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकार मिडियासँग सहकार्य र हातेमालो गरेर अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन् ।

मुख्यमन्त्री चौधरीले पत्रकारहरुको क्षमता विकास र मिडिया प्रवर्द्धनका लागि प्रदेश सरकारले पर्याप्त बजेट छुट्ट्याएको बताए । सोसल मिडियाले मूलधारका मिडिया र पत्रकारलाई चुनौती थपिएको भन्दै उनले जिम्मेवार र मर्यादित पत्रकारितामा जोड दिनुपर्ने बताए ।

मिडियाले स्थानीय उत्पादन प्रवर्द्धनमा भूमिका खेल्नुपर्ने बताउँदै मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले स्थानीय उत्पादनहरुको ब्राण्डिङ गरिरहेको उल्लेख गरे ।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले व्यवसायिक र मर्यादित पत्रकारिता गर्नुपर्नेमा जोड दिंदै पेशागत मर्यादा कायम राख्न आग्रह गरेका छन् । लम्सालले पत्रकारहरुको पेशागत दक्षता र व्यवसायिक सुरक्षाका लागि नेपाल प्रेस युनियन गम्भीररहेको बताए ।

कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री नीमा गिरीले विश्वसनीय पत्रकारिता कमजोर बन्दै गइरहेको भन्दै पत्रकारितामा स्वतन्त्रताका नाममा स्वच्छन्दता हाबी भएको बताए ।

शुक्रबार सुरु भएको दुई दिने प्रदेश स्तरीय भेलाको उद्घाटन नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापती अमरसिंह पुनले उद्घाटन गरेका थिए ।

प्रदेश अध्यक्ष सुदीप गौतमको अध्यक्षतामा भएको भेला उपाध्यक्ष पहलमान घर्तीले स्वागत मन्तव्य तथा महासचिव नवीन गिरीले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : २०८० भाद्र २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस