कुनै भिरै–भिरको बाटो भएर
नपुग्दै क्रान्तीको अक्टोबरसम्म
कुनै बगरै–बगरको बाटो भएर
नपुग्दै कम्युनको पेरिससम्म
एउटा बेठेगान चिठ्ठी
मेरो हात सम्म आईपुगेको छ
माथी लेखिएको छ ।
मृत्यु पूर्वको अन्तीम मिती
अनि छेउमा लेखिएको छ
मृत्युको गुप्त भूगोलको नाम
पहिलो अनुच्छेदमा सम्बोधन गरिएको छ
भग्नावशेष जिन्दगीहरुलाई
र मुनि लेखिएको छ ।
एउटा बुढो रुखले बाटोमा बसेर
अज्ञात मान्छेहरुलाई
सोधिरहने अफ्ठ्यारो प्रश्न
अलिकति लेखिएको छ
वेवारिशे डायरीको अध्यारो आत्मकथा
र नछुटाई लेखिएको छ ।
शीतले घामलाई गरेको आव्हानको अक्षरहरु
बा को सम्झनामा
घरको निदालले गाईरहने अपेरा म्युजिकको
एक टुक्रा अशं यहि उल्लेख छ
र यहि छ ।
आमाले कहिल्यै नपोखेका
धमिलो सपनाका अध्यायहरु
अनि, सुसज्जीत लेखिएको छ
भित्तामा छोरोले कोरेका
आजादीको किरिङ–मिरिङ चित्रहरुबारे पनि
चिठि भित्रै छ।
कफनबाट उठेर हिडेको मृत लाशले
चिहान पुग्नु पूर्व गरेको माटोको विज्ञापन
चिठि भित्रै छ ।
एका–एक शालिकहरु हिडेर
ईतिहासको अन्तरिक्षसम्म जादै गरेको समाचार
र चिठि भित्रै छ ।
बलात्कृत सभ्यताको विरुद्द लेखिएका
भ्याक्सीन नाराहरु
अझै लेखिएको छ ।
पखेट्टामा गोली लागेक चराहरुले गुनगुनाउने
दाहासंस्कारको अन्तिम मन्त्र
हुनसक्छ ।
त्यो चिठ्ठी कुनै बा–आमाको हातमा पुग्नुपर्ने थियो
या हुनसक्छ।
कुनै प्रियसीको हातमा पुग्नुपर्ने थियो
या भनौँ
आफ्ना सन्तानहरुसम्म पुग्नुपर्ने थियौ
खै !
कहाँ–कहाँ पुग्नुपर्ने
चिठ्ठी मेरो हात सम्म आईपुगेको छ
चिठ्ठीको अन्त्यमा एउटा रातो हस्ताक्षर छ
महोदय, तपाईनै भन्नुस अब
यो चिठी कसको हो ?