२४असोज, रोल्पा । रोल्पा नगरपालिका वडा नम्बर ५ जेदबाङको बाजबाङमा रामावडार झोलुँगे पुल उदघाटन गरिएको छ । रोल्पा नगरपालिकाका नगर प्रमुख पूर्ण केसीले उक्त पुलको शुक्रबार एक कार्यक्रमका बीच उदघाटन गरेका हुन् ।

निकै कठिन परिस्थितिमा रहेका स्थानीयहरु, विद्यार्थीहरुलाई झोलुँगे पुल निर्माण भएपछि विद्यालय पढन तथा अन्य कामकाजका लागि वारपार गर्न सहज हुने भएको छ । अत्याधिक वर्षातसँगै बाजबाङ खोला तर्न निकै कठिनाई हुने गरेपछि स्थानीयहरु खोलापारी काम काजका लागि जान पनि करिब १ घण्टाको बाटो घुमेर जाने गरेका थिए । तर पुल निर्माण भएपछि खोला तरेर वारपार भएको भन्दै स्थानीयहरु हर्षित भएका छन् । खोलापारी रहेको विद्यालयमा अध्ययन गर्न जाने बालबालिकालाई राहत भएको स्थानीयले बताएका छन् ।

१०३.५० मिटर लम्बाई रहेको उक्त पुल ४४ लाख १३ हजार ७ सय ३० रुपैयाँ ६९ पैसा लागत लागेको छ भने यसै अन्र्तगत जनश्रमदान ८८ हजार २०० रुपैँया लागेको समितिले जानकारी दिएको छ ।

रोल्पा नगरपालिकाको आर्थिक सहयोग, विकास सरोकार समाज डिकोस रोल्पाको प्राविधिक तथा सामाजिक सहयोगमा उक्त झोलुंगे पुल निर्माण हो।

निर्माण उपभोक्ता समितिका अध्यक्ष यज्ञबहादुर महराको अध्यक्षतामा भएको उदघाटनमा नगर प्रमुख पूर्ण केसी, प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, ५ नम्बर वडा अध्यक्ष तोपबहादुर नेपाली, योजना अधिकृत सुदिप डाँगी, सब ईन्जिनियर गोबिन्द खत्री, डिकोसका कुमबहादुर पुन, सेवक नेपाल नेपालगन्जका ईन्द्रबहादुर डाँगी, डिकोसका तिलक केसी, वडा सचिव भिमबहादुर वली, वडाका सदस्य तथा अन्य सरोकारवाला र स्थानीयको सहभागितामा उदघाटन भएको छ । कार्यक्रमको सञ्चालन डिकोसका कमानसींह बाँठामगरले गरेका थिए ।