२४असोज, दाङ । पुँजी बजारप्रति लुम्बिनीका लगानीकर्ताको सक्रियता बढ्दै गएको छ । दशैं सुरु भएकै बेला यहाँका लगानीकर्ताले भेलाको आयोजना समेत गरे ।

दाङको घोराहीमा आयोजित भेलाले लगानीकर्ता युवराज पोखरेलको अध्यक्षतामा लुम्बिनी पुँजीबजार लगानीकर्ता संघ गठन गरेको छ ।

चार्टर्ड एकाउन्टेन्ट (सिए) अध्ययन गरेका पोखरेलको अध्यक्षतामा ११ सदस्यीय लगानीकर्ता संघ गठन गरिएको हो । रोल्पा नगरपालिका–१ मेबाङका पोखरेल युवा लगानीकर्ता समेत हुन् ।

पुँजी बजारको विकास, लगानीकर्ताहरुको हकहित र समस्या समाधानका लागि संघको गठन गरिएको पोखरेलले बताए । ‘लुम्बिनी प्रदेशबाट पनि पुँजीबजारमा लगानीकर्ता बढ्दै गएका छन् । तिनै लगानीकर्तालाई संगठिट गर्ने र पुँजी बजारको विकास गर्दै लगानीकर्ताको हकहितमा आवाज उठाउन संघ गठन गरेका हौं ।’, पोखरेलले भने ।

लुम्बिनी प्रदेशका सबै जिल्लाका लगानीकर्ता समावेश हुनेगरी संघको गठन गरिएको जनाईएको छ ।

लगानीकर्ता संघको उपाध्यक्षमा इश्वरी घिमिरे, सचिवमा सरु खनाल, सहसचिवमा शालिकराम कालाथोकी, कोषाध्यक्षमा बेदु अधिकारी रहेका छन् । सदस्यहरुमा खगेशवर कालाथोकी, पवन अधिकारी सुशिल पोखरेल, संगिता अधिकारी, तेज कुवर र मानबहादुर महरा रहेका छन् । लुम्बिनी प्रदेशमा लगानीकर्ता संघ गठन गरिएको पहिलो हो । लुम्बिनी प्रदेशमा संघको गठन भएपनि राष्ट्रिय स्तरको महत्व वोक्ने जनाईएको छ ।

लगानीकर्ताको सचेतना अभिवृद्धि, हकहित र अनुभव आदानप्रदान गर्न संघले भूमिका खेल्ने जनाएको छ । शेयर बजारका अनुभवीबाट लगानीकर्तालाई तालिम समते दिइनेछ ।