नेपाली जनताले संघीय गणतान्त्रिक शिक्षा प्रणालीको खाकाबाट जुन अपेक्षा र आशा गरेका थिए। त्यो आशाको प्रतीक्षामा बसेका नागरिकलाई संघीयताले उपेक्षा र निराशाबाहेक के दियो? संघीयता र धर्मनिरपेक्षता किताबमा पढ्न पाउनु तथा राष्ट्रपति र प्रधानमन्त्रीको नाम थाहा पाउनुमा मात्र आजको शिक्षा प्रणाली सीमित भएको हो? कि भन्ने प्रश्न उठ्न थालेको छ।
अर्थहीन र कोरा सैद्धान्तिक ज्ञानले भरिएका शब्दले जीवन व्यवहारमा कुनै स्वाद दिन नसक्दा ‘मान्छे पढेर पनि रित्तो हुन सक्छ’ भन्ने हेक्का नराख्ने यो कस्तो संघीयता होरु यसको अर्थ न नेपाली निम्नवर्गीय चेतनाले पाउन सकेको छ, न मध्यमवर्गले बुझेर नै सन्तुष्टि पाएको छ।
सीपमूलक शिक्षा र गरिब लक्षित ज्ञान हाम्रो अभियान हो, भनेर विश्वविद्यालयका गल्ली-गल्लीबाट निस्केका विद्यार्थीले शिक्षामा हिजो र आजबीच कुनै भिन्नता नदेखेपछि विदेश जानुलाई विकल्प ठान्न थालेका छन्। विदेशबाट फर्किएको युवाको लवाइ–खवाइमा आएको परिवर्तन र उसले बाँड्ने परदेशी जीवनशैलीले देशमै पढेलेखेको युवालाई समेत देशमा बस्न प्रेरित गरिरहेको छैन। यता निराशा बाँडिने र उता आशा बाँडिने बिडम्बनाको खाडलमा नेपालका बालबालिकाले के पढ्ने र के बन्ने सपना देख्नसमेत छोडिसकेको अनुभूति हुन्छ।
राजनीतिक अस्थिरताबीच हुने भ्रष्टाचार, नातावाद र कृपावादको भुमरीमा परेर बौद्धिक जमातले देशमा बस्ने सपना नदेख्दा एउटा पुस्ताको जाँगर नै सेलाउँदै गएको छ। त्यसै पनि युवाहरू निराश देखिन्छन्। झन् मुस्किलले ऋणधन गरेर पढी प्राप्त गरेको प्रमाणपत्रले बाटो नदेखाउँदा देशको सुन्दरता र इमानदारीलाई बिर्सेर परदेशको नागरिक बन्न रुचाइरहेका छन्।
आज नेपालको सामुदायिक शिक्षा प्रणाली परदेशी उत्पादन गर्ने एउटा कारखाना मात्र बनेको छ। तर यसको अन्तर्वस्तु र कारण खोजेर जनशक्तिलाई देशमै अटाउने, उद्यमशील बनाउने र परदेशी युवालाई नेपालमै आकर्षित गर्ने वातावरण विश्वविद्यालयले निर्माण गर्न सकिरहेको छैन। प्रत्येक वर्ष विश्वविद्यालयका दीक्षान्त समारोहबाट दीक्षित विद्यार्थी केही समयपछि अमेरिका उड्ने वा युरोपेली राष्ट्र प्रवेश गर्ने सपना बोकेर खल्तीमा पासपोर्ट डुलाइरहेको देखिन्छ।
नेपालको माटो अनुत्पादक र नेपालमा काम गर्नु असजिलो भन्ने भाष्यलाई परिवर्तन गरी स्वरोजगारमूलक र उत्पादनशील बनाउन नेपालको शिक्षा प्रणाली लाग्न नसक्नु दलहरूको अकर्मण्यता हो भन्ने बहस काठमाडौंका सडकदेखि बौद्धिक वृत्तसम्म धेरैपटक भए। तर संघीय गणतन्त्रले त्यसलाई सुन्न चाहेन। देश बनेको छैन, तर नबनेको देशमा अबको युवा बस्दैन भन्ने यथार्थ बुझ्न किन सकिएनरु यही प्रश्नले प्रगतिशील युवालाई पटक–पटक गिजोलिरहेको छ।
‘पहिला देश बनाउने, अनि घर बनाउने’ भन्ने कम्युनिस्ट सिद्धान्त झण्डै दुईतिहाइ मत पाएको कम्युनिस्ट नेतृत्वले किन लागू गर्न सकेनरु दुःख, पीडा र हैरानीबीच पढेका युवाहरू देश छोडेर जान्छन्। देश उस्तै रहे पनि उनीहरूको व्यक्तिगत जीवनमा आर्थिक उन्नति हुन्छ। उच्च शिक्षा पढ्दै गरेको युवाले त्यो देख्छ र प्रश्न गर्छ। ‘पढेर पनि पैसा कमाउने हो। आखिर नपढेर पनि पैसा कमाउन सकिन्छ भने किन पढ्ने? किन दुःख गर्ने?’
दुःख गरेर पढ्नुको पछाडि पनि आर्थिक उन्नति नै प्रमुख उद्देश्य हो भने कहिल्यै नसकिने सिद्धान्तको भारी कोही बोक्न चाहँदैन। यही अवस्थामा संघीय शिक्षा नीति निल्नु न ओकल्नुजस्तो भएको छ। जीवनको सार आर्थिक उन्नति र प्रगति देख्न बाध्य युवालाई रोजगारीको व्यवस्था सहितको शिक्षा दिन नसक्नु चरम उत्पीडनको चक्रव्यूहमा फसेको हाम्रो विद्यालय शिक्षाको अर्को समस्या हो। यही नै तमाम युवामा निराशा र कुण्ठाको कारण बनेको छ।
प्रत्येक वर्ष शिक्षामा नयाँ-नयाँ नारा आउँछन्। तर विद्यालय शिक्षामा न आकर्षण छ, न यसले उत्पादन गरेका जनशक्तिको पर्याप्त खपत नै छ। कोरोना महामारीपछि कक्षा १० र १२ को नतिजामा सुधार देखियो। पास प्रतिशत बढ्यो, वैदेशिक शिक्षाका ढोका खुले। तर नेपालीपनमा नयाँ आयाम थपिन सकेन।
पाठ्यक्रमको भार धेरै छ। त्यसको भारले थिचिएका विद्यार्थीलाई उठाउन विद्यालयमा गरिने हरेक किसिमका शैक्षणिक विधिमा सुधार होला भन्ने अपेक्षा गरिन्छ। तर वर्षको अन्त्यमा पास नीतिले विद्यार्थीलाई सजिलै तह पार गराएर पठाइदिन्छ। विद्यार्थी न पर्याप्त ज्ञान लिएर न सीप लिएर अघि बढ्छस बरु सामाजिक सञ्जालले दिने सूचनाको पछाडि दौडिँदै देश छोड्ने बाटो रोज्छ।
कृषि तथा खेतीपातीमा लागेर प्रगति गर्ने वातावरण निर्माण गर्ने प्रभावकारी सरकारी नीति देखिँदैन। बरु सरकारले प्रत्येक वर्ष नयाँ–नयाँ देशमा रोजगारीका ढोका खोलिरहेको हुन्छ। विश्वविद्यालयमा रहेको पाठ्यक्रमलाई गहिराइपूर्वक अध्ययन गर्ने हो भने सैद्धान्तिक रूपमा राम्रै ज्ञान भएका जनशक्ति उत्पादन गर्न सकिन्छ। त्यही जनशक्तिले देश निर्माणको विकल्प पनि खोज्न सक्छ।
हातमा भएको प्रमाणपत्रले सम्मान माग्छ, साथसाथै मूल्य पनि खोज्छ। तर प्रमाणपत्रअनुसारको अवसर र बजार नपाउँदा युवा निराश र कुण्ठित हुन्छ। अन्ततः विदेशिनु उसको बाध्यता बन्छ। यस्तो स्थिति आएको छ कि युवा परदेशमा, वृद्धहरू स्वदेशमा र स्वदेशको अर्थतन्त्र परदेशी श्रमिकले पठाएको पैसामा निर्भर हुँदै गएको छ।
प्रविधिको प्रयोगबाट पास प्रतिशत मात्र खोज्ने प्रवृत्ति विश्वविद्यालय तहमा समेत देखिन थालेको छ। स्नातक र स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गर्दा नतिजाको प्रतिशत बढ्यो। तर त्यसबाट उत्पादन भएको जनशक्तिमा त्यति दुःख गर्ने क्षमता र व्यावहारिक ज्ञान किन देखिएनरु किन अधिकांशको आशा अमेरिका, अस्ट्रेलिया वा युरोपतर्फ केन्द्रित छरु यसको त्रुटि र कारणबारे पर्याप्त अनुसन्धान किन हुन सकेनरु
शहर–बजार भरिने र गाउँघर रित्तिने अवस्थाको पहिलो दोष राजनीतिक नेतृत्वको हो। जसले देशको नीति बनाउँछ, उसले आफ्ना युवाको भविष्य निर्माण गर्ने शिक्षा नीति ल्याउनुपर्छ। हिमाल, पहाड र तराईको हावापानीअनुसार गर्न सकिने कृषि प्रणाली, उत्पादन, भण्डारण र बजारीकरणको व्यवस्था सरकारले गर्न नसक्नु अकर्मण्यताको परिणाम हो।
अर्कोतर्फ, कुनै विकल्प नभएका ठगहरू राजनीतिमा आउनु, उनीहरूको दोहोरो चरित्र र भाषणमा गाउँका पढेलेखेका युवासमेत लोभिनु तथा जनतालाई डर, धम्की र प्रलोभन देखाएर भोट हाल्न बाध्य बनाउने राजनीतिक दुष्कर्मको खेल चलिरहनु पनि शिक्षा र समाजको वर्तमान अवस्थासँग जोडिएको विषय हो। बहुसंख्यकमाथि अल्पसंख्यकको शासनजस्तो अवस्था रहँदा गरिखाने शिक्षा नीति बन्न सकेन। बरु गाउँमा नयाँ ठग र सामन्तहरू जन्मिँदै गए।
युवालाई विदेश पठाएर आफ्ना चाकडीवाललाई गाउँमा राज गर्न पठाउने प्रवृत्तिका दलहरूले धेरै चुनाव जिते। तर बलियो आधार निर्माण गर्न नसक्दा आज नेपाली राजनीतिमा जुन दृश्य देखिएको छ, त्यसले नेपाली जनताको सदियौँदेखिको आशा र धैर्य नरहन सक्ने अवस्था सिर्जना गरेको छ।
संघीय शासन प्रणालीप्रति धेरै आशा थियो। तर आज आउँदा प्राकृतिक विपत्ति, बाढी, पहिरो तथा मौसमी चक्रमा आएको परिवर्तनले सरकारलाई समेत अलमलमा पारेको देखिन्छ। राजनीतिक र प्रशासनिक चुनौतीका बीच शिक्षा क्षेत्र झन् गम्भीर समस्यामा परेको छ।
शिक्षा क्षेत्र बिस्तारै ओरालो लागिरहेका बेला पेशागत हकहितका लागि लड्दालड्दै निराश भएर घर फर्किने शिक्षकका समस्या सम्बोधन नगरी ल्याइएको साप्ताहिक दुईदिने बिदाको व्यवस्थाले सरकार थप आलोचनामा परेको छ। चुनाव जित्नु र सरकारमा गएर काम गर्नु फरक कुरा हो भन्ने हेक्का राख्नुपर्छ। राम्रो र सुविधाजनक ठाउँमा पढेलेखेका विद्वानहरूको नेतृत्व रहेको भनिएको सरकारले शिक्षा नीतिमा सुधार गर्न जति ढिला गर्छ, त्यति नै युवामा निराशा बढ्दै जान्छ।
किनकि पढेको युवाले काम खोज्छ। काम पाउँदा उसले आफूले प्राप्त गरेको प्रमाणपत्रको सम्मान खोज्छ। सम्मानित जीवन र योग्यताअनुसारको काम उपलब्ध गराउनु सरकारको पहिलो कर्तव्य हो।
विदेशका विकसित मुलुकमा प्रविधि र बौद्धिक श्रमले ठूलो फड्को मारेको छ। त्यहाँको अभ्यासलाई नेपालमा जस्ताको तस्तै लागू गर्न खोज्नु कति व्यावहारिक छ भन्ने प्रश्न पनि उठ्छ। नेपालजस्तो देशमा अझै पनि शारीरिक श्रमको ठूलो आवश्यकता छ। यस्तो अवस्थामा विद्यालयमा दुई दिन बिदा दिएर मात्र विद्यार्थीको सिकाइ र व्यवहारमा सुधार आउँदैन। विद्यार्थी न घरमा अभिभावकलाई पर्याप्त सहयोग गर्ने अवस्थामा हुन्छ, न विद्यालयमा नियमित उपस्थित भएर सिक्ने अवसर पाउँछ। यसले कतै अल्छी र कामचोर पुस्ता उत्पादन गर्ने जोखिम त बढाइरहेको छैनरु
अब शिक्षा प्रणालीलाई नाराले होइन, परिणामले मूल्यांकन गर्ने समय आएको छ। शिक्षाले प्रमाणपत्र मात्र होइन, ज्ञान, सीप, श्रमप्रतिको सम्मान, उद्यमशीलता र देशमै भविष्य देख्ने आत्मविश्वास दिन सक्नुपर्छ। विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षा रोजगारी, उत्पादन र आत्मनिर्भरतासँग जोडिनुपर्छ।
युवालाई विदेश जानबाट रोक्ने भाषण होइन, विदेश जानुपर्ने बाध्यता हटाउने शिक्षा र रोजगारी नीति आवश्यक छ। प्रमाणपत्र बोकेको युवा देशमै अवसर देख्न सक्ने अवस्था सिर्जना गर्न सकिएन भने संघीय गणतन्त्रको शिक्षा प्रणालीमाथि उठेको निराशाको प्रश्न अझ गम्भीर बन्दै जानेछ।
अन्ततः देशको भविष्य कक्षाकोठामै निर्माण हुन्छ। कक्षाकोठाबाट निस्किएको विद्यार्थीले आफ्नो भविष्य नेपालमै देख्न सक्ने शिक्षा दिन सकिएन भने विद्यालयका भवन, विश्वविद्यालयका दीक्षान्त समारोह र बढ्दो पास प्रतिशतले मात्र शिक्षाको सफलता प्रमाणित गर्न सक्दैनन्। अब प्रश्न एउटै छ। हामीले कस्तो शिक्षा दिइरहेका छौँ र त्यस शिक्षाले कस्तो देश निर्माण गरिरहेको छरु


