गाउँमा छुट्टै चहलपहल
गोजीमा डलर
अनि तलैतलाको महल
र, आफूलाई अरूको अगाडि
मुखिया, काजी, सर्वोच्च ठान्नेको लागि
यो दसैँ आयो रे !
हामीजस्ता निमुखा
साँझबिहान छाक टार्न
मुस्किल मान्नेका लागि त
दसैँ : के दसैँ ?
न खसी ढाल्ने औकात छ
न त सुनको रानीहार लगाउने क्षमता
न त पल्लाघरे कान्छीको परिवारसित
दसैँको मौका छोपी सिक्किम घुम्ने औकात
हामीजस्तो
सागसिस्नो, रुखोभुखो खाएर
मासुको तिर्सना मेट्ने
घाँटीमा पित्तलको सानो लर्को लाएर
सुनको तिर्सना मेट्ने
अनि,
बिहान जुरुक्क उठेर
साँझको गास जुटाउन भनी
त्यो राम्चे बजारमा भारी बोक्दै
सिक्किमको तिर्सना मेट्नेका लागि
दसैँ : के दसैँ ?
स्रोतसाधनले भरिपूर्ण देश हाम्रो
सबै छ-नभा’को केही होइन
तर, विडम्बना !
स्रोतसाधनको उपयोग छैन
दक्षतानुसार काम
अनि, कामअनुसार दाम छैन
सहजै भनुम् त !
देशमा रोजगार नै छैन
यो बिचल्ली पनि
घरमा ऋणले उकुसमुकुस पारिरहन्छ
त्यही ऋण चुक्ता पार्न भनी
आफ्नो परिवार, जहानबाला,
साथीसँगी र मातृभूमि छोडेर
सात समुद्रपारिका परदेशीका लागि
दसैँ : के दसैँ ?
फर्किने आशाले
परदेशी छोराको पखाईमा रहेका
आमाबाबु,
परदेशी स्वामी सःकुशल फिर्तीको
बाटो कुरिरहेकी पत्नी
सात समुद्रपारिका दाजुभाइको
प्रतीक्षा गर्दै बसेका दिदीबहिनी,
परदेशबाट बुबाले नयाँ लुगा,
मिठो खानेकुरा ल्याइदेलान् भन्ने
आश्वासनमा बसिरहेका
अबोध ती सन्तानका लागि
दसैँ : के दसैँ ?
आजको कमाइले भोलि धान्दैन
भोलिकोले पर्सि कुर्दैन
जसोतसो
बिहान–बेलुकाको गुजारा चलाउन
यो सहरभित्र सङ्घर्ष गरिरहेका
भरिया
कमैया
दासी
अनि, स्वदेशी उद्योग, कलकारखाना
र, इँटाभत्ताको मजदुरका लागि
दसैँ : के दसैँ ?
पूर्णिमाको जुन होस्
या त औँसीको कालो रात
बिहान होस् या त दिउँसो
साँझ होस् या त राति
एक्लैले होस् या त समूहले
बादल, चट्याङ वा झरी परोस्
या त क्षितिज रङ्गाई घाम
उडेर होस् या त गुडेर
आफ्नो केही वास्ता नगरी
राष्ट्रको सेवामा समर्पितका लागि
दसैँ : के दसैँ ?
न बासका लागि
आफ्नै सानो टहरो छ
न गासको लागि थोरै अन्नपात
न त कपासको लागि
एक सर्को वस्त्र नै शरीरमा
छ त, मात्र एक मुठ्ठी सास
यसरी,
आर्थिक, सामाजिक, प्राकृतिक
बिपत्तिको सामना गरिरहेका ती
दुखी विपन्नवर्ग
अनाथ, बेसहारा, उत्पीडित
सर्वहारा, सुकुम्बासीका लागि
दसैँ : के दसैँ ?
न त प्रसन्न छ मन
न त हर्षोल्लास नै
मात्र, चाहना जमरासरि मौलाएको हुन्छ
वेदनाको छट्पटीमा मन बहुलाएको हुन्छ
न त परिवारमा शान्ति हुन्छ
न त दीनदुखीको अनुहारमा कान्ति नै
न त मनमा खुशीको आभास हुन्छ
बिपत्को घडीसँग लडिरहेका ती
लडाकुका लागि
दसैँ : के दसैँ ?
आऊ
वर्गविभेद, वर्गसङघर्ष
र, वर्गीय लडाइँको विरुद्ध हातेमालो गरौँ
हातमा हात मिलाऔँ
काँधमा काँध जोडाँ
अनि, समाजवादतर्फ अघि बढौँ
जहाँ,
धनीगरिबको अन्तर नहोस्
सानोठुलोको तुलना नहोस्
पीडितलाई राहत मिलोस्
बेसहाराले सहारा पाउन्
धनीगरिबमाझको भेदभाव अन्त्य होस्
जातिपाती छुवाछूतको सकियोस्
हो, त्यति बेला मनाउँला
वर्गीय माया साँचेर
विजयोत्सवको दिन
त्यो दसैँको दिन ।