धमलाले गरे काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

२६ मंसिर, काठमाडौँ । नेपाली काँग्रेस धादिङका निवर्तमान सभापति रमेश धमलाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।

यस अघिको प्रदेश अधिवेशनमा बागमती प्रदेशको सभापतिका दावेदार रहेका धमलाले बागमती प्रदेशबाटै केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका हुन् । उनको उम्मेदवारी शेखर कोइरालाको टिमबाट रहेको छ । जिल्ला पार्टी सभापतिको रुपमा सफल कार्यकाल सम्पन्न गरेका धमला महाधिवेशन प्रतिनिधिहरुले आफुलाई चुन्नेमा विश्वस्त समेत रहेका छन् ।
धमलाको राजनीतिक जीवन:
वि. सं. २०३७ बाट नेपाल विद्यार्थी संघको सदस्यता लिई राजनीतिमा होमिएका उनी सोही वर्ष नेविसंघ, अचने मावि धादिङ इकाई अध्यक्ष बन्न सफल भए । विद्यार्थीकालमा निकै संघर्षपुर्ण राजनीतिक गरेका उनीमाथी निकै ठुला ठुला भौतिक आक्रमण समेत भएको थियो । उनीमाथी भिरबाट गुल्ट्याउनेसम्मको निकै निन्दनीय आक्रमण समेत गरिएको थियो । पन्चायत विरुद्धको आन्दोलनमा निकै सक्रिय भएर लागेका उनी पटक पटक पक्राउ समेत परेका थिए ।
धमला केही समय शिक्षण पेशामा समेत आवद्धता भएका थिए । नेपाल शिक्षक संघ धादिङको २०४७ सालमा स्थापना हुँदै गर्दा उनी संस्थापक सदस्य बन्न सफल भएका थिए । त्यसबेला काँग्रेसको सँगठन विस्तार अहोरात्र खटिरहेका उनी शिक्षक पेशाबाट अलग भएर पुर्णकालिन कार्यकर्ताको रुपमा राजनीतिमा होमिएका थिए ।
२०५३ सालमा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि हुँदै २०५४ सालमा नेपाली कांग्रेस धादिङ, क्षेत्र नं. २, क्षेत्रीय सचिव बनेका उनी २०५५ सालमा गाविस राष्ट्रिय महासंघ सदस्य समेत बन्न सफल भएका थिए।
निडर र प्रष्टवक्ता भएकै कारण धमलाले राजनीतिक रुपमा आफुलाई अगाडि बढाउन सफल भईरहे ।
२०५७ सालमा नेपाली कांग्रेसको महासमिति सदस्य बन्न सफल उनी माओवादीको निशानामा समेत पर्ने गरेका थिए ।
कसैको त्रास र डर धम्कीको वास्ता नगरि राजनीतिमा लागि रहेका उनी २०६२ नेपाली कांग्रेस धादिङको जिल्ला सदस्य बन्न सफल भए ।
२०६२सालदेखि २०६७ सालसम्म नेपाली कांग्रेस, विदेश विभाग सदस्य-सचिवको रुपमा कार्यसम्पादन गरेका उनले आफ्नो राजनैतिक जीवनलाई अझै उचो बनाउन सफल भएका थिए ।
उनी २०७२ सालमा सम्पन्न तेहौँ महाधिवेशनबाट नेपाली कांग्रेस धादिङको जिल्ला सभापति बन्न सफल भएका थिए ।
निकै सफलता पुर्वक आफ्नो कार्यकाल सम्पन्न गरेका उनले आफ्नै कार्यकालमा काँग्रेस धादिङको पार्टी कार्यालय समेत निर्माण गर्न सफल भएका छन् ।
उनी २०७४ सालमा प्रदेशसभा सदस्यको (प्रत्यक्षतर्फ) उम्मेदवार पनि हुन् । त्यस बेला धादिङका जनताले उनलाई निकै राम्रो मत समेत दिएका थिए ।

सामाजिक आबद्धता
धमलाको राजनीति सँगै सामाजिक जीवन पनि उतिनै अर्थपुर्ण छ । २०५८ सालमा स्थापना भएको पर्यावरण संरक्षण मञ्च नेपालको उनी सँस्थापक अध्यक्ष हुन् ।
२०६० सालमा बाल भविष्य संगठन नेपालको सँस्था स्थापना गरेर उनले सयौ बालबालिका हरुलाई गुणस्तरीय शिक्षादिक्षा समेत दिन सफल भएका छन् । त्यस सँस्थाको पनि उनी अध्यक्ष रहेका छन् ।

२०६८ सालमा लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ-नेपालको अध्यक्ष रहेका उनले २०७० सालमा ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)को अध्यक्ष जिम्मेवारी समेत समालिसकेका छन् । उनी नेपालको पर्यटन क्षेत्रलाई समेत राम्रोसँग बुझेका व्यक्ति हुन् ।
यस संगै २०६३ देखि उनी ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) नेपालको सदस्यको रुपमा समेत आवद्ध छन् ।
धमलाले नीति, विधि र पद्धतिमा आधारित पार्टी बनाई मजबुत संगठनको स्पष्ट मार्गचित्र कोरी आगामी निर्वाचनमा ३ वटै तहमा पार्टीलाई विजयी बनाउने संकल्पको साथ आफ्नो उम्मेदवारी दिएको बताएका छन् ।
जवाफदेही, जिम्मेवार र गतिशील नेतृत्व नै काँग्रेसको अहिलेको आवश्यकता भएकोमा उनले जोड दिदैं सबै क्षेत्रमा संलग्न व्यक्तिहरुलाई पार्टी भित्र सँगठित गर्नु नै आफ्नो मुल उद्देश्य रहेको वताएका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस