जनवरी १ का दिन विशेष तामझामका साथ नेपाल पर्यटन वर्ष शुभारम्भ गरियो । त्यसो त नेपाल भ्रमण वर्षको नाममा यस पूर्व पनि यस्ता कार्यक्रम संचालन नगरिएका होईनन । पर्यटकहरुलाई नेपाल भित्रयाउने उद्धेश्य सहित समय समयमा यस्ता भ्रमण वर्षहरु संचालन हुने गरेका छन ।

यसको अर्थ नेपालमा भ्रमण गर्न आउने वाह्य पर्यटक वा आन्तरिक रुपमा एक ठाउँवाट अर्को ठाउँको भ्रमण गर्न चाहाने स्वदेशी पर्यटकहरुलाई समेत सहज हवस भनेर यी गन्तव्य निर्धारण गरिएका हुन । ती गन्तव्य मध्येको एक हो जलजला हो । जलजला धार्मिक, सांस्कृति र पर्यापर्यटनको दृष्टिकोणले मात्रै हैन तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीले संचालन गरेको सशस्त्र युद्धका कारण पनि विशेष महत्व वोकेका कारण युद्ध पर्यटनको समेत संभावना वोकेको ठाउँ हो । जलजला क्षेत्र साविक जेल्वाङ,मिरुल, थवाङ र धवाङ गाविसको सिमानामा पर्ने भए पनि धार्मिक पर्यटकीय क्षेत्र जलजलालाई थवाङको सन्नीकट हेर्ने गरिन्छ । जलजलाको पुरानो नाम गामा हो । मगर भाषामा गामाको अर्थ अग्लो लेकको वुकी पाटन भन्ने वुझिन्छ । आजभोली स्थानीयहरुले जलजलालाई गोङ भन्दछन । गोङ र गामा मगर खाम भाषाका पर्यायवाची शव्द हुन ।

३१७२ मिटर उचाईमा रहेको घाँसे मैदानी, दलदले भूमि रहेकाले यसलाई जलजला भनिएको हो । दलदले क्षेत्रमा पानी जम्ने र जमिन हल्लिने भएकाले दलदलेवाट जलजला भएको भनिन्छ । चरण क्षेत्रको रुपमा रहेको जलजलालाई पशुपालनका लागी राम्रो संभावना वोकेको क्षेत्रको रुपमा लिने गरिन्छ । सो क्षेत्रको वन्यजन्तु, गैरकाष्ट वनपैदावरको संरक्षण तथा भू संरक्षणलाई समेत मध्यनजर गर्दै २०५५ सालदेखी ततकालिन विद्रोही माओवादीको पहल र स्थानीय समुदायको सहभागितामा चरिचरण वन्द गरिदै आएको छ ।

सिस्ने, पुथा,धवलागिरी, नीलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमालका हिम चुचुराको मनोरम दृष्य एकैपटक अवलोकन गर्न सकिने सो क्षेत्रलाई प्रकृतिको वरदानको रुपमा लिने गरिन्छ । थार,घोरल, मृग, वदेल,भालु,चितुवा,बाघ,कस्तुरी,रातो पण्डा, डाँफे,मुनाल,कालिज लगायतका वन्यजन्तु पाईने सो क्षेत्रमा पाँच औले,विषमा, अतिस, कुठ,सतुवा, निरमसी, पाषणवेद,सुगन्धवाल, चिराईतो लगायतका जडीवुटी समेत पाईन्छ । समुन्द्री सतहवाट ३२६६ मिटर उचाईमा अवस्थीत जलजलाको चुचुरोको रुपमा रहेको धरमपानी भने ३६०० मिटरको उचाईमा रहेको छ । सदरमुकाम लिवाङवाट समेत देखिने धरमपानीको चुचुरालाई नै धेरैले जलजला भनेको सुनिन्छ । यहाँ माओवादी जनयुद्धका शहिदहरुको संझनामा ५ कुने शहिद स्मृती स्तम्भ समेत निर्माण गरिएको छ । यहाँवाट आकर्षक सूर्योदय अवलोकन गर्न सकिन्छ । राष्ट्रकै सम्पदाको रुपमा रहेको जलजला क्षेत्र चैत्र देखी भाद्र सम्म रंगी विरंगी फुलले प्राकृतिक फुलवारी झै देखिन्छ । दर्जनौ प्रजातीका गुराँस,गन्धव,हाङव,रथविरथ,पातव,विन्जेरीव,धस्किनि जिलाव लगायतका फुलहरु चैत्र देखी भाद्र सम्म फुलिरहन्छ भने हिउदमा पर्ने सेताम्य हिमपातले जलजलाको आकृति नै परिवर्तन हुने गर्दछ ।

वैशाख पूर्णिमा, जेष्ठ पूर्णिमा र जनै पूर्णिमा गरि वर्षमा तीन पटक पुजा चल्ने गर्दछ । यहाँको पुजा हिन्दु धर्मसंग कुने सम्वन्ध नभएको वताईन्छ । वजुथान, वराहथान, लामाथान र झाँक्री थान गरि ४ वटा मन्दिरहरु रहेका छन । रोकामगर यहाँका प्रमुख पुजारी हुन । यहाँ भेडाको वलि दिईन्छ । सुरुमा वलि दिनका लागी प्रतिस्पर्धा हुने गर्दछ । बलि दिनका लागी एक व्यक्तिले २५ हजार रुपैयासम्म भेटी चलाउने गर्दछन । श्रद्धालुहरुले चढाएको बलिको टाउका विक्री र भेटीवाट आएको पैसाले थवाडमा रहेको मावि संचालन हुदै आएको छ ।

यस पर्यटकीय क्षेत्रवाट नजिकको वस्ती थबाङ हो । जहाँ पुग्न जलजलावाट करिव ३ घण्टाको पैदलयात्रा गर्नु पर्दछ । समुन्द्री सतहवाट २ हजार मिटरको उचाईमा अवस्थीत थवाङ गाउँ समथर भूभागमा अवस्थीत छ । करिव १ हजार घरधुरी रहेको साविकको थवाङमा मगर वाहुल्य गाउँ हो । काठको फ्लेक र स्लेट ढुंगाले छाना छाएका गुजुमुज्ज र वाक्ला घरमा प्राचिन कला संस्कृती झल्कने हस्तकला समेत अंकित छन । साविक थवाङ गाविसको ३ वटा वडा रहेको ठूलो गाउँलाई नै थवाङ भन्ने गरिन्छ । गाउँमा रहेका सवै वस्तीमा ढुंगा विछ्याएर गाउँलाई नै सफा सुग्घर राखिएको छ । थवाङमा केही समय पहिले स्थापना गरिएको घरवास (होमस्टे) ले जलजला घुम्न आउने पर्यटकहरुको आराम गर्ने स्थान वनेको छ ।


जलजला पुग्नका लागी चार वटा मार्गको प्रयोग गरिदै आएको छ । थवाङ सम्मको गाडी यात्रा पछि करिव ३ घण्टाको पैदल यात्रा गरि जलजला पुगिन्छ । यसैगरि सुलिचौर फुलिवन उवा हुदै थवाङको माघे खर्कवाट पनि पैदल यात्रा गरि जलजला पुग्न सकिन्छ । सुलिचौर जेल्वाङ हुदै जलजला पुग्ने अर्को पदमार्ग समेत रहेको छ । सदरमुकाम लिबाङवाट धवाङ, पेवा हुदै जलजला पुग्ने अर्को पैदल मार्ग समेत रहेको छ ।

भ्रमण वर्ष २०२० लाई लक्षित गरि सरकारले निर्धारण गरेको १ सय गन्तव्यमा जलजलालाई पनि सुचिकृत गरिएको छ । गत वैशाख ४ गते उर्जा सिचाई तथा जलश्रोत मन्त्री वर्षमान पुनले गन्तव्य जलजला सुभाराम्भ गरेका थिए । अघिल्लो वर्ष रोल्पा नगरपालिकाले समेत जलजलालाई लक्षित गरि रोल्पा गुराँस साहित्य मेलाको आयोजना गरेको थियो ।