कोरोना भाईरस (कोभिड १९) हाम्रो पुस्ताको सबभन्दा ठूलो महामारी हुने निश्चित छ । यो कहिले नियन्त्रणमा आउने ? यसबाट पृथ्वी लोकका कति मान्छे तथा अन्य प्राणी हताहती हुने ? पृथ्वीको पारस्थकीय प्रणालीमा यसको असर के हुन े? विश्वको अर्थतन्त्र के हुने ? विश्व राजनैतिक प्रणाली कस्तो हुने, स्थिर वा परिवर्तन ? चाङ माथि चाङ बनेर बसेका यी यावत समस्याको जवाफ कसैले दिन सक्ने अवस्था छैन । पूर्वानुमान, आँकलन वा अनुमानमा आएका हल्ला शिवाय सत्य तथ्यको जानकारी यो पृथ्वी लोकमा रहेका कसैसँग पनि यसको जवाफ छैन ।
हरेक पुस्ताले सानो वा ठूला कुनै न कुनै विपदको सामना गरेकै हुन्छन । पृथ्वीमा मानवको उत्पत्ती भएयता यस्ता विपत्तीको साक्षी तीनै मान्छे भए जसले त्यो युगको प्रतिनिधित्व गरे ।
कोरोना हाम्रो पुस्ताको ठूलो विपत्ती हो । हामी यस युगका प्रतिनिधि हौँ । पृथ्वी मान्छे र जीव जन्तुका लागि हो । पृथ्वीमा भएका श्रोत साधनहरुको उपयोग गरेर मान्छे बाचेको हुन्छ । जल, थल, आकाश वायु यी सबै प्रकृतीले मान्छेलाई दिएका देन हुन् । निकै मूल्यवान यी वस्तु मान्छेले किन्नु नसक्ने भएकैले निःशुल्क भएका हुन । पृथ्वीलाई कुनै प्रकारको हानी नोक्सानी नगर्ने गरि यहाँ भएका प्राकृतिक सम्पदाको दीगो उपयोगले मात्रै यहाँको पारस्थकीय प्रणाली कायम रहन्छ । विश्वमा भइरहेको औद्योगिक प्रतिस्पर्धा र वैज्ञानिक अन्वेशनका नाममा प्राकृतिक श्रोतको अमानवीय दोहनले पृथ्वीले समय—समयमा विभिन्न प्रतिकृयाहरु देखाउछ । ती प्रतिकृयाहरु मानवीय विपदका रुपमा देखा पर्दछन । पछिल्लो पटक महासंकटको रुपमा आएको कोरोना भाइरस त्यसैको निरन्तरतता हो भन्ने कुरा अब छिप्न नसक्ने विषय भएको छ ।
धान खाने मुसो चोट पाउने भ्यागुतो भने झै पृथ्वी दोहनमा नेपाल र नेपालीहरुको भूमिका निकै नगन्य छ । कारण, हामी न आणविक प्रतिस्पर्धामा छौँ । न आर्थिक प्रतिस्पर्धामा ।
हाम्रो आर्थिक प्रणाली अझै परम्परागत र निर्वाहमुखी खेती प्रणालीमा आश्रित छ । पछिल्लो पटक खुला बजार अर्थतन्त्रमा प्रवेश गरेसँगै हाम्रो जनशक्ति वैदेशिक रोजगारीमा गएको छ । जसबाट प्राप्त हुने रेमिट्यान्स देशको अर्थतन्त्रको ठूलो आधार बनेको छ। तर पनि त्यो अस्थायी श्रोत हो । अझै पनि हाम्रो देशको अर्थतन्त्र परम्परागत खेती प्रणालीले भरथेग गरेको छ । यसरी परम्परागत खेती प्रणाली अपनाएकै कारण नेपाली किसानहरुले न आधुनिक प्रविधिको प्रयोग गरेर खेती गरेका छन । न त रसायन र किटनासक औषधीको अत्यधिक प्रयोग नै, यस्तो अवस्थामा हाम्रो अर्थतन्त्र चले पनि हरेक विपदको मारमा किन हामी नै पर्ने गर्छौ । यसको एक मात्र जवाफ हो। हामीसँग विपद प्रतिरोधी क्षमता छैन । अर्थात हाम्रो श्रोत साधनले विपद रोक्ने हैसियत राख्दैन । हाम्रो खानपान र जीवन शैलीका कतिपय अभ्यासले कैयौँ विपदसँग सामना गर्ने क्षमता राख्ने बाहेक राज्यको श्रोत साधनबाट विपद रोक्ने कल्पना गर्न सकिदैन ।
हरेक विपदलाई हाम्रो आनीबानी र दिन चर्याले प्रतिरोध गर्ने बाहेक हामीसँग अन्य विकल्प नभएको सन्दर्भमा अहिले लकडाउन नै हाम्रा लागि एक मात्र उत्तम विकल्प हो । जसको एक महिना देखी प्रयोग गरिरहेका छौँ । महाविपत्तीको समयमा गरिने यस्ता विशेष सन्दर्भहरु मानव अधिकारको नियमित कोर्ष भित्र पर्ने विषय हो जस्तो लाग्दैन । अहिले नेपाल मात्र होइन। विश्वका अधिकांश देशले लकडाउन अपनाएका छन । यस्तो सन्दर्भ मानव अधिकारसँग जोडेर हेर्ने विषय पनि हो, जस्तो लाग्दैन । तथापी लकडाउनको अवधिमा पनि कैयौँ मानव अधिकार हनन् वा उलंघन र ज्यादती भने हुने गर्छन । त्यसको नियन्त्रण चाही गर्नु पर्छ । त्यो राज्यको दायित्व पनि हो ।
(लेखक न्यौपाने —नेपाल पत्रकार महासंघ, जिल्ला शाखा रोल्पाका अध्यक्ष हुन् )