रोल्पा । आधा भत्किएको घर । सुत्ने कोठाबाट आकाश देखिन्छ । ह्वाङ छानाका कारण रातको समयमा खुला आकाश देखिन्छ । आकाशबाट पानी पर्दा चुहिन्छ । ‘पानी परेको रात सुत्न सक्दैनौँ । छानो चुहिएर ओढ्ने र बिछौना निथु्रकै हुन्छ ।’ ४४ वर्षीय रणबहादुर थापा भन्छन्, ‘पानीको परेको रात घरभित्र चुहिएको पानी थालीले सोहोरेर फाल्नमै रात बित्छ ।’ ‘पानी परेको रात त कहिले आधा घण्टापनि सुत्न पाउँदैनौं ।’, भत्किएको घरको बासले सताईएका रणबहादुरका दाई कर्णबहादुरले थपे ।
रोल्पा नगरपालिका–२ रेउघा हुम्जाका दुई थापा परिवार आधा भत्किएको घरमा बस्न थालेको वर्ष दिन बितिसकेको छ । गतसालको वर्षामा उनीहरुको घर भत्किएको थियो । गरिब परिवारका उनीहरुले एक वर्षसम्म नयाँ घर बनाउन सकेका छैनन् । थापा परिवार बजारतिर दाउरा बेचेर गुजारा गर्छन् । सुस्त श्रवण समेत भएका उनीहरु कहिले कसो खोलामा माछा मारेर बेच्ने र त्यसबाट आएको पैसाले चामल किनेर छाक टार्छन । दुई छाकको जोहो गर्न उनीहरुलाई मुश्किल छ । थोरै बारीको उब्जनीले ३ महिना पनि खान पुग्दैन ।
कोभिड–१९ को महामारीका कारण मुलुक लकडाउनमा गएसँगै दाउरा बेचेर गुजारा गर्ने उनीहरुको जिन्दगी कष्टकर बन्दै गएको छ । ‘बजारमा दाउरा बेच्न जान पाईएको छैन ।’, रणबहादुर भन्छन्, ‘वडा कार्यालयले दिएको राहत पनि सकिन थालिसक्यो । अब के खाने भन्ने चिन्ता छ ।’ रोल्पा नगरपालिकाले वडाकार्यालयबाट केही हप्ताअघि अति विपन्न र मजदुरलाई राहत वितरण गरेको थियो । सरदर एकजना बराबर पाँच किलो चामल, एक किलो नुन, तेल र दाल वितरण गरेको थियो । थापा परिवारलाई बजारका व्यवसायीले एक बोरा चामल सहित नुनतेल दिएपछि केही दिन सहज भएको हो ।
गरिबीकै कारण उनीहरुले नयाँ घर बनाउन सकेका छैनन् । नगरपालिकाले घर छाउनलाई टिन दिएको छ । तर, घर बनाउने पैसा छैन । ‘नगरपालिकाले दिएको टिनको पाता केराको झ्याङमा राखेका छौं ।’ कर्णबहादुर भन्छन्, ‘खान लाउन नै पुग्दैन, के पैसाले घर बनाएर टिनले छाउने ?’ तैपनि पानी चुहिएर घरभित्र बसिसक्नु नभएपछि घर बनाउने सुर कसेका छन् । तर, पैसा नभएपछि कसरी बनाउनु । वन समूहले एउटा रुख निशुल्क काट्न दिएको छ । अरु चाहिने आवश्यक काठ किन्न आर्थिक अभावले सम्भव छैन । त्यसैले घर बनाउने सपना कचल्टिएको छ ।
रोगले थलिएर रणबहादुरकी पत्नी केही महिना अघि मृत्यु भयो । उनको उपचार समेत गर्न सकेनन् । सानो छोरो छ । कर्णबहादुरको दुई सन्तानको पनि मृत्यु भयो, दुई छोरी छन् । जेठी छोरीको विवाह भइसकेको छ । सानी छोरीपनि दिदीको घरमै बस्छिन् । थापा परिवारको दैनिकी कठिन रहेको छिमेकी एवं स्वास्थ्यकर्मी समेत रहेका चन्द्र घर्तीमगर बताउँछन् ।, ‘उनीहरुको भत्किएको घर नजिकै सानो घर बनाउन सहयोगी मनहरुको खाँचो छ ।’
पुसमाघको जाडोमा ओढ्ने सिरक समेत नभएको थाहा पाएपछि सत्प्रयास समूहले तीन थान सिरक थापा परिवारलाई दिएको थियो । सिरकले पुसमाघको चिसोमा त सघायो, तर अब वर्षा लागि सक्दा चुहिने छानो छेक्ने केही छैन् । लकडाउनका कारण दाउरा बेच्न नपाउँदा खाना जुटाउन मुश्किल परेको छ । आर्थिक अभावकै कारण जग हालिएको घर पनि भत्किएको छ ।