माओवादी सशस्त्र युद्धको ईपिसेन्टर भए पनि रोल्पामा वैधानिक आन्दोलन भने सुस्त थियो । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कांग्रेस प्रजातान्त्रिक र राष्ट्रिय जनमोर्चाका फाट्टफुट्ट विरोध प्रदर्शन । संगठित रुपमा वैधानिक आन्दोलनको उठान हुन नसक्दा रोल्पा पछि परेको हो की भन्ने भान हुन्थ्यो । पत्रकार, अधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिले गर्ने खबरदारीले केही आशा थप्ने गर्दथे ।
यस्तै पृष्ठभूमिमा २०६२ साल फाल्गुन १४ गते रोल्पाको पहिलो क्याम्पस जलजला बहुमुखी क्याम्पस मा स्वतन्त्र विद्यार्थी यूनियनको विधिवत निर्वाचन भयो । लोकतान्त्रीक आन्दोलनलाई संस्थागत रुपमा सहयोग गर्ने वैधानिक फोरमको जरुरी रहेका कारण स्नातक तह अध्ययन गरिरहेका साथीहरुको सल्लाह बमोजिम स्ववियु गठन भएको हो । सर्वसम्मत कार्यसमिति गठन गराँै भन्ने सल्लाह भए पनि त्यो सफल हुन सकेन । उपसभापति र कोषाध्यक्षमा मतदान भयो । ११ सदस्यीय कार्यसमितिमा सभापति महेश न्यौपाने, उपसभापति राजु आचार्य, सचिव मनिराम घर्ती, सह सचिव दिनेश आचार्य, कोषाध्यक्ष धनिराम शर्मा र बाँकी सदस्यहरु निर्वाचित भएको घोषणा भयो । उपसभापतिमा राजु आचार्य र श्याम बुढा तथा कोषाध्यक्षमा अशोक श्रेष्ठ र धनिराम शर्माको प्रतिस्पर्धा भएको थियो । क्याम्पस प्रमुख मेघराज सुवेदीबाट नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिएपछि विद्यार्थीहरुको जुलुस नगरपरिक्रमा गर्दै टुडिखेल पुगेर बधाई तथा शुभकामना सभामा परिणत भएको थियो ।
जलजला क्याम्पस रोल्पाको ईतिहासमा पहिलो पटक स्थापना भएको स्ववियु गठनले तत्कालिन आन्दोलनरत राजनैतिक दल र नागरिकहरुमा आडभरोसा थप्ने काम गरेको थियो । स्ववियु गठनसँगै लगभग दैनिक जसो ¥याली तथा विरोध कार्यक्रमहरु भईरन्थे । बालकल्याण मावि रहेको स्थानमा जलजला क्याम्पस रहेकाले बिहानीको कक्षा सकेर विद्यार्थीहरुले दिनहुँ कुनै न कुनै कार्यक्रम लिएर टुडिखेल तर्फ आउने गर्दथे । त्यसलाई राजनैतिक दल र नागरिक समाजको ऐक्यबद्धता हुन्थ्यो । आन्दोलनको यो क्रमको निरन्तरता स्वरुप २०६३ साल वैशाख ८ गते मुर्दा जुलुश गर्ने निर्णय भयो । निरंकुश राजतन्त्रको मुर्दा बनाएर क्याम्पस हँुदै बजार परिक्रमा मार्फत टुडिखेल पुग्ने निर्णय भयो । उल्टो शंख बजाएर मूर्दा बजार परिक्रमा गर्नुपर्ने थियो । त्यस दिनको जुलुसको प्रकृती पनि अलि कडा थियो। शासकहरु पनि कडा रुपमा प्रस्तुत भईरहेका थिए । चूनौतीका बाबजुत कार्यक्रम गर्ने सोँच भयो । त्यस दिनको जुलुशमा सहभागी हुने विद्यार्थीहरुको संख्या अन्य दिनको भन्दा अलि कम थियो झण्डै २ दर्जन जती । सात्ताले हुदै पिपल चौतार आउदा राजनैतिक दलका केही नेता कार्यकर्ताहरु जम्मा भएका रहेछन । हाम्रो मूर्दा जुलुसलाई उनीहरुले तालि पिटेर स्वागत गरे । त्यो समूह पनि सोही जुलुसमा सहभागि भयो । बीच बजार क्षेत्रमा पुग्नै लाग्दा पत्रकार र मानव अधिकारवादीको टोलीसँग भेट भयो । मानवअधिकारकर्मी घनश्याम आचार्य, पत्रकार काशीराम डाँगी, खेम बुढा, हिमाल गैरे (माफ गर्नुहोला अन्य नाम स्मरण भएन) लगायतका साथीहरुको भेटले हामीलाई सुरक्षित भएको महसुस गरायो । त्यस दिन सरकार निकै निरंकुश हुने संकेत पाएका थियौ । प्रहरी हाम्रो जुलुसमाथि हस्तक्षेप गर्न आयो भने ठाउँको ठाउँ मूर्दा जलाउने भन्ने सल्लाह बमोजिम सलाई र मट्टीतेल तयारी अवस्थामा थियो । हाम्रो जुलुशलाई राजनैतिक दल, नागरिक समाजको साथ र समर्थन थियो भने पत्रकार र मानवअधिकारकर्मीको पनि अप्रत्यक्ष साथ भएका कारण त्यती विघ्न त्रास नभए पनि एकैछिन पछि के हुने हो लख काट्न सक्ने अवस्थामा हामी थिएनौ । जुलुश टुडिखेल भट्ट होटल अगाडी पुग्यो । त्यतीबेला सम्म प्रहरी आएका थिएनन । नजिकै रहेको जिल्ला प्रहरी कार्यालयमा सिटी बजेको सुन्न सकिन्थ्यो । हामीले हत्तपत्त मूर्दा जलायौं । लोकतन्त्र जिन्दावाद, निरंकुश राजतन्त्र मूर्दावादका नारा लगायौं । कार्यक्रमको अन्तमा मैले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै लोकतन्त्रको विकल्प नभएको बताएको थिए ।
वैशाख ८ लोकतान्त्रिक आन्दोलनको उत्सर्गको दिन थियो । राजा ज्ञानेन्द्रले घुडा टेक्ने संकेत देखिदै थियो । त्यसैकारण पनि हाम्रो आन्दोलनमा कुनै अवरोध भएन । हाम्रो कार्यक्रम सकिएपछि प्रहरीहरु हतियार सहित निस्किए । कार्यक्रम सकिएसँगै राजनैतिक दलका नेताहरुबाट थाहा भयो । स्ववियुका केही व्यक्तिहरुलाई गिरप्तार गरेर हिरासत राख्ने स्थानीय प्रशासनको योजना थियो । संयोगवश देशव्यापी आन्दोलनको सघनतासँगै स्थानीय प्रशासनले सो दिनको कार्यक्रमलाई हस्तक्षेप गर्ने आँट गरेन ।
नेपाली कांग्रेसका सभापति माधव आचार्य, नेकपा एमालेका अध्यक्ष शान्तकुमार वली, नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति कृष्णवहादुर घर्ती र राष्ट्रिय जनमोर्चा रोल्पाका अध्यक्ष राजकुमार कक्षपतिले तत्कालिन ७ राजनैतिक दलको प्रतिनिधित्व गर्नुहुन्थ्यो । ७ दलीय गठबन्धनले तयार गरेको आन्दोलनका कार्यक्रमलाई साथ र सहयोग गर्दै अगाडी बढ्ने क्रममा वैशाख ११ गते रोल्पा सदरमुकाम लिबाङमा शक्ति जनप्रदर्शन गर्ने निर्णय भयो । गाउँ—गाँउबाट विद्रोही माओवादीले जनतालाई सदरमुकाम पठाउन सहयोग गर्ने योजना सुनियो । त्यसै बमोजिम जनतालाई सदरमुकाम उतार्नका लागी जिल्ला सदरमुकाम नजिकका गाविसमा राजनैतिक दलका कार्यकर्ता खटनपटन गरियो । उक्त टोलीमा स्ववियुका प्रतिनिधिहरु प्नि समावेश गरियो । म मिझिङ, खुमेल र गजुल जाने भए । नेकपा एमालेका निमप्रसाद रोका, राष्ट्रिय जनमोर्चाका मेघनाथ विष्ट र स्ववियुबाट म, नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकका प्रतिनिधिको संलग्न टोलीले ९ र १० गते ती क्षेत्रमा व्यापक माईकिङ गर्दै वैशाख ११ गतेको जनप्रदर्शनमा सहभागी हुन आग्रह ग¥यो । वैशाख ११ गते विहान गजुल, मिझिङ, खुमेल, खुंग्री र घोडागाउँको टोली सातदोबाटो जम्मा हुने सल्लाह बमोजिम सबै तयारी गरेका थियो । राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई सुम्पने घोषणा गरेछन् । त्यतीबेला रेडियो नेपालको भर पर्नु पर्ने । रेडियो सुन्ने साथीहरुले राजाको सम्बोधनको जानकारी गराएपछि अब के गर्ने अन्यौलमा प¥यौ । राजाको घोषणाबारे राजनैतिक दलहरुको धारणा सार्वजनिक भएको थिएन । त्यसकारण त्यस अघि वैशाख ८ गते गरेको जस्तै उधारो आश्वासन र घोषणा हुन सक्छ भन्ने निश्कर्ष सहित जनतालाई जिल्ला सदरमुकाम उतार्ने कार्यक्रम स्थगित भएन । सबै गाविसबाट आएका आन्दोलनकारी साथीहरुसँग सातदोबाटोमा भेट भयो । हामी उत्साहित हँुदै सदरमुकाम तर्फ लाग्यौ । पूर्वबाट आउने हाम्रो जुलुशको नेतृत्व गर्न ७ दलिय गठबन्धनका जिल्ला स्तरीय नेताहरु मेबाङ आईपुगे । राजाको घोषणा र त्यसबाट सिर्जित वातावरणको बारे उनीहरुबाट विस्तृत जानकारी भयो । जिल्ला स्तरको ७ दलिय गठबन्धनले शक्ति प्रदर्शनलाई विजय जुलुसको रुपमा रुपान्तरण गर्ने निर्णय गरेको रहेछ । सोही बमोजि सबै क्षेत्रबाट आएका जुलुस विजय जुलुशको रुपमा रुपान्तरण भए । अविर लेपन गरियो । जनताको ठूलो उपस्थिति हुने भएकाले मञ्च व्यवस्थापनमा खटिनु भएका डीवी घर्तीमगर सहितका साथीहरुले जिल्ला सरकारी वकिल कार्यालय अगाडी मञ्च तयार गर्नुभएको रहेछ । सबै जुलुश त्यतै केन्द्रीत भए । युवाहरुले लोकतन्त्र जिन्दावाद लेखेका टिसर्ट लगाएको देख्दै खुसीको आँशु झरेको थियो । उक्त दिनको कार्यक्रममा धेरै वक्ताहरुले खुसीयाली साटासाट गरे । मैले पहिलो पटक त्यती धेरै मासमा भाषण गर्ने मौका पाएको थिए । स्ववियूको तर्फबाट खुसीयालीका शब्दहरु राखे ।
निकै ठूलो आशा थियो लोकतन्त्रमाथि । २४० वर्ष सम्म रहेको राजाको अधिकार जनताले खोसेको दिन थियो त्यो । त्यसपछि विद्रोही माओवादी शान्ति प्रकृयामा आयो । संविधान सभाको निर्वाचन भयो । गणतन्त्र घोषणा भयो । २०७२ साल असोज ३ गते संविधान जारी गरियो । संघ प्रदेश र स्थानीय तह रहने गरि राज्यको पुनरसंरचना भयो । आज लोकतन्त्र स्थापना भएको १४ वर्ष पार भईसकेको छ । यस बीचमा २ पटक संविधान सभाको निर्वाचन, १ संघ, प्रदेश र स्थानीय तहको निर्वाचन भई सबै तहमा जनप्रतिनिधि निर्वाचित भएका छन् । सिंहदरबार गाउँ—गाउँ पुगेको भनिएको छ । तर जनताको अवस्था भने जस्तो सुकै व्यवस्था आएपनि रुपान्तरण नभएको देख्दा दिग्दार लागेर आउछ । (लेखक न्यौपाने —नेपाल पत्रकार महासंघ, जिल्ला शाखा रोल्पाका अध्यक्ष हुन् )