२ जेठ,रोल्पा।कोरोना महामारी नियन्त्रणका लागि देशव्यापी लकडाउन भएयता रोल्पामा करिव दश हजार बढी स्थानीयहरु घर फर्केका छन्। आवत जावत अलि खुकुलो भयो भने यो संख्या झनै बढ्ने छ। विशेष गरी उपत्यकातिरका ईट्टाभट्टा र अन्य बाहिरी जिल्लामा मजदुरी गर्नेहरु रित्तो हात गाउँ फर्किएपछि उनीहरुलाई परिवार चलाउन सकस पर्ने देखिन्छ। जिल्लामा प्रयाप्त रोजगारीको अवसर नएपछि पछिल्लो समय स्थानीय तहहरुले कृर्षितर्फ जनतालाई अग्रसर बनाउने बताएका छन्।
त्यसो त यतिबेला गाउँगाउँमा वर्षौदेखि बाँझो रहेका जमिन हरियो बन्न थालेको छ। सबैले घरछेउका बारी खनजोत गरेर केहि न केहि उत्पादन गर्ने तयारी गरिरहेका छन्। ‘बर्षौदेखि बाँझो जमिन खनजोत हुन थालेको छ। घरमा खालि बस्नुभन्दा केहि गरौ भन्ने सोच जागेको देखिन्छ।’ रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले भने ‘अब हामीले पनि कृर्षि क्षेत्रमा प्रयाप्त लगानी लगाउदै आम नागरिकलाई स्वरोजगारतर्फ अगाडि बढ्न प्रेरित गर्छौ।’
जिल्लाको दुर्गम सुनछहरी गाउँपालिका पनि कृर्षि क्षेत्रको बिकल्प नभएको भन्दै त्यतातिर लगानी बढाउन हौसिएको छ। लकडाउनपछि गाउँ भित्रिएका स्थानीयहरुको जोस जागर देखेका गाउँपालिका अध्यक्ष आशबहादुर पुन भन्छन् ‘अबका दिनमा गाउँमा रोजगारीको पनि सृजना गर्दै कृर्षिलाई अगाडि बढाउनुको बिकल्प देखिएन। गाउँमा बर्षौदेखि बाझो रहेका खेतबारी हराभरा बन्न थालेका छन्।’ उनले भने ‘विकासका लागि योजनाको मोडेल फेरेर अगाडि बढ्नुपर्ने देखिन्छ।’
गाउँमा नियमित भेटिने वडाध्यक्षहरु पनि मतदातालाई खेतबारीमा ब्यस्त देखेपछि खुसी बनेका छन्। ‘क्वारेन्टाइनमा बसेका सबैलाई सिकाएर पठाएका छौ। धेरैले खेतिपाती सुरु पनि गर्नु भएको छ।’ त्रिबेणी गाउँपालिका वडा न। ५ का अध्यक्ष कृष्ण केसीले भने ‘करिब एकहजार तीन सय बढी स्थानीयहरु बाहिरी जिल्लाबाट गाउँपालिका आएका थिए।’ उनका अनुसार बाहिबाट आउनेले मात्रै नभएर नियमित घर बस्नेले पनि खेतबारीमा कामगर्न थालेका छन्।
विद्यालय पढाउने शिक्षकहरु पनि लामो समय फुर्सद भएपछि खेतबारीमा देखिन थालेका छन्। नेपाल मावि कोटगाउँका शिक्षक कृष्णबहादुर पुन भन्छन् ‘दश पन्ध्र बर्ष यता बाझो रहेको केहि जमिनमा अहिले कागती रोपे, बाकिमा मकै छर्ने तयारी गरिरहेको छु।’ उनको जस्तै छिमेकिका बाँझो बारी पनि हिजो आज खनिएका छन्। रोल्पालीहरु जग्गा जमिन नै नभएर मात्र मजदुरीमा गएका होइनन्। उत्पादनले वर्षदिन खान नपुग्ने भएपछि उनीहरु जमिन बाँझै राखेर बाहिरिन्छन्।
‘यहाँ अझै पनि परम्परागत खेति प्रणाली छ जसले खान पुग्दैन। रोल्पालीहरु मुख्य बाली लगाएर मजदुरी गर्न जान्छन्।’ नागरिक अगुवा खेम बुढा भन्छन् ‘अब गाउँमै नगद आम्दानी गर्ने रोजगारी र आधुनिक खेतिका लागि स्थानीय तहले ध्यान दिनु पर्छ।’ जमिनमा उत्पादन गरेको आम्दानीले खान नपुग्ने भएपछि बाँझो रहन्छ। परम्परागत कृर्षि प्रणालीका कारण उत्पादन कम हुने गरेको छ।
अबका दिनमा स्थानीय सरकारले निर्माणका काममा स्थानीय मानव श्रोतलाई अधिकतम प्रयोग गर्दै रोजगारीका अबसर सृजना गर्नु पर्छ भने मुख्य लगानी कृर्षिको क्षेत्रमा लगाउनु पर्छ। गाउँमा बेरोजगारको संख्या थपिएको देखेका स्थानीय सरकारका प्रमुखहरु पनि रोजगारीको सृजना गर्दै कृर्षिमा लगानि बाउने सोचमा गएका छन्। ( दिनेश सुवेदी—नागरिक दैनिकबाट साभार)