९जेठ, काठमाडौँ। विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण इटालीमा अहिले देखिएकोभन्दा बढीले ज्यान गुमाएको तथ्य बाहिर आएको छ ।
सुरुदेखि नै चीनपछि सबैभन्दा बढी प्रभावित बनेको इटालीले गत अप्रिलमा विश्वकै सबैभन्दा बढी मृत्युदर भएको देश बनेको थियो ।
तर त्यसको केही समयपछि नै अमेरिका र बेलायतमा इटालीमाभन्दा बढी नागरिकले ज्यान गुमाए । अमेरिकामा हालसम्म ९६ हजार ३ सयभन्दा बढी नागरिकको मृत्यु भइसकेको छ भने बेलायतमा मृत्यु हुनेको संख्या ३६ हजार नाघेको छ ।
बिहीबारमात्रै इटालीको नेशनल सोशल सेक्युरिटी एजेन्सीले इटालीमा मार्च र अप्रिलमा कोभिड–१९ बाट जति मृत्यु भएको तथ्यांक बाहिर आएको छ, त्यो भन्दा १९ हजार बढी हुनसक्ने बताएको छ ।
आर्ईएनपीएस इटालीको सबैभन्दा ठूलो सामाजिक सुरक्षा र कल्याण एजेन्सी हो । यसले सरकारी तथ्यांकमा विश्वास गर्न नसकिने बताएको छ ।
उसको अध्ययनअनुसा मार्च र अप्रिलमा इटालीमा कुल १ लाख ५६ हजार ४२९ जनाको मृत्यु भएको थियो । यो संख्या इटालीको २०१५ देखि २०१९ को बीचका प्रत्येक महिनामा भएको औसत मृत्युभन्दा ४६ हजार ९०९ बढी हो ।
तर यसमध्ये २७ हजार ९३८ जनाको मृत्युमात्रै कोरोना भाइरसका कारण मृत्यु भएको संख्यामा जोडिएको छ । यसको अर्थ १८ हजार ९७१ जनाको मृत्यु यो समयमा सामान्य मृत्युभन्दा बढी रह्यो र यिनीहरुमध्ये १८ हजार ४१२ जनाको मृत्यु इटालीको उत्तरी क्षेत्रमा भयो । जहाँ कोरोना भाइरसको अत्यधिक प्रभाव परेको थियो ।
आईएनपीएसले बढी भएको मृत्युलाई कोरोनासँग मात्रै जोड्न नसकिने तर कोभिड–१९ का विरामीका कारण स्वास्थ्य सेवा लिन नपाएको उल्लेख गरेको छ ।
शुक्रबारसम्म इटालीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३२ हजार ४८६ पुगेको छ । जसमध्ये २६ हजार ७१५ जनाको मृत्यु इटालीको उत्तरी लोम्बार्डी क्षेत्रमा मात्रै भएको छ । कोरोना भाइरसबाट यो क्षेत्र युरोपको सबैभन्दा बढी प्रभावित क्षेत्र हो । शिलापत्रबाट साभार