रोल्पा । वञ्चितिको अवस्थामा रहेका नागरिकहरु बीच धर्म, वर्ण, जात—जाती, लिंग, उत्पत्ती, भाषा र वैचारिक आस्था वा ती मध्ये सबै वा कुनै कुराका आधारमा भेदभाव नगरी राज्यले समानताको अवस्था सिर्जना गर्ने कुरासँग समावेशीकरणको सम्बन्ध रहेको हुन्छ ।
दबिएका, पछाडि परेका वा पारिएका, सुविधाबाट बञ्चित र सीमान्तकृत जातजातीलाई सामाजिक, आर्थिक र राजनैतिक प्रगतिमा सहभागि बनाउँदै राष्ट्रिय मुलधारमा लगिन्छ त्यो नै समावेशीकरणको अवधावरणा हो । यसमा शोषित, पिडित एवम् हर हिसाबले अवसरबाट वञ्चित समुदायलाई माया, प्रोत्साहन, सहभागिता र विशेष हेरचाह गर्ने कार्य हुन्छ ।
समावेशीकरण कर्णप्रीय शब्द भएपनि यसको कार्यान्वयन पक्ष भने त्यती सजिलो छैन । नेपालमा समावेशीकरणको मुद्धा गैर सरकारी क्षेत्रले लामो समय देखी मुखरित गराउँदै अभ्यासमा समेत ल्याएको मुद्धा भएपनि सरकारी संरचनामा भने अन्तरिम संविधानको व्यवस्थासँगै संस्थागत भएको मानिन्छ । संविधान सभाद्धारा लेखिएको संविधानले आर्थिक समानता, संमृद्धी र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामुलक सिद्धान्तका आधारमा समतामुलक समाजको निर्माण गर्ने संकल्प लिएको कुरा प्रस्तावनामा उल्लेख गरेको छ । संविधान अनुसार कानूनहरु पनि तर्जुमा गरिएका छन् । व्यवहारमा भने अझै पनि समावेशीकरणको अवधाराणात्मक अभ्यास भएको देखिदैन । संविधान जारी भएको २ वर्ष पछि भएको स्थानीय तहको निर्वाचनमा रोल्पा जिल्लाका मुख्य तीन राजनैतिक दलहरुले कार्यान्वयन गरेको समावेशीकरणको अवधारणालाई एक पटक हेराँै ।
स्थानीय सरकारमा प्रमुख÷ अध्यक्ष र वडाध्यक्षलाई मुख्य र कार्यकारी पद मानिन्छ । गएको स्थानीय तह निर्वाचनमा तीनै मुख्य र कार्यकारी पदमा रोल्पा जिल्लाका राजनैतिक दलहरु समावेशी चरित्रलाई कत्तीको कार्यान्वयन गरे भन्ने कुराले संसदीय राजनैतिक दलहरुको लोकतान्त्रिक र समावेशी चरित्र उद्धाङ्गो पार्छ ।
जिल्लामा एक मात्र नगरपालिका र ९ गाउँपालिका मध्ये प्रमुख÷अध्यक्ष पदमा १ जना मात्रै महिलाको उम्मेदवारी परेको थियो । रोल्पा नगरपालिकाको प्रमुखमा नेकपा एमालेले मीना शर्मालाई उम्मेदवार बनाएको थियो । शर्माले तीन दलका उम्मेदवारमा तेश्रो स्थान हासिल गर्न सफल भएकी थिईन् ।
यसैगरि जिल्लाका ७२ वडा मध्ये ७ वटा वडामा मात्रै महिलाले वडाध्यक्षमा उम्मेदवारी दिएका थिए । दलगत रुपमा नेपाली कांग्रेसले ३, नेकपा एमालेले ३ र नेकपा माओवादी केन्द्रले १ जना महिला उम्मेदवार बनाएको थियो । जसमध्ये सबै महिला निर्वाचनमा पराजित भएका थिए ।
नेपाली कांग्रेसबाट थवाङ गाउँपालिका वडा नं. ४ मा कुमारी पुनले उम्मेदवारी दिएकी थिईन । पुनले ४ मत प्राप्त गरेकी थिईन । यसैगरि रोल्पा नगरपालिका वडा नम्वर ४ बाट हिराकुमारी घलेको उम्मेदवारी परेको थियो घलेले ३ सय ३९ प्राप्त गरेकी थिईन । रोल्पा नगरपालिका वडा नं. ७ बाट रति कामीको उम्मेदवारी परेको थियो । कामीले १ सय ७६ मत प्राप्त गरेकी थिईन ।
नेकपा एमालेको तर्फबाट थवाङ गाउँपालिका वडा नं. ५ मा कमला पुनले उम्मेदवारी दिएकी थिईन । पुनले २१ मत प्राप्त गरेकी थिईन । परिवर्तन गाउँपालिका वडा नं.६ बाट उम्मेदवारी दिएकी सविता पुनले २८ मत प्राप्त गरेकी थिईन । यसैगरि रोल्पा नगरपालिका वडा नं.२ बाट उम्मेदवारी दिएकी दुर्गा देवी पुनले ९० मत प्राप्त गरेकी थिईन ।
नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा एक मात्र उम्मेदवारी दिने त्रिवेणी गाउँपालिका वडा नं.३ की तीलाकुमारी वली हुन । वलीले २ सय ५१ मत प्राप्त गरेकी थिइन ।
उक्त निर्वाचनमा रोल्पाका दशवटै स्थानीय तहमा गरि ६० हजार ४ सय ७५ महिला र ५६ हजार ७८६ पुरुष मतदाता रहेकोमा ६९.०४ प्रतिशत मत खसेको थियो । महिलाको यतिठूलो संख्या रहदा रहदै पनि दलहरुको प्राथमिकतामा पुरुष परेका थिए ।
जिल्लाका ७२ वडा मध्ये दलित समुदायबाट जिल्लाका मुख्य तीन राजनैतिक दलको तर्फबाट १० वटा वडामा वडाध्यक्षको उम्मेदवारी परेको थियो । यसरी परेको उम्मेदवारी मध्ये २ जना निर्वाचित भएका थिएन । जस बमोजिम नेपाली कांग्रेसले२, नेकपा एमालेले ३ र नेकपा माओवादी केन्द्रले ५ वटा वडामा दलित समुदायलाई वडाध्यक्षको उम्मेदववार बनाएको थियो ।
नेपाली कांग्रेसले रोल्पा नगरपालिका ७ मा रति कामी र लुंग्री गाउँपालिका ७ बाट झगलाल कामीलाई उम्मेदवार बनाएको थियो । रतीले १सय ७६ मत र झगलालले २सय०८ मत प्राप्त गरेका थिए । नेकपा एमालेले सुनछहरी २ मा गणेश विक, सुनछहरी ७ मा प्रसाद कामी र सुनिलस्मृती ४ मा अनराम कामीलाई उम्मेदवार बनाएको थियो । मत परिणाममा गणेशले ३३, प्रसादले १९ र अनरामले ६० मत प्राप्त गरेका थिए । नेकपा माओवादी केन्द्रले त्रिवेणी २ मा शेरसिं बन्दीपुरे, त्रिवेणी ७ मा गणेश परियार, रोल्पा नगरपालिका ५ मा टोपबहादुर नेपाली, गंगादेव १ मा खुसलसिं विक र गंगादेव २ मा भुपाल दमाईलाई उम्मेदवार बनाएको थियो । जसमध्ये टोपबहादुर र भुपाल विजयी भएका थिए । शेरसिंले ५सय ८१, गणेशले ७सय७७ र खुसलले १सय९८ मत प्राप्त गरेका थिए ।
निर्वाचनमा दलित महिलाबाट नेपाली कांग्रेसको मात्रै उम्मेदवारी परेको थियो । रोल्पा नगरपालिका ७ को वडाध्यक्षमा रती कामीले उम्मेदवारी दिएकी थिईन ।
स्थानीय तह निर्वाचन २०७४ मा लैंगिक र जातीय हिसाबले रोल्पामा समावेशीकरणको अवस्था सन्तोषजनक छैन । नगरप्रमुख÷अध्यक्ष पदमा ९० प्रतिशत पुरुष र १० प्रतिशत महिलाको उम्मेवारी परे पनि निर्वाचन जित्ने महिलाको संख्या सुन्य रह्यो । यसैगरि दलितको उम्मेदवारी झन सुन्य भएका कारण प्रतिनिधित्वको रहने कुरा पनि भएन । अर्को कार्यकारी पद वडाध्यक्षमा पनि समावेशीको अवस्था चित्तबुझ्दो छैन । ७२ वडा मध्ये ७ वटा वडामा मात्रै महिलाहरुको उम्मेदवारी परेको थियो । उक्त संख्या झण्डै १० प्रतिशत हो । वडाध्यक्षमा समेत ९० प्रतिशत पुरुषले उम्मेदवारी दिएका थिए । मत परिणाम अनुसार सबै महिला पराजित भएर अहिले जिल्लाका सबै वडाहरुमा पुरुष अध्यक्ष रहेका छन् ।
जिल्लामा दलितको उम्मेवारी १० वटा वडामा परेको थियो । यो संख्या झण्डै १४ प्रतिशत हो । उम्मेवार मध्ये २ जनाले मात्रै निर्वाचन जित्न सफल भएका थिए । जिल्लाको कुल वडाध्यक्ष मध्ये झण्डै ३ प्रतिशत वडामा मात्रै दलित अध्यक्ष रहेका छन् । (लेखक न्यौपाने —नेपाल पत्रकार महासंघ, जिल्ला शाखा रोल्पाका अध्यक्ष हुन् )