२६ असार, काठमाडौं । लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको ज्याान गएको छ ।

ज्यान गुमाउनेमा बेसीसहर नगरपालिका-७ सातबीसका ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमायाँ तामाङ र ९ वर्षीय छोरा सेवाङ तामाङ रहेका छन् ।

गएराति ११ बजे पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

‘भिरालो जग्गामा घर रहेछ । राति खाना खाएर सुतेको बेला ११ बजे माथिबाट आएको पहिरोले घर पुरेछ,’ डिएसपी थापाले भने, ‘उहाँहरू तीनै जनाको मृत्यु भएको छ ।’

डिएसपी थापाका अनुसार राति १२ बजे घटनास्थलमा पुगेको प्रहरी टोलीले पहिरोबाट तीनै जनालाई निकालेर जिल्ला अस्पताल पुर्‍याएको छ । पहिरोले त्यस वरपरका अरू घरमा भने क्षति नगरेको प्रहरीले जनाएको छ ।  शिलापत्रबाट साभार