३० असार,काठमाडौँ । सरकारले २०७७ सालको शैक्षिक सत्रबाट कक्षा ११ का विद्यार्थीलाई नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरे पनि त्यसका लागि आवश्यक पर्ने शिक्षकको तयारीका विषयले प्राथमिकता पाउन सकेको छैन ।

नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ मा अनिवार्य विषय थप गरिए पनि त्यसको अध्यापनका लागि आवश्यक पर्ने हजारौँ जनशक्तिका बारेमा तयारी गर्न बाँकी रहेको पाइएको छ ।

नयाँ पाठ्यक्रम अध्यापनका लागि विद्यालयमा स्नातकोत्तर तह उत्तीर्ण शिक्षक चाहिन्छ । हाल स्नातक तहको जनशक्तिले कक्षा १० सम्म अध्यापन गराउँदै आएका छन् । माथिल्लो कक्षामा पढाउन माथिल्लो शैक्षिक योग्यता भएको जनशक्ति चाहिने भएकाले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने सम्बद्ध व्यक्तिहरूले औँल्याएका छन् ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले विद्यालय तहमा ५३ हजार शिक्षक आवश्यक पर्ने प्रतिवेदन सरकारलाई बुझाइए पनि यसतर्फ कुनै प्रयास हुन नसकेको बताए । कक्षा ११ मा अनिवार्य विषय दुईबाट तीनवटा गरिएपछि विद्यालयमा स्वतः माथिल्लो शैक्षिक योग्यताको शिक्षक आवश्यक पर्ने उनको भनाइ छ ।

शिक्षक थप नगर्ने तथा शिक्षकलाई अध्यापनका लागि आवश्यक तयारीसमेत नगरिएको अवस्थामा पठनपाठन प्रभावकारी हुन नसक्ने उनले बताए । यसमा सरकारले आवश्यक तयारी गर्नुपर्नेमा उनको जोड छ । कक्षा ११ मा यस पटकबाट नेपाली र अङ्ग्रेजीका साथै सामाजिक विषयसमेत अनिवार्य गरिएको छ ।

सामाजिक विषय धेरै बोझिलो बनाइएको र नेपालीमा अध्यापन गर्नुपर्ने प्रावधानबाट यसको कार्यान्वयनमा जटिलता आउन सक्ने जनाइएको छ । राजधानीको गोठाटारस्थित तेजविनायक माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुप्रसाद तिमिल्सिनाले नयाँ पाठ्यक्रम लागू हुँदैछ भन्ने विषयमा विद्यालय, शिक्षक पूरै बेखबर रहेको भन्दै यसका लागि आवश्यक तयारी गर्न अब ढिला भइसकेको बताए ।

हाल कक्षा १० मा कार्यरत शिक्षकबाट मात्रै कक्षा ११ मा पढाउन नमिल्ने र यसबाट गुणस्तर कायम गर्न नसकिने उनको भनाइ छ । अनिवार्य विषय थप भएको तथा पाठ्यभार बढाइएको अवस्थामा शिक्षक अभाव हुनु भनेको पठनपाठन काम चलाउने मात्रै हुने उनी बताउँछन् ।

सामाजिक विषयका शिक्षक गोविन्द भण्डारी कक्षा १० मा अध्यापन गराएको शिक्षकलाई जबरजस्ती माथिल्लो तहमा पढाउन दिन नहुने स्पष्ट गर्दै यसले विद्यार्थीको सिकाइ उपलब्धि कमजोर बनाउने बताउँछन् ।

आवश्यक शैक्षिक योग्यतासमेत नपुगेको तथा अभिमुखीकरणसमेत नगरिएका शिक्षकलाई चलिहाल्छ नि भन्ने हिसाबले माथिल्लो कक्षामा पढाउन दिँदा यसले नेपालको शिक्षा क्षेत्रमा दीर्घकालीन समस्या ल्याउने उनको विश्लेषण छ ।

धेरै कमजोर पृष्ठभूमिका मानिस मात्र शिक्षकमा आउने क्रम नरोकिएको र शिक्षण पेसाप्रति युवा जनशक्तिमा मोह जाग्न नसकेको अवस्थामा कक्षा ११ मा योग्य शिक्षक ल्याउनेतर्फ तत्काल प्रयास गरिनुपर्ने उनले बताए ।

निजी शैक्षिक संस्थाले पनि यस विषयमा आवश्यक तयारी गर्न र सोच्न नभ्याएको राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९एनप्याब्सन०का अध्यक्ष ऋतुराज सापकोटा बताउँछन् । कक्षा ११ मा स्नातकोत्तर तहको शिक्षकबाट अध्यापन गराउनुपर्ने भएकाले यसका लागि केही तयारी आवश्यक पर्ने उनको भनाइ छ ।

यो अवस्थामा सरकारले पाठ्यक्रमको व्ययभारसमेत घटाउनु सान्दर्भिक हुने उनको सुझाव छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले हाल कक्षा ९ र १० मा अध्यापन गराउने योग्यता पुगेका शिक्षकलाई माथिल्लो तहमा कक्षा दिनुपर्ने अवस्था रहेको बताए ।

कक्षा ११ र १२ सञ्चालन गरेका विद्यालयलाई सरकारले शिक्षक अनुदानका रूपमा समेत सहयोग गर्ने गरेकाले यसबाट तत्काल शिक्षक अभाव पूरा गर्न सकिने उनको भनाइ छ ।

विद्यालय तहमा शिक्षकको दरबन्दी मिलान पूरा भएपछि थप शिक्षक आवश्यक परेको अवस्थामा नयाँ दरबन्दी थप गर्ने योजना रहेको निर्देशक गौतमले जानकारी दिए । यो सामाचारआजको गोरखापत्र दैनिक छ ।