५साउन, बारा । जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय बाराका सव–इन्जिनियर घुस रकम सहित पक्राउ परेका छन् ।

नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्न पश्चात भुक्तानी गरिदिएवापत लिएको ८० हजार रुपैयाँ घुससहित सव–इन्जिनियर गजेन्द्र प्रसाद जैसवाल पक्राउ परेका हुन् ।

पूर्व सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले जैसवालाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

सव–इन्जिनियर जैसवालले घुस रकम लिइसकेपछि अख्तियारको टोली पुगेको देख्दा उक्त रकम आफूसँगै रहेका चन्दन जैसवाललाई दिएर भागेका थिए ।

अख्तियारबाट खटिएको प्रहरीको टोलीले जैसवालाई भाग्दाभाग्दै कलैया नगरपालिका–४ बाट पक्राउ गरेको हो ।

पक्राउ परेका जैसवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयको हिरासतमा राखिएको जनाइएको छ ।