तत्कालीन जिल्ला पञ्चायत सचिवालयमा काम गर्ने गरी दाङबाट रोल्पा आएका दयाराम डाँगीलाई पत्रकारिता गर्ने हुटहुटी जाग्यो । २०४८ सालमा भएको कर्मचारी आन्दोलन पछि जागिर गुमाएका डाँगीले बुटवलमा पत्रकारिताको तालिम लिई २०५१ सालबाटै दैनिक लुम्बिनी पत्रिकासँग जोडिएँ । डाँगी त्यसपछि २०५४ सालमा जनआस्था साप्ताहिक मा पनि जोडिन पुगे । नयाँ युगबोध, लगायतका पत्रिकासँगको सामीप्यता बढ्दै जाँदा नियमित पत्रपत्रिकाहरु बढ्दै जान थाल्यो । २०५७ सालदेखि कान्तिपुर र २०५९ सालबाट राजधानी दैनिकमा रिपोर्टिङ हुन थालेसँगै रोल्पा काठमाडौंसँग जोडिन पुगेको हो ।

‘मुलुकमा चलेको १० वर्षे द्वन्द्वका क्रममा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा बसेर पत्रकारिता गर्नु सजिलो कदापि थिएन’, पत्रकार दयाराम डाँगी भन्छन्, ‘दुवै पक्षबाट चेपुवामा परेर भएपनि पत्रकारिता पेशालाई अगाडि बढायौं । संकटकालको समयमा धेरैले जिल्ला छोडेर अन्यत्र लाग्नुभयो । पत्रकार भएकै कारणले त्यसबेला तत्कालीन शाही सेनाबाट मलगायत साथीहरुलाई पटक पटक बोलाइयो । तर मैले विभिन्न बहाना बनाउँदै टारेँ । बडो मुस्किलका साथ पत्रकारिता जीवन गुजार्दै यो अवस्थासम्म आइपुगेका हौं ।’

रोल्पाका अर्का पत्रकार घनश्याम आचार्य पत्रकारिता क्षेत्रको अनुभव यसरी सुनाउँछन्, ‘२०५२ पछि युद्धरत पक्षका बीच ठूल्ठूला भिडन्त भए । जताततै मानव ढाल बनाएर जनतालाई दुवैपक्षले जबरजस्ती रुपमा परिचालित गरे । माओवादीले रेड गर्ने ठाउँमा जनतालाई लैजान्थ्यो भने सुरक्षाकर्मीले सुराकी बनाउन जनता प्रयोग गरे ।’ जिल्लामा पत्रकारिताको जग बसाल्ने यी दुई पुराना पत्रकारको कथनले रोल्पामा पत्रकारिताको थालनी के कसरी भयो भन्ने कुरालाई प्रष्ट पार्दछ ।

माओवादी द्वन्द्व शान्ति प्रक्रियामा रुपान्तरण भएसँगै यहाँको पत्रकारिता संस्थागत हुँदै गएको पाईन्छ । बृहत शान्ति सम्झौतासँगै दशवर्ष लामो माओवादी सशस्त्र युद्ध शान्ति प्रक्रियामा अवतरण भएसँगै रोल्पामा मिडिया फस्टाउने वातावरण तयार भएको हो ।

माओवादी द्वन्द्व शान्ति प्रक्रियामा रुपान्तरण भएसँगै यहाँको पत्रकारिता संस्थागत हुँदै गएको पाईन्छ । बृहत शान्ति सम्झौतासँगै दशवर्ष लामो माओवादी सशस्त्र युद्ध शान्ति प्रक्रियामा अवतरण भएसँगै रोल्पामा मिडिया फस्टाउने वातावरण तयार भएको हो । हाल जिल्लामा १ दर्जन बढी पत्रिका दर्ता भएका छन् । दर्ता भएकामध्ये अहिले ४ वटा साप्ताहिक पत्रिका मात्रै सञ्चालनमा रहेका छन् । यसैगरि ७ एफएम रेडियो पनि सञ्चालनमा छन् ।

रोल्पा जिल्लामा पत्रकारिताको विकासमा देखिएको मुख्य समस्या भनेको आर्थिक अभाव नै हो । रोल्पालाई भौगोलिक विकटता र अन्य हिसाबले पनि तुलनात्मक रुपमा पछि परेको जिल्ला मानिन्छ । यसर्थ, यहाँ ठूलठूला उद्योग, कलकारखाना तथा ठूला बजारहरु छैनन् । सञ्चार माध्यमको आर्थिक आयको मेरुदण्ड विज्ञापन नै भएकाले विज्ञापनका स्रोतहरु कम भएपछि यहाँका सञ्चार माध्यमहरु प्रायः संकटमा नै देखिन्छन् । सञ्चार माध्यम नै आर्थिक संकटमा भएपछि तिनै सञ्चार माध्यममा काम गर्ने पत्रकारहरुलाई उचित पारिश्रमिक दिन नसक्ने स्थिति छ । यसरी उचित पारिश्रमिक नभएपछि पत्रकारिताबाट दक्ष जनशक्ति अन्य पेशामा पलायन हुने सम्भावना छ । रोल्पा भौगोलिक विकटता भएको कारणले पनि प्रकाशनमा आएका सामाग्रीहरु ग्रामीण इलाकासम्म पुग्न सकिरहेका छैनन् । समग्रमा रोल्पाको पत्रकारिता विकासमा उल्लेखनीय प्रगति नहुनुमा आर्थिक अभाव, दक्ष जनशक्तिको अभाव, विज्ञापनको अभाव, यातायातको समस्या, सञ्चार माध्यम तथा पत्रकारहरुबीच समन्वयको कमीजस्ता समस्याहरु रहेको पाइन्छ ।

सशस्त्र द्वन्द्वको उद्गम थलो रोल्पामा पत्रकारले तत्कालीन विद्रोही माओवादी र सरकार÷राजनीतिक दलका बीचमा समन्वयकारी भूमिका निर्वाह गरेका थिए । ‘दीर्घकालीन शान्ति स्थापना निम्ति पत्रकारले तत्कालीन राजनीतिक एवं सामाजिक पक्षकाबीच मध्यस्थकर्ताको भूमिका पनि निर्वाह गरेका थिए । प्रेस स्वतन्त्रता र राजनीतिक अधिकार बहालीका लागि राज्य र विद्रोही पक्षमाथि दबाब दिने कार्य त दैनिक तालिका जसरी हुन्थ्यो । विगतको सशस्त्र द्वन्द्वका कारण विकास एवं परिवर्तनका क्रममा रोल्पा जिल्ला पछाडि पारिएको विषय सबै सामु छर्लंग नै छ ।

सञ्चार माध्यममा काम गर्ने अवसर पाएपनि रोल्पाका पत्रकारहरूको अवस्था अझैसम्म सुध्रेको छैन । दिनभर काम गरेपनि उनीहरूले पाउने पारिश्रमिकको कुनै ग्यारेन्टी छैन । सञ्चारमाध्यमको संख्या बढेपनि त्यसअनुसार सुविधा विकास हुन सकेको छैन । पत्रकारको पेशागत सुरक्षाका लागि सञ्चारमाध्यमहरूको संस्थागत विकासमा बढी आवाज उठाउनुपर्छ भने पत्रकारहरूले काम गरेवापत तलब पाउने अवस्थाको सुनिश्चितता हुनुपर्छ । श्रमजीवी पत्रकारहरूलाई उचित ज्याला, सुविधा र रोजगारीको ग्यारेन्टी हुनुपर्छ ।

भौगोलिक विकटता, अस्पष्ट सामाजिक दृष्टिकोण, कमजोर शैक्षिक अवस्था, सञ्चार माध्यमका अव्यवस्थित आर्थिक नीति लगायतका कारण यहाँको पत्रकारिता क्षेत्र अझै फस्टाउन सकेको छैन । अस्वस्थ प्रतिष्पर्धाका लागि जबर्जस्त सञ्चारमाध्यम स्थापना र सञ्चालन गर्ने प्रवृति देखिएकाले पत्रकारको पेशागत सुरक्षामा गम्भीर चोट लागेको छ । तर, पत्रकारहरूले भने थोरै पारिश्रमिकमा पेशाप्रति इमान्दार भएर काम गरिरहेका छन् जसले गर्दा पत्रकारिताको विकासमा थोरै भएपनि आशा र विश्वास देखिएको छ ।
(लेखक नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष हुनुहुन्छ ।)