१भदौ,काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बिहान ९ बजे सचिवालय बैठक बोलाइएको छ ।

शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल(प्रचण्ड) ले कार्यदलमार्फत् समस्या समाधान गर्ने भन्दै महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । पौडेल नेतृत्वको कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य छन् ।

यसअघि नेकपाको विवाद समाधानका लागि गठित कार्यदललाई शीर्ष नेताहरूले सचिवालय वा स्थायी कमिटी बैठकबाट आधिकारिकता दिनुपर्ने बताएका थिए। वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालले असन्तुष्टि जनाएपछि अध्यक्ष द्वय शर्मा ओली र प्रचण्ड सचिवालय बैठक बोलाउन तयार भएका हुन ।

आजको बैठकले कार्यदललाई आधिकारिकता प्रदान गरेर स्पष्ट कार्यादेश दिने जनाइएको छ ।