कसैलाई कोमल लाग्ने
आखाँहरु यी नै हुन्
जसले देखिसकेको छ ।

एउटा रात अलप हुनुपूर्व
समुन्द्रमा नुहाउदै गरेको जुन
जसले देखिसकेको छ ।

वरको लहरामा झुन्डिएर
चरा जस्तै उड्ने प्रयत्न गरिरहेका बच्चाहरु
जसले देखिसकेको छ ।

आफ्नै जिवनको किनारामा
डुङ्गा बाधिरहेको माझी
र जसले देखिसकेको छ ।

वेदनाको मोटो पुस्तक बोकेर
भट्टि छिर्ने आकस्मिक पाहुनाहरु,
कसैलाई कठोर लाग्ने आँखाहरु यी नै हुन्,
जसले देखिसकेको छ ।

खतरनाक रोगले ग्रसित बन्दै
गएको यो देशको शाषक
जसले देखिसकेको छ।

सभ्यताको पुरानो विज्ञान
बोकेर हिडेका आदिवासीहरु
जसले देखिसकेको छ।

भोकले पेट मिचिरहेका बुद्दका मुर्तिहरु
जसले देखिसकेको छ
चक्कु बोकेर स्वागतार्थ उभिएका फुलहरु
कसैलाई प्रेमिल लाग्ने आँखाहरु यी नै हुन्
जसले देखिसकेको छ।

मध्यरातमा सेतो फ्रक लगाएर
नाचि हिड्ने सुन्दर युवतीको प्रेतात्मा
जसले देखिसकेको छ ।

बाथ ट्युबको तातोपानीमा
उत्तानो पल्टिरहेकि कुनै स्त्रीको नाङ्गो शरीर
जसले देखिसकेको छ ।

कुनै काल्पनिक टापुको
मोनास्ट्रीमा निदाईरहेको फकिर
र जसले देखिसकेको छ ।

घाईते ईतिहास बोकेर बिक्रीमा बसेको पुरानो थाङ्का
कसैलाई कुरुप लाग्ने आँखाहरु यी नै हुन्
जसले देखिसकेको छ ।

घाटको छेउमा
आगो बेचिरहेका पुजारीहरु
जसले देखिसकेको छ ।

अल्लाहले आत्महत्या गरेको
मस्जिदमा उठेको मिनार
जसले देखिसकेको छ ।

अगरबत्ति जलिरहेको
मन्दिरको गुम्बज
जसले देखिसकेको छ ।

बतासलाई कुल्चिएर आकाश छुदै गरेका कलश,
यी सबै—सबै दृश्यहरु देखिसकेका आखाँहरुलाई
एकदिन कहिल्यै नझिम्किने गरि विश्राम त दिनु छ नै ।

तर विश्राम दिनुपूर्व अन्त्यमा
म यी नै आँखाहरुले हेर्न चाहन्छु
संसारलाई दासी बनाएर बसेको
ईश्वरको आँखाबाट खसेको एक थोपा आँशु ।