३भदौ, रोल्पा । नवीन लोचनमगर । ३४ वर्ष । परिवर्तन गाउँपालिका–४,पाछाबाङको पाहाबाङ । सदरमुकाम लिबाङ देखि २८ कोष टाढाको दुर्गम गाउँमा जन्मिएको एउटा ठिटो । गाउने, बजाउने रहर गर्ने कलकलाउँदो १४ वर्षीय ऊ २०५७ सालमा तत्कालीन माओवादी जनयुद्धको कलाकार हुँदै सिपाही बन्यो ।

आमा बुबाको जेठो छोरो । ९ कक्षामा पढ्दा–पढ्दै हतियार बोक्न हिडेपछि ठूलो बज्रपात प¥यो विर्खलाल रोकाको परिवारलाई । बुबा विर्खलाल रोका अक्षरै नचिन्ने कृषक । बाजे शंखवीर रोका रिटायर इन्डियन आर्मी, गाउँका मुखिया पनि । त्यसमा पनि गाउँ समाजको इमान्दार लाहुरे पिता पुर्खा । लहै–लहैमा कलाकार बन्ने सुरले जङ्गल छिरेका नवीन १ वर्ष पछि २०५८ सालमा जनसेनातिर छिरे, हतियार समाउँदै । म्याग्दीको बेनी, अर्घाखाँचीको सन्धिखर्क, रुकुमको खारा आक्रमण तथा तानसेन घट्नामा प्रत्यक्ष लडेका उनीसँग साना तिना दर्जनौ लडाइ लडेको अनुभव ताजै छ ।

नवीनका लागि भिडन्तहरु मध्ये असाध्यै मन दुःखेको लडाइ हो, खारा आक्रमण । खारामा तत्कालीन शाही सेनाको व्यारेकमा बिहान उज्यालो हुँदासम्म लडेका उनको टोली सबैभन्दा अन्तिममा निस्केको थियो । ‘कति मरे कति, त्यहाँ त । अहिले सम्झँदा पनि सपना जस्तो लाग्छ त्यो घटना ।’ उनले रुकुम खारा भिडन्तको सम्झना गरे । मानव ढालका रुपमा प्रयोग गरिएका स्थानीयहरुले (जो माओवादीका लास र घाइते बोक्न परिचालित थिए) एउटा गोरो माओवादी घाइते ‘नवीन’ मरेको देखे÷सुनेछन् । पछि गाउँ घरको हल्लाले घरमा छोरो नै मरेको होकी भन्ने आशङ्काले लामो समय त्रास फैलिएको अर्काे अनुभव छ उनीसँग । ‘म घर पुग्दा त सबै दङ्ग ।’ नवीनले हसिलो मुहार बनाए ।

माओवादी लडाकुको डिभिजन गठन भएकै दिन ‘मनिमारे’मा डिभिजन कमाण्डर घोषणा गरेको केहि घण्टा मै किमबहादुर थापा ‘सुनिल’को मृत्यु देखेका उनी आज पनि त्यो घटना झलझली सम्झन्छन् । ‘सबै भक्कानिएर अन्त्यष्टी गरियो । पछि पाँचौ डिभिजन दहवनको गेटैमा रहेको सालिकले सधै सुनिलको स्मरण गराउँथ्यो ।’

‘त्यो समय मान्छे मर्ने कुराले खासै महत्व राख्दैनथ्यो । हामी आफैलाई गाड्ने गैटी, बेल्चा अनि आफ्नो घाइते शरीर बोक्न स्टेचर समेत बोकेर हिँड्थ्यौ । कति बेला के हुने हो थाहै हुँदैनथ्यो ।’ लडाइको प्रकृति सुनाए उनले । उ बेलाका घटना अहिले त एकादेशको कथा जस्तो लाग्छ नवीनलाई । माओवादी नेतृत्वलाई ठाउँ ठाउँमा सुरक्षा दिएको । फुन्टिबाङ बैठकमा थबाङ मै लालीगुराँसको रुखमा पोष्ट बनाएर बसेका घटनाको झझल्को आइरहन्छ भन्छन् उनी ।

‘माओवादी नेतृत्वलाई भारतको सीमानासम्म सुरक्षा दिँदै पु¥याइएको थियो । आज कोही–कोही त साच्चीकै उतैकोमा रमाउन थालेकी जस्तो लाग्छ ।’ नवीनले त्यो बेलाका केहि नेतृत्व अहिले विस्तारै जनताप्रति उत्तरदायी हुन नसकेको अनुमान गर्छन् । फ्राई गरेर रातो बनाएको ‘गाइको मासु र गहँुको सातु’ उनकै भाषामा ‘ड्राइफूड’ मात्रै खाएर महिनाँै हिडेका नवीनले उ बेला राजनीति बुझेर अथवा युद्धपछि के हुन्छ भन्ने थाहै नपाएर लड्नेको संख्या बेसी रहेको खुलासा गरे ।

‘परिवर्तन भन्ने त थियो । तर के हो परिवर्तन ? अब के हुने हो ? कसैलाई केही थाहा थिएन । एकोहोरो राज्य सत्ता कब्जा भन्दा अर्काे कुनै भाषा नै थिएन । फगत एकोहोरो युद्ध र लडाइ मात्र थियो ।’ जनयुद्धका बारेमा नवीन सुनाउँछन् । तर माक्र्सवादी पुस्तकहरु कहिलेकाँही अध्ययन गर्दा भने परिवर्तनको अर्थ हल्का भएपनि बुझ्थे उनी ।

‘परिवर्तन भन्दा अरु मानसिकता मै थिएन ।’ परिभाषा बिनाको परिवर्तन शब्दका लागि लडेको यथार्थता सुनाउँदै नवीन भन्छन् । ‘परिवर्तनको परिभाषा त गुमनाम थियो भने अर्काे जबरजस्त शब्द थियो कब्जा’ । ‘अचम्मको दर्शन । न परिवार । न गाउँघर । एकोहोरो आमुल परिवर्तन । समान गर्ने भन्ने बाहेक केही नाई । पढ्नु लेख्नु त भ्रम हो भन्ने मात्र घोकियो । जे जति छ सबै आफ्नो कब्जामा लिने । यस्तो होला भन्ने त कसैले कल्पना समेत गरेका थिएनन् सायद ।’

‘सहमति, सहकार्य हुन्छ । सबैको अस्तित्व स्वीकार गर्दै भोट माग्न हिड्नुपर्छ जस्तो त सपनामा पनि आउँदैनथ्यो । माओवादी पछिल्लो समयमा फुट्नु । कार्यकर्ता, जनसेनाको पार्टीप्रति रुचि घट्नुका कारण हो पछिल्लो नेतृत्वका कार्यशैलीगत त्रुटी र नबुझिएर, नबुझाइएर जबरजस्त लडाइएको युद्ध । फगत लडाईका लागि लडाई । राजनीतिका लागि राजनीति गरिनुको दुस्परिणाम हो आज विभाजनको पीडा भोग्नु परेको’ नवीनको बुझाईमा ।

सेना प्रहरी मर्दा यति दुस्मन ढले, यति मरे भन्ने अनि आफ्ना मर्दा यति सहिद भए भनेको सुन्दा असजिलो लाग्थ्यो उनलाई । ‘आखिर जो मरे पनि नेपाली नै मरेको हुन्थ्यो नि । आज पनि त्यो बेलाका लडाइको डकुमेन्ट्री हेर्दा त्यति न्याय भएको लाग्दैन’ नवीन भन्छन् । इमान्दार र बफादार भएका कारण छोटै समयमा ‘कम्पनी कमाण्डर’ सम्म पुगेका नवीन पाँचौ डिभिजनमा आधा दशक बढि बसे । शान्ति स्थापना भएपछि एसएलसी हुँदै दश जोड दुई सकाएका उनी ‘भविष्यको टुङ्गो विनाको क्यानटोनमेन्ट बसाई निरस भएको’ सुनाउँछन् ।

त्यति ठूलो पाँचौ डिभिजन । वर्षाैको बसाई । नकारात्मक क्रियाकलाप गरेवापत आन्तरिक कारवाही नपरेका थोरै माओवादी लडाकु मध्येमा नवीन पनि पर्छन् । त्यो बेलाका उनका समकक्षीहरु सुनाउँछन् । सेना समायोजनका कुरा आए । ‘खोइ उता पनि गइन्थ्यो होला । तर जब छाती नाप्न सुरु ग¥यो अनि आत्मामा न मिठो अनुभव भयो ।’ स्वयच्छिक अवकाश रोजेर विधिवत बन्दुक छोडेका नवीन सुनाउँछन् ।

गीत गाउन जानेका । कविता लेख्न त झन् असाध्यै सिपालु । नवीनले २०६९ सालदेखि स्थानीय सनस्टार साप्ताहिकमा ‘कार्यकारी सम्पादक’ हुँदै अहिले प्रकाशक÷सम्पादकको भूमिका निभाइ रहेका छन् । स्थानीय रुपमा ‘स्तरीय पत्रिका’मा परिचित सनस्टार साप्ताहिक बाहेक नयाँ पत्रिकामा पनि लेख्छन् । स्थानीय साहित्यिक संस्थाहरुमा समेत आबद्ध उनी पछिल्लो समय पत्रकारिताबाट जीवन जीउन कठिन भएको सुनाउँछन् । ‘तर पनि पेशामा सन्तुष्ट छु ।’

जाड, रक्सी, चुरोट, विडि, खैनीजस्ता पदार्थदेखि टाढै रहेका नवीन थोरै बोल्छन् तर स्पष्ट छन् । ‘युद्धका बेला बन्दुक महत्वपूर्ण लाग्थ्यो । पावरफुल देखिन्थ्यो । तर यथार्थतामा कलम नै महत्वपूर्ण रहेछ । अहिले त कलमसँग पिरति नै बस्यो ।’

दिनेश दिपु सुवेदी