७ भदौ,हुम्ला । जातिका आधारमा बनाइएका गाउँबस्ती्का छुट्टाछुट्टै धारा भत्काएर एउटै बनाइएपछि सिमकोट गाउँपालिकाको ठेहे गाउँका दलित गैरदलितले एउटै धाराको पानी प्रयोग गर्न थालेका छन् ।

निकै विरोधबीच दलितका लागि निर्माण भएको धारा भत्काएर नयाँ धारा निर्माण गरिँदा दलित, गैरदलितले एउटै पधेँराको पानी प्रयोग गर्ने वातावरण बन्यो । यो क्रमसँगै बनेपछि तोडियो पानी बाराबारको युगौँ पुरानो कुुसंस्कार ।

सिमकोट गाउँपालिकाको ठेहे गाउँका जसबहादुर परियारले गाउँमा मानव बस्ती बसेसँगै दलित समुदायका लागि छुट्टै बनेको धककारामा पानी भर्ने कामले छुटकारा मिलेको बताए । अन्य धारामा गैरदलितको डरले पनि दलितले आफ्नोबाहेक अन्य धारामा पानी पाउँदैनथे । आर्थिक वर्ष ०७६र७७ मा वडा कार्यालयले दलित र गैरदलितका लागि यसअघि बनेका छुट्टाछुट्टै धारालाई एकै ठाउँमा राखेर नयाँ चारवटा धारा निर्माण गरेसँगै यो सम्भव भएको हो ।

परियारले अहिले बनेका चारवटा धारामा बिना भेदभाव दलित समुदायले पानी भर्न पाएको बताउए । यसअघि दलितले छुट्टै बनेको धारामा पानी भर्नुपथ्र्यो । एउटामात्र धारा भएपछि दलितले लाइनमा बसेर पानी भर्नुपर्ने बाध्यता थियो ।

गैरदलितले पनि दलितका लागि निर्माण भएको धारामा पानी भर्ने चलन थिएन । मुख्यगरी गाउँमा अझै पनि छोइछिटो बार्ने चलनले यस्तो भएको हो । अहिले बनेका धारामा स्वतन्त्र रूपमा पानी भर्न पाएपछि परियारले बल्ल मानिस भएको अनुभव गरिएको बताए । दलित र गैरदलित कुनै फरक नभएको र खाली सरसफाइमा ध्यान दिनु आवश्यक रहेको उनले बताए ।

वडाध्यक्ष नरबहादुर भण्डारीले पुर्खौंदेखि गाउँमा दलित र गैरदलितको विभेद हटाउन २१ लाख रुपैयाँ बजेटमा नयाँ र पक्की धारा निर्माण हुँदा सबैले सँगै पानी भर्न पाएको बताए । आजको गोरखापत्र दैनिकबाट