१७भदौ,रोल्पा । रोल्पा एक परिवारले आफ्नै सन्तानलाई काठको खोरमा साङलोले बाधेर राखेका छन्। रोल्पाको त्रिवेणी ५ लापडाडाका १२ वर्षीय तिलक खत्रीलाई विगत चार बर्ष यता घर भन्दा पर बनाईएको खोरमा राख्न थालिएको हो। मानसिक सन्तुलन गुमेका उक्त बालकको उपचार गर्न नसकेपछि परिवारले घरभन्दा पर गाईगोठको छेउँमा खोर बनाएका छन्।

तिन छोरी, एक छोराका पिता कर्णबहादुर यतिबेला छोराको अवस्थाले विक्षिप्त बनेका छन्। उपचार गर्न जग्गा समेत बेच्नु पर्यो। छोरोको उपचारका लागि करिब १५ लाख रकम सकिएको कर्णबहादुर विलौना गाउँछन्। छोरालाई खोरमा थुन्नुको विकल्प नभएको उनी बताउछन्। ऋणले डुबेका उनी छोरालाई पेटभरि खुवाउनसमेत नसक्ने अवस्थामा पुगेका छन्। अभावको पिल्सिएका खत्री परिवार यतिबेला सहयोगको अपेक्षामा छन्।

‘उपचारका लागि भारतका थुप्रै अस्पताल डुलाएँ केहि सीप लागेन। घरको आर्थिक अवस्था कमजोर छ। उपचारमै पैसा सकियो। अहिले छोरालाई फेर्ने कपडा समेत छैन। एउटै कपडामा महिनौ बिताउछ’, कर्णबहादुर भन्छन्, ‘एकबर्षको हुदा अगेनामा परेर पोलिएको थियो। टाउको र ढाड जलेको छ। निहु त्यहि भयो।’ छोराले आफ्नै दिशा पीसाब खान थाले पछि उसलाई घरभन्दा पर गोठको छेउमा राख्न थालिएको उनी बताउँछन्।

छोराको दैनिकिले हैरान बनेका कर्णबहादुर भन्छन्, ‘यस्तो पीडामा बाच्नु भन्दा त मरे पनि मुक्ति पाउथ्यो होला जस्तो लाग्छ। चार बर्ष भयो खोरमा राख्न थालेको। उपचार सम्भव नभएपछि कतै लगेका छैनौं।’

उपचारको सम्भव भए आर्थिक सहयोग गर्ने योजना रहेको वडा अध्यक्ष कृष्णबहादुर केसीले बताए। भारतका अस्पतालमा ठूलै रकम गरे पनि विरामी ठिक भएको पैसा मात्रै खर्च भएको अस्पतालले डाक्टरले लुटेको कर्णबहादुर बताउँछन्।

कुनै समय कर्णबहादुर खत्रीको घरको बाटो भएर परिवर्तनका लागि बन्दुक बोकेकाहरु हात मुट्ठी पार्दै ओहोर दोहोर गर्थे। उनिहरुले कयौ छाक खत्रीकै घरमा खाना पनि खाए। समानताको भाषण गर्ने बन्दुकधारीहरुले गरिबका दुखका दिन अन्त्य हुने बताईरहन्थे। तर परिबर्तन भएको सुनेका कर्णबहादुरलाई यो परिबर्तन मुट्ठी भरका लागि भएको अनुभुती गरिरहेका छन्। ‘कतै कतै यस्ता बच्चालाई राख्ने ठाउँ छ भन्ने सुनेको छु तर त्यहा सम्म मेरो पहुच छैन।’ दिनेश सुवेदी–नागरिक दैनिकबाट साभार