रूकुम पूर्वको भुमे गाउँपालिकास्थित महतको धर्मशालामा म जन्मेँ। कलिलो उमेरमै जागीर खाने मोह जाग्यो। त्यो पनि सरकारी। मनमा ठूलै हुटहुटी थियो। सरकरी जागीर खान लोकसेवा तयारी गर्नुपर्छ भन्ने सुनेँ। मेहनतको फल मिठो हुन्छ भन्छन् नि! २०७० सालमा खरिदारमा नाम निस्क्यो।

जिल्ला विकाश समितिको कार्यालय रोल्पामा सिफारिस भएँ। १९ वर्षकै उमेरमा जागीर प्रवेश हुँदा मनमा छुट्टै उमंग थियो। एक महिना जिविसमै काम गरेँ। एक महिनापछि गाविस सचिवको रूपमा थवाङलाई कर्मथलो रोजेँ।

थवाङसम्म मोटर बाटो पुगेको थिएन। पैदल हिडेरै सदरमुकाम लिवाङबाट थवाङ पुगे। लिवाङबाट करिव १६ घन्टा पैदल हिडेरपछि थवाङ पुगियो।

त्यो १६ घण्टाको यात्रा निकै कष्टकर थियो। बाटोमा पर्ने जंगल, वर्षातको समयमा खुट्टाभरी जुकाले टोक्थे। खुट्टा रक्ताम्य हुन्थ्यो। भीर र खोला टिचोल्दै अगाडि बढ्नुपर्थ्यो। उसो त बर्षको तीन पटक झोला भरी सामाजिक सुरक्षाको पैसा बोकेर त्यही बाटो हिड्थे। मनमा एउटै कुरा खेल्थ्यो। यो पैसा कसरी सुरक्षित थवाङसम्म पुर्याउने रु तर पुर्याउँथे।

थवाङ पुगेपछि नियमित कामकाजमै ध्यान गयो। लामो समय स्थानीय तहको चुनाव हुन नसकेका कारण गाविस सचिव नै अध्यक्षजस्तो। सबैलाई मिलाएर लैजानुपर्ने।

थवाङ नेपालकै ऐतिहासिक ठाउँ हो। थवाङ बसेर मैले धेरै कुरा सिके। थवाङलाई बुझ्ने प्रयास गरे। विद्रोही थवाङ बुझेँ, त्यसका बाध्यता बुझेँ। जलजला बुझें र त्यसका अनेकन पाटाहरु पनि।

थवाङको खोलामा निस्फिक्री बग्ने पानी बुझे र पानी भित्र पौडिने स्वतन्त्र माछाको चाल पनि। थवाङ निकै उर्वर भूमि हो। मगर खाम बुझे र ती भाषा भित्रका ठेट संस्कृति पनि नियाले। विविध संस्कृतीयुक्त एकताको प्रतीक हो थवाङ।

थवाङ बसाई निकै महत्वपूर्ण रह्यो। अविस्मरणीय पनि।

यहाँको बसाइमा जागीर मात्रै गरिनँ। धेरै कुरा सिकेँ। अथाह ज्ञान प्राप्त गर्ने स्वतन्त्र विश्वविद्यालय थियो थवाङ। मनमा शान्ति स्थापना गरिदिने जलजला हिमाल थियो। कलकल बग्ने खोला थियो। जीवन बुटी जस्तै अमुल्य हावा थियो। मीठो माया र सहयोग गर्ने थबाङी जनताको साथ थियो।

कार्यालय भित्र भाइचाराको सम्बन्ध थियो। थवाङ आफ्नै घर जस्तै थियो। जहाँ म हरेक दिन आश्रय लिन्थेँ। अहिले तन त्यहाँ नभए पनि मन त्यहीँ छ।

थवाङमा गाविस सचिव रहँदा धेरै अवसर मिल्यो। पूर्ण खोपयुक्त थवाङ, विभिन्न सरसफाइ सम्बन्धी कार्यक्रम सञ्चालन् तथा कार्यान्वयन, जातीय छुवाछुट मुक्त थवाङ, साक्षरतायुक्त थवाङ म त्यहीँ हुँदा घोषण भए। एक वर्ष थवाङ गाउँपालिकाकै मिरूल गाविसको सचिवको जिम्मेवारीमा रहँदा पनि पूर्ण खोपयुक्त मिरूलको घोषणा भयो।

त्यहाँ पनि मिरूलबासीको अत्यन्तै न्यानो माया पाएँ। त्यसो त थवाङ गाउँपालिकाको स्थापना भएपछि दुई वटा वडाको सचिव, गाउँ कार्यपालिकाको कार्यालय अन्तरगत प्रशासन, योजना, सूचना अधिकारी, विपद् व्यवस्थापन र सरसफाई कार्यक्रमको सम्पर्क व्यक्तिलगायत भएर पनि काम गरें।

धेरै काम गर्नु परेकोमा कहिलै दुःख लागेन। कहिल्यै अल्छी पनि लागेन। कहिल्यै थकान भहसुश भएन। बरु रमाइलै लाग्यो। नयाँ कुरा सिक्न पाइयो।

देशमा हुने जुनसुकै परिवर्तनको अग्र मोर्चामा देखिने दुरको एउटामात्र गाउँ हो थवाङ। देशका सबै परिवर्तनमा आफूलाई दह्रो पारी उभिएको गाउँ हो थवाङ। तर परिवर्तनको सुनौलो घामको राप थवाङले देख्न अझैं राम्ररी देख्न पाएको छैन।

तर अब थवाङले बुझिसक्यो। थवाङको आफ्नो हितैषी थवाङ मात्रै हो।

थवाङले धेरै कुरा सिकायो। अफ्ठ्यारोमा एकता अपरिहार्य हो भन्ने कुरा सिकायो।

एक असल कर्मचारी बन्न प्रेरित र्यो। म को हुँ भन्ने चिनायो। माटोसँग माया लाउन सिकायो। प्रकृतिसँग पिरती साट्न सिकायो। मन भित्र अदम्य साहश बटुल्न सिकायो। अन्यायविरुद्ध आवाज बुलन्द गर्न पनि सिकायो। थवाङ एउटा गाउँ मात्रै होइन।

आस्थाको केन्द्र हो। गरीवको आवाज हो। विद्रोहको ज्वाला हो। थवाङले बनाएको म। एक निष्ठावान कर्मचारी। नागरिक दैनिकबाट साभार