२२ भदौ, रोल्पा । केही समयदेखि सामाजिक सञ्जालमा गंगादेव गाउँपालिकाले शाखा प्रमुखलाई हटाएर सव–इन्जिनियरलाई प्रमुख बनाएको विषयमा गाउँपालिकाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार खण्डन सहितको प्रेस विज्ञप्ती जारी गर्दै गाउँपालिकाले सन्तोषजनक काम नगरेपछि कार्वाही स्वरुप हटाएको स्पष्ट पारेको छ । सन्तोषजनक काम नगरेको भन्दै गाउँ कार्यपालिकाको बैठकले इन्जिनियर नवीन डाँगीलाई हटाउने निर्णयसहित कार्यान्वयन गरेको गाउँपालिकाका प्रेस संयोजक अशोक वलीले जानकारी दिए ।

सिंगो गाउँ कार्यपालिकाले गरेको निर्णयलाई अध्यक्ष वीरबहादुर खत्रीले मात्र गरेको भन्दै जबर्जस्त बदनाम गर्ने नियतले प्रचार गरिएको प्रेस नोटमा उल्लेख छ ।

‘सामाजिक सञ्जालमा न्यायाधिश बनेर अध्यक्षज्यूको सामाजिक र व्यक्तिगत जीवनमा गम्भिर असर पुग्ने स्टाटस र कमेन्ट निन्दनीय रहेका छन्’ प्रेस विज्ञप्तीमा भनिएको छ, ‘गाउँपालिकाले स्थायी, अस्थायी, सिनियर, जुनियर भन्दा पनि सन्तोषजनक काम नगरेको खण्डमा गाउँ कार्यपालिकाको बैठक मार्फत कार्बाही गर्ने सबैमा जानकारी गराउँदछौ ।’

गाउँपालिकामा कार्यरत प्राविधिकहरु र प्रशासन शाखा प्रमुखको काम सन्तोषजनक नभएको भन्दै गाउँ कार्यपालिकाको गत असार ६ गतेको बैठकले सम्बन्धित सबैसँग लिखित स्पष्टिकरण मागेको थियो ।

प्रशासन शाखा प्रमुख शालिकराम बस्नेतसहितका सबैले लिखित स्पष्टिकरण समेत बुझाएका थिए । तर पेश भएका स्पष्टिकरणमध्ये इन्जिनियर नवीन डाँगीको सन्तोषजनक नभएको भन्दै असार ८ गते बसेको कार्यपालिका बेठकले कार्वाही स्वरुप प्रमुखबाट हटाई सव–इन्जिनियर रमेश डाँगीलाई शाखा प्रमुखको जिम्मेवारी दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

अन्यको स्पष्टिकरण सन्तोषजनक रहेको र चुस्तदुरुस्त काम नगरेमा कार्यपालिकाले नीति र विधिमार्फत जुनसुकै समयमा नियमन गर्नसक्ने समेत प्रेस विज्ञप्तीमा उल्लेख छ ।