३१भदौ, काठमाडौँ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बुधबार बिहान ६ रिक्टर स्केलको परकम्प गएको छ ।

आज बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रिक्टरको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो नयाँ भूकम्प नभई २०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

बिहान सबेरै गएको परकम्पले राजधानी काठमाडौँ आसपासको भेगमा ठूलो धक्का दिएको छ । उपत्यकासहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

उपत्यकाका तीनै जिल्लामा ठूलो सङ्ख्यामा मानिस आत्तिएर कराउँदै घर बाहिर निस्किएका थिए ।

वि.सं. २०७२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५ सय ५० भन्दा बढी परकम्प गएको केन्द्रले जनाएको छ ।