१६असोज,काठमाडौँ । राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मलेन आगामी चैत्रमा हुने भएको छ ।

केन्द्रीय समितिको शुक्रबार बसेको अनलाइन बैठक पछि जारी प्रेस विज्ञप्तीमा सो जानकारी दिइएको छ ।

विज्ञप्तीको पूर्ण पाठ यस्तो छ:

“राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको २०७७ असोज १५ गते बसेको अनलाइन बैठकले गरेका निर्णयहरूलाई जानकारी दिनक लागि तथा कतिपय समसामयिक विषयमा स्थिति स्पष्ट पार्न यो वक्तव्य जारी गरिएको छ ।

१. राष्ट्रिय जनमोर्चाको राष्ट्रिय सम्मेलन हरेक ५ वर्षमा गर्नुपर्ने व्यवस्था र राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थानुसार पार्टीको सङ्गठनात्मक संरचना बनाउनुपर्ने भएकाले आगामी २०७७ चैत्र महिनामा चौथो राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको छ ।

२. चौथो राष्ट्रिय सम्मेलनमा पारित हुने दस्तावेजहरूको मस्यौदा तयार गर्न अध्यक्ष चित्रबहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय दस्तावेज मस्यौदा समिति गठन गरिएको छ । सदस्यहरूमा उपाध्यक्ष दुर्गा पौडेल, महासचिव जनकराज शर्मा, कोषाध्यक्ष हिमलाल पुरी र केन्द्रीय सदस्य मनोज भट्ट रहनुभएको छ । त्यसैगरी महासचिव जनकराज शर्माको संयोजत्वमा १३ सदस्यीय सम्मेलन व्यवस्थापन समिति गठन भएको छ । सदस्यहरूमा उपाध्यक्षद्वय बद्रे आलम र दुर्गा पौडेल, केन्द्रीय सदस्यहरू कृष्णबहादुर खड्का, नन्दराज भट्ट, झविलाल थापा, घनश्याम न्यौपाने, लालबहादुर थापा, सुधा शर्मा, सल्लाहकार अमर थापा र अमर नेपाली तथा हरिकिशोर महतो रहनुभएको छ ।

३. नेपालमा कोभिड–१९ को प्रकोप दिन–प्रतिदिन समुदायमा तीव्र गतिमा फैलिइरहेको छ । नजिकिँदै आएका चाडपर्वहरूमा त्यो झनै फैलिने खतरा छ । यो प्रकोपबाट बच्न जनता स्वयम् सचेत हुनुपर्छ । सरकारले जनताको उपचार र स्वास्थ्यसम्बन्धी कुराहरूमा आवश्यक व्यवस्था मिलाउन जोड दिन्छौँ ।

४. कोरोनाको कारणले जनजीवन अत्यन्त कष्टकर बन्दै गएको अवस्था छ । भ्रष्टाचार व्यापक रूपले मौलाएको छ । माफियाको चलखेल बढेको छ । गरिबी, बेरोजगारी, हत्या, हिंसा र बलात्कारका घटना बढेका छन् । राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय अखण्डतामाथि वैदेशिक हस्तक्षप बढ्दो छ । यो स्थितिमा सरकारले राम्रोसँग काम गर्न सकेको छैन । एमसिसीजस्तो राष्ट्रघाती सम्झौतालाई संसदबाट अनुमोदन गराउन दुष्प्रयत्न भइरहेको छ । यसतर्फ हामीले सबै न्यायप्रेमी, देशभक्त जनसमुदाय र सरकारलाई पनि गम्भीर हुन आग्रह गर्दछौँ ।”