२०मंसिर, काठमाडौँ । हुम्ला जिल्लामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । शुक्रबार राति भएको दुर्घटनामा अन्य ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

जिल्लाको हेप्काखोलाबाट बिरामी लिएर सिमकोटतर्फ फर्किँदै गरेको लु २ च २१०२ नम्बरको बोलेरो जीप सिमकोट गाउँपालिका–७ डाडाफयाको जबुका नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका हुम्लाले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेको पहिचान हुन बाँकी छ । दुर्घटनामा घाइते हुनेमा सिमकोट(२ ठेहेका जीप चालक सिंगम भण्डारी, सिमकोट–६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट–८ खाल्सीकी कल्पना सिंह, सिमकोट–८ खाल्सीका १ वर्से बालक मिलन सिंह, सिमकोट–८ खोल्सीकी सम्झना शाही, नाम्खा गाउँपालिका–१ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कबि सिंह रहेका छन् ।

घाइतेको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जीप मुल सडकभन्दा करिब ६ सय मिटर दक्षिणमा खसेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।