९पुस, काठमाडौं । विभिन्न चार राजनीतिक दलका महिला संगठनहरुले प्रतिनिधि सभा विघटनको विरोध गर्दै संयुक्त संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

बिहिबार अखिल नेपाल महिला संघ(अनेम), समाजवादी महिला संघ नेपाल, अखिल नेपाल महिला संघ र साझा विवेकशिल (महिला) संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।
पुष ५ गते मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिद्धारा गरिएको संसद विघटनको विरोधमा संघर्षका कार्यक्रम घोषणा गरेको अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन बताईन्।

प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ–

“भर्खरै मुलुकमा उत्पन्न संवैधानिक सङ्कटका सन्दर्भमा हामी निम्न महिला सङ्घको गम्भीर ध्यानाकर्षण भएको र हामीले संयुक्त रूपमा छलफल गरी हाम्रो साझा धारणा यहाँ स्पष्ट पार्न चाहन्छौँ ।

यही २०७७ पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभाको कथित विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमले देश र नेपाली जनतालाई अनिश्चिततातिर धकेलिदिएको छ । सरकारको यो कदम चरम व्यक्तिवादी सोच, अधिनायकवादी विचार, निरङ्कुश शासकको चरित्र, देश र जनताप्रति गैरजिम्मेवारी र नालायकीपनको उदाहरण हो भन्ने हाम्रो ठम्याइ छ ।

प्रतिनिधि सभाको कथित विघटनले स्थिर सरकारका लागि दिइएको नेपाली जनताको जनमतको घोर अपमान मात्र नभई आम नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षद्वारा प्राप्त उपलब्धिलाई संस्थागत गर्नुको सट्टा प्रतिगामी शक्तिहरू सल्बलाउने सम्भावनाको ढोका खोलेको छ । त्यसकारण पनि ओली सरकारको कदम कदापि स्वीकार्य हुन सक्दैन । यतिखेर देश कोरोना कहर र चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको छ भने अर्कोतिर, प्रतिनिधि सभाको कथित विघटनले अझै आधा समयअगावै गर्नुपर्ने चुनावको खर्चले देशको आर्थिक अवस्था धरासायी बन्ने कुरा निश्चित छ ।

२०७२ को संविधान सभाबाट निर्मित संविधानमा भएको व्यवस्थाले प्रधानमन्त्रीलाई नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभाको कथित विघटन गर्न खोज्नु संविधानमाथिको कू हो भन्ने हाम्रो ठहर छ । त्यसो भएको हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभाको कथित विघटन गर्ने कदमप्रति हाम्रो घोर भत्र्सना एवम् आपत्ति छ । यस्तो असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी निरङ्कुश कार्यको विरोध गर्न सम्पूर्ण न्यायप्रेमी, देशभक्त दिदीबहिनी तथा दाजुभाइमा एकजुट भई सशक्त आन्दोलन गर्न हार्दिक अपिल गर्दछौँ ।

सरकारको यो राष्ट्रघाती कदमको विरोध गर्न निम्न महिला सङ्घले निम्न विरोध र सङ्घर्षको कार्यक्रम पनि गर्ने कुराको सहर्ष जानकारी गराउन चाहन्छौँ ।

आगामी कार्यक्रम

१. नेपाल बार एसोसियसनका पदाधिकारीसँग अन्तरक्रिया, छलफल गर्ने ।

२.संविधानविद्सँग अन्तरक्रिया गर्ने ।

३. सङ्घीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुख र राष्ट्रिय सभाका सम्माननीय अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउने ।

४. देशव्यापी जनप्रदर्शन गर्ने ।”