अहिलेको प्रविधियुक्त युगमा सारा विश्व एउटा हत्केलामा अडिएको छ। हामी हरेक कुराको जानकारी चाहेकै बखत दृष्य र श्रव्यमा तत्कालै लिन सक्छौं। कुनै समय थियो घरबाट टाढा रहेको व्यक्तिको बारेमा खवर पाउन महिनौ मात्र हैन वर्षौं कुर्नु पर्दथ्यो।

समय सँगसँगै धेरै कुरामा परिवर्तन भइरहेको छ। मार्कोनिले रेडियोको, अलेक्जेन्डर ग्राह्म वेलले टेलिफोनको, जुकरवर्गले फेसबुकको, चाड हुरेली, स्टेभ चेन र जावेद करिमले युटुवको आविष्कार गर्नु अघिको समयको जीवनशैली अहिले हामी कल्पना पनि गर्न सक्दैनौं। परिवर्तन समयको माग हो। जो समयसँगै आफूलाई परिमार्जन गर्दै अघि बढ्छ उसले नै समाजमा केही नौलोपनको आभास दिलाउन सक्छ।

आज म रेडियोसँग जोडिएको मेरो समयका केहि कुराहरु स्मरण गर्न चाहन्छु। म थाहा पाउने भएदेखि नै मेरो घरमा रेडियो थियो। दिनभरी सबैजना काममा व्यस्त हुने भएकोले बेलुका ७ बजेको समाचारमा गोपाल बस्नेतको आवाजसँगै राती १० बजेको हिन्दी समाचार आउनु अघिसम्म रेडियो बोलिरहन्थ्यो।

एकटकले ध्यान दिएर समाचार सुनिरहेको बेलामा आमा बिच्चमा बोल्दै बाबालाई केही सोध्नुहुन्थ्यो। प्रायः नरिसाउने स्वभावको मेरो बाबा झनक्क रिसाउँदै आमातर्फ हेर्दै भन्नुहुन्थ्यो – ‘ध्यान दिएर सुन्या पो बुझिन्छ। बिच्चमा प्वाक्क बोलेपछि बुझिँदो क्या तब अचम्म गर्छे क्याउ यो त१’ त्यतिबेला एफ एम रेडियोहरु सन्चालनमा थिएनन्। बाबा हातको घडी हेर्दै पौने ९ मा  बीबीसी नेपाली सेवा सुन्न रेडियोको ब्यान्ड सार्नुहुन्थ्यो।

अहिले पनि त्यो बीबीसीको ुटुन्टुन्टुन् टुन्टुन्ु धुन बज्दा म उस्तै सानै छु र बाबाको आडैमा सुतेर निदाउने तरखरमा छु जस्तो लाग्छ।

कक्षा ४र५ मा पढ्ने भइसकेपछि खोई कसरी हो मलाई पनि रेडियो सुन्ने लत बस्न थाल्यो। बर्खाको समयमा स्कुल विदाको दिन गोठालो जाँदा छाताभित्र लुकाएर रेडियो लिन्थे। रेडियो भएपछि मलाई साथीको आवश्यकता पर्दैनथ्यो।

बरु एक्लै भएपछि ढुक्कले रेडियो सुन्न पाइन्छ भन्ने लाग्दथ्यो। त्यतिबेलादेखि नै एक्लो समय व्यतित गर्ने बानी बसेको हुनुपर्छ मेरो। हुँदाहुँदा स्कुल पढ्न र घाँस काट्न जाँदा पनि रेडियो चाहिने हुन थाल्यो। कानमै अड्याएर रेडियो सुनेको देखेर एकदिन छिमेकी अंकलले भन्नुभयो, ‘ओहो१ क्या तमासा हो यस्तो कहरसिं दाईको छोरीको पनि रेडियो कानमै टाँसेर सुन्छे बाबै।’

कक्षा ७ मा पढ्दा एकदिन विद्यालयमा सानो रेडियो बोकेर गएँ। घण्टी खाली भएको मौका छोपेर मैले रेडियो खोले। विस्तारै सुन्छु भनेर खोलेको आवाज नआएपछि थोरै भोल्युम बढाउँछु भन्दा बटन पुरै घुमेछ। त्यो बेलामा दिनको ११ बजेदेखि १ बजेसम्म रेडियो बन्द हुन्थ्यो। त्यहि बन्द समयमा कोठाका सबै विद्यार्थीको ध्यान भंग हुने गरी रेडियो जोडले सुसायो। कक्षाका सबैजना तर्सीएर एकसाथ एकै लयमा मलाई हेरे। अनि मुखामुख गर्दै कोही हाँस्न थाले कोही के के भन्दै थिए। मैले  केही सुनिन। म लाजले जड भए। बिना हलचल न हाँस्न सक्ने न रुन सक्ने भए। तर एउटा कुराको भने डर लागीरह्यो। मैले रेडियो ल्याएको कुरा स्कुलभरी फैलिनेछ। सबैले मलाई जिस्काउने छन्। यदि यो कुरा मेरो घरसम्म पनि पुग्यो भने१ अहो१ ।।।।।।।।

आफ्नो गाउँको प्राथमिक तहको पढाई पश्चात माध्यामिक तह अध्ययन गर्न नारायणी मावि कार्कीगाउँमा गइसकेपछि डेरामा बास। खाने, बस्ने व्यवस्था आफ्नो घरको जस्तो सहज त थिएन। रेडियो सुन्न पाउनु झन् कल्पना बाहिरको कुरा भयो। डेरामा रेडियो हुँदैनथ्यो। कक्षा ८ मा पढ्ने भइसकेपछि रेडियोवाला घरबेटिकोमा डेरा भयो। घरबेटि भाउजु आफू घरमा हुँदामात्र रेडियो बजाउनुहुन्थ्यो।

धेरै बजाउँदा ब्याट्रि सकिने पिरले होला सायद रेडियो हाम्रो पहुँचमा छोड्नु हुँदैनथ्यो। कुनै दिन भने तोरीको कुन्युमा लुकाएर राखेको रेडियो निकालेर भाउजु आउने बाटोतिर हेर्दै डराउँदै एकछिन् बजाइन्थ्यो। घरबेटिको घरमा नन्द, भाउजु र एउटा सानो बाबु बाहेक अन्य सदस्य भारतमा कमाउन बस्नुहुन्थ्यो। नन्द हामीसँगै पढ्थिन्। आमाबाको उचित रेखदेख बिनाको उनको हुर्काई र पढाई स्वभाविक रुपमा अगाडि बढिरहेको थिएन। ८ कक्षा पुग्दा नपुग्देै उनले विवाह गरिन्। विवाहको शुरुवातसँगै उनले विद्यालय पढाइको शिलशिला भने समाप्त गरी दिइन्।
अब हाम्रो घरमा क्यासेट बजाउन मिल्ने रेडियो आइसकेको थियो। मेरो ठुलो बुवाको छोरा नविन दाईले भारतबाट ल्याएकोे। ठुली आमाको निधन पश्चात ठुलो बुवाले पनि घर छोड्नुभएछ। अनि  नविन र दशरथ दुईजना दाइहरु हामीसँगै बस्नुहुन्थ्यो। दाईहरुले हामीलाई धेरै माया गर्नुहुन्थ्यो।  स्कुल विदाको समयमा म बेसीको घरमा हजुरआमा हजुरबासँगै बस्थे नविन दाईको श्रीमति गीता  भाउजु र म प्रायःसँगै हुन्थ्यौं। हजुरबादेखि लुकेर क्यासेटमा गीत सुन्ने, राति सुत्ने बेलामा अमिलो खाने, बारीमा बोटमै पाकेका केरा र आँप खाने र दिनमा खोलामा पौडी खेल्न मन पराउने हामी नन्द भाउजुको स्वभाव एकदमै मिल्थ्यो।

रेडियो मात्र बजाउँदा ब्याट्रि टिकाउ हुने तर क्यासेटमा गीत बजाउँदा छिटो सकिने भएकोले हजुरबाले धेरै क्यासेट बजाउन दिनु हुन्थेन। आफ्नै छेउमा राखेर सानो आवाजमा रेडियो मात्र बजाउनुहुन्थ्यो। खाना खानेबेलासम्म त हजुरबा र हामी सँगै हुने भएकोले वहाँको छेउमै बजिरहेको रेडियो सुन्न पाइन्थ्यो। भाउजु र म भित्रको कोठामा र हजुरबा बाहिर सुत्नुहुन्थ्यो। अनि रेडियो पनि हजुरबासँगै हुने भएकोले रातीमा सुन्न पाइदैनथ्यो। हजुरबा र हामी सुत्ने कोठा नजिकै भए पनि सानो आवाजमा बजाईएको रेडियोले मेरो कान छुँदैनथ्यो।

कुनै कुनै दिन मात्र मेरो हजुरबालाई के सुर चल्थ्यो कुन्नि अलि ठुलो आवाज बनाउनुहुन्थ्यो। म हजुरबालाई अलि ठुलो आवाज  बढाउनु न भन्दैनथे। खुल्लै छोडिएको ढोकाबाट बाहिर हेर्दै रेडियोको ठुलो आवाज सुन्ने प्रतिक्षामा मेरा कैयौँ रात वित्थे। रेडियोमा बज्नेगीत, कथा, कविता, पत्रमित्रता सम्बन्धि कार्यक्रम, साथिसँग मनका कुरा, परदेशीको सन्देश, अन्तर्वाता कार्यक्रम अनि अनुरोध संगितमा आउने नामहरु सुन्न मलाई खुब मन पथ्र्यो।

दिउसो घरमा कोही नभएको मौका पारेर क्यासेटमा आफ्नै आवाजमा गीत रेकर्ड गरेर सुन्नुको आनन्द त झन् कति हो कति। ब्याट्रि सकिएर रेडियो सुस्तरी बज्दा लाग्थ्यो रेडियोभित्र बोल्ने मान्छेहरु अलि जोडले बोल्नु नि। कहिलेकाही त लाग्थ्यो – यो ब्याट्रि कहिल्यै नसकिने भए। घरमा कोही नरिसाउने भए। रेडियो मात्र सुनिरहन पाए कति रमाइलो हुन्थ्यो होला।

मेरो दाईको नाम रेडियोमा दिनहु आइरहन्थ्यो। पुर्ण समिर महतारा। दाईले आफ्नो नामसँगै बाबाको, नविन दाईको, दशरथ दाईको अनि कान्छो भाई रेशमको नाम पनि  रेडियोमा पठाउनुहुन्थ्यो। तर मेरो र बहिनीको पठाउनु हुन्थेन।

गाउँ नजिकै हुलाक सेवा नभएकोले रेडियोसम पत्र पठाउने तरिका पनि थाहा थिएन। एकचोटि मैले भने ‘दाई हामी दिदि बहिनीको नाम पनि पठाउनु नि।’ दाईले मुस्कुराउँदै विस्तारै भन्नुभयो –‘एस एल सी पास गर पहिले अनि तिमिहरुको नाम रेडियोमा  आफै आउँछ।’ मैले कुरा बुझीनँ। तर आफ्नो नाम पठाईदिन ढिपीपूर्ण आग्रह गरिरहें।

कक्षा नौमा पढ्ने बेलामा हाम्रो विद्यालयमा अमृत अन्जान आँशु नामको मान्छे अंग्रेजी शिक्षकको रुपमा नियुक्त हुनुभयो। ‘अमृत अन्जान आँसु’ यो नाम म रेडियोमा सुनिरहन्थें। विद्यालय जाँदा आउँदा हाम्रो भेट प्रायः भइरहन्थ्यो। अमृत र मेरो दाई साथी साथी भएकोले मसँग दाईको हालखवर सोध्ने निहुँमा कुराकानी गर्नुहुन्थ्यो।

विस्तारै हामीले नजिकको साथी भएको महशुस गर्दै गयौं। अमृत पनि गीत गजल लेख्ने र रेडियो प्रेमी भएकोले हाम्रो कुराहरु एकदमै मिल्थ्यो। उद्घोषक, लेखक र विद्यालय निरीक्षक बन्ने अमृतको तत्कालीन रुचिहरु थिए। मलाई गजल र मुक्तक लेख्ने संरचना सिकाउनुहुन्थ्यो। रेडियो नेपालसम्म पहिलो पटक मेरो नामलाई खामबन्दि गरेर पठाइदिने व्यक्ति अमृत नै बन्नुभयो।

रमेश पौडेल दाईको  कार्यक्रम विम्ब प्रतिबिम्वमा मुक्तक, नविन दाहाल दाईको गजलगंगा र ईश्वर थापा दाईको कार्यक्रममा समेत मेरा रचनाहरु प्रसारण हुन थाले। यतिखेर म दश कक्षामा पढ्थे। पहिलोचोटि रेडियोमा नाम आएको दिन खुशिले मलाई राती अवेरसम्म निद लागेन। मान्छेका कति मिठा खुशी । कति ठुला चाहना।

भाउजु भावना क्षितिज आइसकेपछि हामी झन् रेडियोप्रेमी भएका थियौं। दाई भाउजुको पत्रमित्रताबाट बिहे भएको थियो। रेडियोबाट बिहे भएको भन्ने सुनेर गाउँमा धेरै मान्छे अचम्म पर्थे। भाउजुसँग पत्रमित्रताका किस्साहरु सुन्न खुब मज्जा लाग्थ्यो। धेरै साथिहरुका कुरा पढ्न पाए पनि नेपालभरिका साथीहरुलाई पत्र लेख्ने र हुलाकमा पठाउने चटारोका कारण आफ्नो पढाईमा समय कम हुने  कुरा भाउजुले बताउनुहुन्थ्यो।

बिहेपछि पनि मेरो बसाई माइती घरमा नै भयो। म माइती गाउँकै विद्यालयमा पढाउँथे। मेरो ठुलो छोरा जन्मेपछि दिनभरी  रेडियो सुन्दै छोरालाई स्याहार्दै बस्थे। अहिलेको जस्तो मोबाईल फोनको सुविधा भएको भए रेडियोको फोनिङ कार्यक्रममा फोन गरेर सहभागी भइन्थ्यो होला। खेतबारीको कामको चापले थाकेकी मेरी आमा कहिलेकाहीँ रिसाएर गन्गन् गरिरहनुहुन्थ्यो। आमाले रिसाएर बोलेको शव्द कानमा नपरोस् भनेर म बजिरहेको रेडियोको भोल्युम अझै ठुलो पारिदिन्थे१ अहिले पनि मेरो हृदयमा रेडियो प्रेम यति छ कि उसले बोलेको कुरा नै सबैभन्दा माथि देख्छु।

वास्तवमा रेडियो नै मेरो सपना निर्माणको पहिलो आधार हो। साहित्य, संगीत तथा समाज सेवा लगायतका विषयमा रुचि राख्ने, खोज गर्ने र अध्ययन गर्ने शिक्षा रेडियोले नै दियो। सानैदेखि रेडियो मेरो पहुँचमा हुँदैनथ्यो भने मेरो सिकाइको गति सुस्त हुने निश्चित थियो। मैले मेरो सिकाईलाई साक्षि राखेर भन्नु पर्दा बाल्यकालमा घरमा सुनाइने कुरा, पढिने पुस्तक र अभिभावकद्वारा समाजमा गरिने व्यवहारबाट नै एउटा बालकको स्वभाव निर्माण हुँदो रहेछ।

आजको विश्वव्यापिकरणको दुनियाँमा ज्ञान लिने र दिने संचारका माध्यमहरु प्रशस्तै छन्। तर सवै संचारका माध्यमहरुले सकारात्कम सन्देश दिन्छन् भन्न सकिदैन। सन्तानको असल र सुन्दर जीवन निर्माणको लागि अभिभावकको पर्याप्त र उचित निगरानी हुनु पनि उत्तिकै जरुरी छ। हामीले समय मिलाएर रेडियो लगायत सामाजिक सन्जालको उचित प्रयोग गर्‍यौं भने सहि ढंगले जीवन यापन गर्न आवश्यक सुचना र सन्देश लिन सकिन्छ। विएल नेपाली सेवा