“ए बुढो ! ला बाई…. म हिँडे”– उनले भनिन् ।
अवाक थिए रामलाल । के बोलुँ के नबोलुँको दोसाँधमा एकोहोरो अक्मकाए ।
कहाँको आधुनिक फेसनमा ठाँटिएकी केटी, कहाँको मैलो झुत्रो कपडामा बेरिएर साबेलले बालुवा उठाइरहेका रामलाल ।
“ला बाई बाई बुढो… ।” बस चढ्दै फेरि दोहो¥याइन् । हँसिली बोली । फरासिली मुहार ।
नगर बसका यात्रीहरु लेघ्रो तानी तानी रामलालतिर आँखा तेर्साए । आँखाका भावहरु प्रश्न गरिरहेका थिए– ‘यी अमिल्दा सक्खल पनि दम्पति ?’
यो घटना पोखरा नदीपुर कन्या क्याम्पस अगाडिको चार्ली ट्रेनिङ सेन्टर भएको घरको हो । घरको माथिल्लो तल्ला थप्ने काममा मजदुरी गरिरहेका थिए रामलाल । उनलाई सार्वजनिक रुपमै ‘बुढो’ घोषित गर्ने केटी सानुमाया गुरुङ असली ‘बुढी’ हैनिन् । उनी त त्यहाँ डुल्न मात्र आएकी थिइन् । उनी स्याङजाकी हुन भने रामलाल रोल्पाका मगर । मगर मिस्त्री काम गर्थे घरनिर्माणमा । निर्माणकार्यका ठेकेदार उनकै दाई साइनो पर्ने हुन ।
फेरि यस्तै तवरको अर्को घटना– बिरौटाचोक नजिकैको राममन्दिर पछाडि ।
निर्माणाधीन घरको दोस्रो तलामा इट्टा जोड्न जाबेलले मसला चलाइरहँदा रामलालका हात अचम्मैले सल्बलाइरहेका थिए । काममा निमग्न थिए उनी ।
“ए बुढो !”– यो अवाज उनको कानमा ठोक्कियो ।
सडक दायाँ बाँया आलिशान महल ठडिएका थिए । कुनै घरका दम्पतिका सम्वाद होला भनी ठानेर उनले खासै ध्यान दिएनन् । कामप्रतिको उनको एकाग्रता थियो ।
अघिल्लो पटक भन्दा केही तीखो आवाज आयो– “बुढो !”
काममा सल्बलाइरहेका हात रोकेर रामलालले आवाज आएतिर पुलुक्क नजर घुमाए । यताउति हेरे । वरपर आँखा घुमाए । कोही थिएनन् । पूनः कामप्रतिको उसको ध्याउन्न भयो ।
“बुढो !… ए बुढो !!”– फेरि उही आवाज । कता कता चिनेजस्तो स्वर थियो । रामलाल मनमनै अड्कल काढे– “उही नक्कलेनी गुरुङ्सेनी त हैनिन् ?” यस पटक रामलालले जानी जानी मुन्टो फर्काएनन् ।
“कस्ता बुढो हुन गाँठे, म मायाले मर्ने, ऊ काँडाले कोर्ने”– उही सानुमाया छिल्लिँदै भ¥याङनेरको कोठाबाट टुपुल्किइन् । गोलो अनुहार, बाटुला आँखामा बाटुलै खालको चश्मा । मिलेका उनका दन्तलहर अलि मास्तिरको हिमश्रृंखलाझैँ टल्कियो । सफा सुकिला र आधुनिक फेसनको पहिरनमा थिइन् । मात लगाउने जस्तो वासनादार पफ्र्युमको सुगन्धमा नारी गन्धको गुण बोकेर हावाले रामलालको नाकसम्मै पु¥याइदियो । यो सुवास पनि सानुमाया जस्तै चकचकी खालकोझैँ लाग्यो । रामलालको नशा नशामा अजीवरसको रक्तसञ्चार भयो । उनलाई परिबेश नै उथलपुथल भएझैँ लाग्यो । अग्लो माछापुछ«े पनि निहुरिएर आफुलाई चुम्न आएझैँ लाग्यो । भूगोलको छातीमा भासिएको सेतीका छालहरु पनि सतहमा उफ्रिएर उन्मत तरङ्ग फैलाउन आएझैँ लाग्यो । चाइनीज गुम्बा, सराङकोट र काँहुडाँडा पनि सानुमाया जस्तै फुत्रु फुत्रु नाचिरहेझै आभाष भयो रामलाललाई । अन्य गुरुङसेनीहरु भन्दा केही काली रंगकी ती केटीका खुल्ला कपाल पनि उनी जस्तै अराजक लाग्दथ्यो । रामलाल मनमनै मुर्मुराए–‘वहियातकी केटी… अरुलाई हावामा उडाउन मात्र जानेकी ।’
तर अभिब्यक्त चाहीँ गरेनन् । बरु सानुमायाकै तालमा लय मिलाए– “बुढीलाई कोर्ने काँडाघार फाँड्नलाई नै यो सब गरिरहेछु ।”
अर्थपूर्ण थियो रामलालको यो भनाई । यसलाई सानुमायाले कसरी बुझिन् उनी आफै जानुन् ।
“कति काम मात्र गरिराको बुढो ?”– फेरि मस्किन थालिन् ।
“काम नगरे त तिम्रो अनुहारमा घस्ने पाउडर केले किन्ने नि ?”
“आहा ! कति ज्ञानी बुढा हगि ?”
“ज्ञानी मात्र हैन दानी पनि छन हौ तिम्रो बुढा ।”
“… मैले त्यै भएर मन पराको”– सानुमायाले गीत पो गाउन थालिन् ।
“दानबाकस मात्र बसाल्नु न मैले के के दान गर्छु गर्छु । म त धर्मी मान्छे पो त ।”– मान्छेलाई तह लगाउन रामलाल पनि कहाँ कम थिए र ?
यो कुराले काम गर्ने साथीहरुबीच चर्को हाँसोको तरङ्ग फैलियो । सानुमाया भने आफ्नै गीतको धुनमा नाच्न पो थालिन् । उत्पट्याङ्वाली स्वभावकी थिइन् बाख्रापाठी जस्ती । आफ्नै भाषामा थपिन्– “ङा किलाई माया लोम हौ बुढो ।”
“ताई ताई ।”– सानुमायाकै भाषामा रामलालले जवाफ फर्काई मुस्कुराए ।
“पामेतिर जाम न घुम्न ।”– सानुमायाको चकचक ।
“लौ फसाद ! आज भोलि त डेटिङ अफर पनि केटीबाटै हुने चलन छ क्या ।”– रामलालको जवाफ ।
“साँच्चै जाम न देवरबाबु ।” उनकी आजी यानेकि ठेकदार पत्नीले पनि अनुरोध गरिन् ।
“गोजी ठण्डी छ भाउजु के जानु र ?”
“कि आँटले खान्छ कि दाँतले, मर्द भएर नि के डराको ?”– सानुमायाको चकचक छटाछुल्ल पोखिन थाल्यो– “त्यहाँ ठण्डी भए यहाँ गर्मी छ यहाँ ।” हत्केलाले छातीमा सँकेत गर्दै रामलाललाई हाँकै दिइन् । द्धैत अर्थको थियो यो भनाई ।
“यो ठण्डी मन त्यो गर्मीमा डुबुल्की मार्न नै जन्मेको हो नि त ।”– जस्तालाई तस्तै ढिँडालाई निस्तै ग¥यो रामलालले पनि ।
“हा हा हा … डुबुल्की त मार्नै पर्छ भाई ।”– नक्शा हेर्दै घरको पाटेशन आकलन नापिरहेका ठेकेदार पनि यो वाद सम्वादमा सामेल भए ।

कोही ङोलोहरुसित फ्रेसमुडमा गफ मार्थिन् । कोही ङोलोहरुलाई भिडियोकलमै नाचिदिन्थिन् । गाना सुनाइदिनु र नाचिदिनु त उनको नियमित क्रियाकलाप नै थियो ।
साँच्चै उनको स्वभाव दुनियाँमा देखिने र भित्री जिउने फरक फरक थिए ।

रामलालका चञ्चल ओँठ चल्यो– “यो मन जस्तो त्यो मन भए…।”
“यो मनले त्यो मनलाई छुन्न र पिरती लाउन मैले हुन्न र ।”– सानुमाया गीतबाटै जवाफ दिँदै फुत्रु फुत्रु नाच्न थालिन् । रामलाल पनि टुक्का थप्न थाले– “ए मैच्याङ नि लै लै …।”
यस्तै यस्तै कथा उपकथाहरु जोडिए ।
अनगिन्ति उनिएका थिए यस्तै उताउलो सम्वाद उपसम्वादहरु ।
निकै चकचकी स्वभावका थिइन् सानुमाया । उमेरले तीन दशकको घेरो नाघ्नै लाग्दा पनि चञ्चल थिइन् उनी । उनी बुझिनसक्नुकी थिइन् । साथीभाईको सँगतमा उत्पात मच्चाउन खप्पीस । ठुलाबडाका सामु परिपक्व ब्यवहार र दार्शनिककाझैँ उच्च विचार । एकान्तमा निकै भावुक मुद्रामा बस्ने । कहिले एक्लै एक्लै हाँसिरहेकी । कहिले गाइरहेकी, नाचिरहेकी । कहिलेकाहीँ मेसेञ्जरमा खुलस्त बोलिरहेकी । साथी पनि थरिथरिका– कोही देशभित्रका, कोही दुबई कतारबाट, कोही हङकङ युकेबाट, कोही इण्डियन लाहुरे । धेरै ठाउँका थिए उनका ङोलोहरु । कोही ङोलोहरुसँग मेसेञ्जरको भिडियोकलमा मुड्की र लात्ती देखाउँदै चर्को बोलीमा भनिरहेकी हुन्थिन्– “हानिदिउँ, भुक्लुक्क पारिदिउँ ?” एउटा मुर्तकृत लाडेपनामा हुन्थिन् । कोही ङोलोहरुसित फ्रेसमुडमा गफ मार्थिन् । कोही ङोलोहरुलाई भिडियोकलमै नाचिदिन्थिन् । गाना सुनाइदिनु र नाचिदिनु त उनको नियमित क्रियाकलाप नै थियो ।
साँच्चै उनको स्वभाव दुनियाँमा देखिने र भित्री जिउने फरक फरक थिए । अरुका सामु जति चकचक गरे पनि एकल दुकल साथीसँग अथवा कोठामा उनको बानीले ठीक एकसय असी डिग्रीको फन्को माथ्र्यो । गम्भीर र चुपचाप हुन्थिन् कोठामा । “म कुनै बेला डिप्रेशनमा थिएँ, डाक्टरले खुशी हुने वातावरण बनाएर हाँसिरहनु भनेको थियो ।”– कुनै साँझ रामलाललाई भनेकी थिइन्– “त्यै भएर म उत्पत्याङ गरिरहन्छु । दुःख नमान्नु होला दाई ।”
चुपचाप थिए रामलाल । ठेकदारको घरको कुनै साँझ थियो यो । ठेकेदार परिवार थिए । उनी थिइन् । र, रामलाल पनि । दुनियाँको सामु ‘बुढो’ भन्नेले अहिले गम्भीर र भावुक बनेर ‘दाई’ भनेर सम्बोधन गर्दै थिइन् ।
‘डिप्रेशन !?’– रामलालले यसबारे जान्न चाह्यो । तर असान्दर्भिक हुने अवस्थाले सोध्न पाएनन् । साँच्चै कौतुहलता जाग्यो । सानुमायाको बिगत के हो ? भोगाई के हो ? खासमा उनी को र के हुन् ? जान्न मन लाग्यो ।
उनीहरु कथनीमा हो, सिर्फ कथनीका बुढा– बुढी भए ।
कसरी ?
यसको किस्सा पनि रोमाञ्चक छ । म बताउँछु है त–
एउटा सञ्जोग थियो उनीहरुको भेट । न पूर्वनिर्धारित योजना न योजनाभित्रको घटना । एउटा आकस्मिकताको भेट थियो यो । रोल्पाबाट रामलाल त्यहाँ पुगेका थिए दाइकोमा काम गर्न भनेर । दाइ– भाउजुले घुम्न जाने प्रस्ताव गरेपछि उनले नाईनास्ती गरेनन् ।
भ्रमणदलमा रामलाल र उनका दाई भाउजु पछि चौथो ब्यक्ति उनै सानुमाया थिइन् । अमरसिँह चोकदेखि पौने घण्टाको ट्याक्सी यात्रापछि उनीहरु सराङ्कोट पुगेका थिए ।
सञ्जोगवश त्यस दिन भ्यालेन्टाइन्डे परेको थियो । तर उनीहरु यसको प्रभावले त्यहाँसम्म पुगेका हैनन् ।
गाडीबाट ओर्लेपछि उकालोको सिडीमा सबैका पाइला फटाफट चल्न थाल्यो । सिडीको दायाँ बाँया रेष्टुरेन्टहरु खुल्लै थिए । कुनै कुनैमा बिदेशी जोडी अँगालोमा बेरिएर बसेका थिए, शायद भ्यालेन्टनइन्डेको मन्द नशामा थिए । अलि माथि चौर वरिपरि हातमा रातो गुलाफ समाएका प्रणयरत केही जोडीहरु पनि देखिए । यी सब दृश्यलाई पछि पार्दै भ्युटावरमा पुगे उनीहरु ।
दिउँसो भएकोले आकाशमा तुँवालो थियो । सामुन्ने उभिएका माछापुछ«े र अन्नपूर्णा पनि मधुरो र धुमिल देखिन्थे, अगेनामा पुताइरहेका धुँवाबीच बसेकी कुनै बृद्धा जस्ता । एकाविहानै हुँदो हो त मनै लोभ्याउने कञ्चन र स्फटिक श्यामस्वेत हिमाल देखिन्थ्यो होला, कुनै कौमार्यत्वको उर्वशीझैँ । तल फेवाताल आँचलभरि बिशाल पानी बोकेर गजदम्म बसेको थियो । आकाशमा पुतलीजहाजहरु कराएका आवाज कानसम्म ठोक्किन आइपुग्थ्यो । हावाको बेग अलिक असन्तुलित भएर होला प्याराग्लाइडिङ पनि कमै उडेका देखिन्थे । घाम बिनाको सराङ्कोट चिसो हावामा बेरिएको थियो ।
चारैतिर दृष्टिगोचर गरे । सबैका दृश्यापानमा सिँगो पोखरा बजार र भूखण्ड अटाई नअटाई थियो । भूगोलका बनावत र अवस्थितिबारे नानाथरि बयान गरिए । ब्याख्या गरेर चिनाइए । पोखरा वरिपरि देखिने मनोरम प्राकृतिक छटा र मानवनिर्मित भब्य कृतिम संरचनाहरुलाई पनि आँखामा कैद गरे ।
“खै खै बुढा बुढीका फोटो मैले खिचिदिन्छु ।”– सानुमाया अघि सरिन् ।
ठेकेदार दम्पतिका केही पोज मोबाइलमा खिचिदिइन् ।
रामलाल पनि आफ्नो दाईसित उभिएर खिचे । क्लिक्क एक सेल्फी पनि लिए आफ्नै मोबाइलमा ।
“तिम्हरु पनि बुढाबुढी भएर खिच न ।”– ठेकेदार मुसु मुसु हाँस्न थाले ।
नौलो परिवेशमा रामलाल त्यति खुलेनन् । मनमनै सोँचे– ‘के भन्या होला यो बुढाले ।’
अघिदेखि नानाथरि बोलिरहेकी सानुमायाको लागि यो सुअवसर थियो ।
ठेकेदार पत्नीले पनि थपिन्– “खिच न खिच हामी जस्तै भएर ।”
“हो त है… ल ल खिच्नु न एक पोज ।”– सानुमाया यति बोलेर फराशिली पारामा रामलालको छेउँ उभिइन् । ठेकेदारले दुई हात फैलाएर दुबैलाई जोडिदिँदै भने– “अलि नजिक होऔ न… हा हा हा ।”
रामलाल अलि अप्ठ्यारो मान्दै बटारिएर उभिए । उनको भाउजुले प्रतिक्रिया दिइन्– “ह्या…. केटा मान्छे भएर नि के साह्रो लाज मानेको ?”
मोबाइल क्लिक्क भयो ।
“ल भाई हेर त, कति सुहाको ?”– फोटो देखाउँदै ठेकेदारले भने ।
मोबाइल स्क्रीनमा रामलाल र सानुमाया अर्धमुस्कानमा निर्निमेष हेरिरहेका देखिए ।
“अब तिमीहरु बुढाबुढी भइहाल्यौ ।”
“हो त आज त भ्यालेन्टाइन्डे हो नि ।”
त्यहाँ एउटा ठट्यौली लयमा उमँगित सामुहिक हाँसोको लहर चल्यो ।
यसै दिनदेखि रामलाल र सानुमाया बुढाबुढी बनेका थिए । फोटो खिचे लहलहैमा । बुढाबुढी पनि बने ठट्टैठट्टामा । भ्यालेन्टाइन्डेको त्यो दिन न एकले अर्कोलाई आइ लभ यु भनेर रातो गुलाफ दिएका थिए न एक अर्काको अँगालोमा बेरिएर प्रणयवाचा नै गरेका थिए । न त एकले अर्काको अस्तित्व र प्रेमलाई स्वीकारेर आत्मिक रुपदेखि फोटोको जस्तै एक नै बनेका थिए । एकले अर्काको दिलमा केही ठाउँ राखेका थिए त त्यो सिर्फ कहानीमा बलबलाको उपमा मात्र थियो– बुढा र बुढी ।
सानुमायाले त्यसै साँझ फेसबुकमा क्याप्सन बिना सराङ्कोटको फोटाहरु अपलोड गरिन् । खुलस्त चेहरामा उभिएका सामुहिक फोटाहरु थिए । जहाँ एकछेउँ रामलाल पनि उभिएका थिए । जमिन छाडी बुरुक्क उफ्रेर हावामा अडिएकी सानुमायाकी अर्को उताउला फोटो पनि थियो । उतेजक र घोचपेचका अनेकानेक कमेन्टहरुको एकैछिनमा चाङ लागेको थियो । कहावतका बुढाबुढी बनेका रामलाल र सानुमायाका युगल फोटो चाहीँ थिएन । तै तै उनीहरुका आँखाको वालमा भने अपलोड भइसकेको थियो ।
कहानी यतिमै सीमित रह्यो त ?
अहँ, होइन ।
यसरी शुरुवात भएको परिचयको आयतन अझ बढेर नै ठट्टाको सीमा पनि बिस्तार भएको हो । जो मैले माथि नै बताएँ ।
यस पछिका करिब तीन महिनाको अवधिमा सामान्य भेटघाट भइरह्यो । हेलो र हाईका कुरामा थप उताउलाका आकार पनि बिस्तार भए । ठट्टाका सेतीमा पानी धेरै बगिसकेको थियो । तर एक अर्काको गहिराईसम्म कहिल्यै पुगेनन् । सेतीझैँ गहिरिएर बगेनन् । बरु फेवाताल किनारका छाल जस्तै बाहिरी सतहमा नै एक अर्कोसित तरंगित भइरहे । किनारामा छालका तरंग हराएझैँ उनीहरु पनि छुट्टिएपछि आ– आफ्नै काममा निमग्न हुन्थे ।
एकाबिहानै उठ्नु, खाना तयार पार्नु, टिफिन बक्समा खाना प्याक गर्नु, खाजाकै रुपमा थोरै भात खानु, ठीक आठ बजे काममा पुग्नु, दिनभर काममा पसिना बगाउनु, साँझ ठीक पाँच बजे छुट्टीपछि सिधै कोठाभित्र छिर्नु, सपनाका वीचमा निद्रा घुर्नु, अर्को दिनको विहानदेखि पूनः उही प्रक्रिया दोहोरिनुमा बित्यो रामलालको दैनिकी । चौथो महिनाको कुनै दिन, सानुमाया आफैले फोनमा रामलाललाई ठेकदारकोमा आउन भनेकी थिइन् । अरु बेलाको जस्तो उताउलो बोली थिएन । कोमलो भावनाले भिजेका गम्भीर स्वर थियो ।
साँझ रामलाल ठेकदारसँग कोठामा छिरे । सानुमाया आफ्नी आजीसँग भान्छामा थिइन् । चियापछि सबै आ– आफ्ना ध्याउन्नमा लागे । बैठककोठामा बसेर मोबाइलमा फेसबुक चलाइरहेका रामलाल एक्लो थिए । यसै मेसोमा सानुमाया सम्मुखको कुर्चीमा बसिन् । बोलिन्– “के छ दाई ?” अरुबेलाकोझैँ ‘बुढो’ भनेर आज सम्बोधन गरिनन् ।
फिसिक्क हाँसेर रामलालले ठीक छ भन्ने जवाफ दिए ।
गम्भीर मुद्रामा थिइन् सानुमाया । अनुहारले देखायो, उनको कोमलो ठाउँमा ठुलो पीडाको भार छ । अरु बेलाकोझैँ चञ्चल आँखा र चकचके ओँठ थिएनन् यस पटक । बाटुला चश्माभित्रका उनका ठुला आँखा रसिलाझैँ देखिन्थे । सारमा भवनाको पोखरीबाट रुझेर भर्खरै बाहिर आएजस्ता अनुहार देखिन्थ्यो ।
“मैले तपाईसित कस्तो कस्तो कुरा गरेर जिस्किएँ है ।”–सानुमायाले आफै कुरोको पोयो बाटिन्– “पीर नमान्नुहोला है दाई ।”
“मैले पनि तपाईलाई कस्तरी उडाउँथे नि त कुरैकुरामा, … त्यसमा तपाइलाई पीर छ र ?”–रामलाल पनि बोले ।
“यी सब समय सन्दर्भका कुरा हुन, पीर छैन ।”– सानुमायाले लामो सास फेरिन् । केहीबेर चुपचाप रहिन् । लाग्यो, शुन्यतामा कतै वीलिन भइन् । नजर उठाउँदै मुख खोलिन्– “यी सब नाटक हुन मेरा… जिन्दगी आफैमा नाटक रहेछ । म आफुलाई बलजफ्ती खुशीमा राख्न जब्बरजस्ती हाँस्ने र हँसाउने प्रयत्नमा यसो गर्छु । मनको घाउलाई तैबिसेक पार्न बलपूर्वक आफुलाई यसरी उत्पत्याङमा प्रस्तुत गर्छु म । फुटेका भाग्यका ऐनालाई जोड्ने दुश्प्रयास गरिरहन्छु ।”
“फुटेका सिसा नजोडिएला तर टुटेका जिन्दगीको कर्म जरुर जोडिन्छ ।”–रामलाल पनि गम्भीर स्वरमा बोल्न थाले– “भाग्य त अलौकिक शक्तिबाट स्वतस्फुर्त बनेको हुँदैन, आफैले बनाउने हो, तर मैले त कुरा बुझिन नि ।”
“मैले बताएकै छैन कसरी बुझ्नुहुन्छ त ?”–सानुमाया ओँठ टोक्दै अझ गम्भीर देखिइन्– “तपाइले त मलाई उताउली केटीको रुपमा मात्र देख्नुभएको छ, मेरो भित्री कथा देख्नुभाको छैन ।”
रामलालले सकारसूचक मुन्टो हल्लाए । बोल्ने समय सानुमायाकै भागमा छाडिदिएर चुप रहे ।
“हेर्नुुस दाई, मेरो पनि खुशीको आफ्नै संसार थियो । उफ ! त्यो संसार भत्किएपछि खोक्रो बनेर म पनि भत्किएँ र पीडाको बिशाल पहाडमुनि थिचिएकी थिएँ । विबाह भएको पहिलो वर्षमै उहाँ बिदेशिनु भयो । दुबईमा राम्रो कमाइ थियो । खुशी परिवारको सुखी कल्पनामा थिएँ । अफशोच, त्यो कल्पना यथार्थतामा बदलिने सौभाग्य मिलेन । उहाँ….” केहीबेर रोकिइन् । रुमालले आँखा पुछिन् चश्मा हातमा लिएर । फेरि बोलिन्– “उहाँको एक्सडेन्टमा डेथ भएपछि मेरा सबै सपना सिसा फुटेझैँ चकनाचुर भयो । म संसारको त्यस्ती अभागीनी केटी हुँ, जसको सुखी विपना जिउने हैसियत छैन । तर म हरेश चाहीँ खान्न ।”
सानुमाया सुँक्क सुँक्क गर्न थालिन् । के भन्ने के नभन्नेको अवस्थामा स्थिर र जडझैँ भए रामलाल । तै पनि सान्त्वनाका केही शब्दले आफ्नो उपस्थितिको औचित्य दर्शाए– “पीर नगर्नुस बैना… पीर नगर्नुुस, शोक र पीडालाई बाँकी जीवन जिउने आधारको शक्तिमा बदल्नुपर्छ । सुख त सबैलाई कहाँ मिल्छ र ? अनि सधैँ दुःखै दुःख मात्र पनि कहाँ हुन्छ र जीवनमा ? जीवनमा आएका हर दुःख, दर्द र भोगाइलाई सकारात्मक सोँचमा बदल्नुपर्छ ।”
“त्यै भएर त यसरी जिइरहेकी छु नि त । मेरा देखिने स्वभाव एउटा छ, तर भित्री कहानी त अर्कै छ । मेरा चकचकी त आफुलाई खुशी मनोवलमा राख्ने बाहना मात्र हुन् ।”–केही शान्त देखिइन् । थपिन्– “अँ त्यसपछि पीडाको सागरमा डुबेर म संसार अन्धकार देख्न थालेँ । आँखा चिम्लन्छु, उनै फुर्तिलो रुप आउँछ । सास फेर्छु, उनैको सुन्दर रुप सासमा अड्किन्छ । न खानाको रुची न चयनको क्षण, न त रातमा निद्रा न त दिनमा शान्ति । साँच्चै हर क्षण हर पल उनैको यादमा एकोहोरिएर संसारदेखि निरपेक्ष बन्न थालेँ । म डिप्रेशनको शिकार भएँ । डाक्टरले जसरी हुन्छ हाँसी खुशी रहने उपाय रचेर जिउन सिकाएपछि यसो भएकी हुँ । मेसेञ्जरको अडियोकलमा, भिडियोकलमा, फोन सम्वादमा म जे क्रियाकलाप गरिरहेकी तपाइले देख्नु भएको छ नि, हो, यी सब मेरा बनावती नाटक हुन् । यसैमा हराएर म आफुलाई जब्बरजस्ती हँसाइरहेकी हुन्छु । यसले मनको घाउलाई केही मत्थर पार्छ । तर यसो भन्दैमा मेरो बयक्तिगत कर्तब्य पनि भुलिरहेकी हुन्न म ।”
“मान्छेहरु जीवनदेखि हारेर आत्महत्याको बाटो रोज्छन्, त्यस्ताहरुको लागि तपाइको तरिका निकै शिक्षाप्रद छ । हो त नि जीवनको बाटो साँेचेजस्तो सहज र सरल हुँदैन नै । दुर्घटना हुन सक्छन्, ठक्कर लाग्न सक्छ, तर त्यबाट निराशा हैन यसरी नै आशावादी भएर बाँच्नु पर्छ । भविष्यको सुन्दर आशा र भरोसामा नै मानव समाज अडिएको छ ।”– थाहै नपाई रामलाल पनि जीवन दर्शन पो ब्याख्या गर्न थाले ।
यसपटकको उपकथामा एकले अर्कोलाई सकारात्मक ढाडस दिएर निकैबेरसम्म गफिए । उनीहरु एकापसको अँगालोमा त बेरिएनन् तथापि उनका विचार र तर्कका अन्तर्यहरु चाहीँ एकीकृत अँगालोमा बेरिए ।
करिब आधाघण्टाको भावुक सम्वादपछि सानुमायाले भनेकी थिइन्– “केही समय त घरै बसेँ । मेरो जिन्दगी आफ्नो लय भन्दा बाहिर भड्किसकेको थियो । फर्केर माइत आएँ ।”
“स्याङजा ?”–रामलालको जिज्ञासा ।
“हैन । उतै बुटवाल । बुवाहरु बुटवल बसाईँ सरेर घर बनाएको त धेरै भो त । उहीँ हुर्के बढेँ । उहीँबाट नजिकै खैरेनीपुर बिहे गरेकी थिएँ नि त ।”
“अनि यहाँँ ?”
“जोडा नभएपछि हेलाहारी भईदोरहेछ । उमेरले म भन्दा धेरै बुढोसँग जबरजस्त बिहे गराइदिए । पुग नपुग एक वर्ष जति बसेँ । पहिलेको घरवार जस्तो कहाँ हुन्थ्यो र ? बिरक्तिएर म यहाँ आएँ । मिनरल वाटरको फ्याक्ट्रीमा काम गर्छु । त्यहाँ पनि छाडेर जान लागेकीले तपाइलाई बोलाएकी हुँ ।”– सानुमायाको अनुहारमा फेरि बादल मडारिन लाग्यो ।
“अब कता जानुहुन्छ नि ?”– रामलालले मन भारी बनाएर सोधे ।
“उतै जान्छु बुवाआमाकोमा ।”
दुबै निकै बेरसम्म पनि मौन बसे । कोठाको हावा जस्तै शान्त र चुपचाप रहे । लाग्थ्यो, अब्यक्त साइनो मौनताको भाषामा कतै लिपीबद्ध हुँदै छ ।
“मेसेञ्जरमा भिडियो कलिङ भइहाल्छ नि ।”– सानुमायाले आफै मौनता तोडिन् ।
“अनि बुढाबुढीमा परालको आगो अब बल्ला र ?” आफुलाई स्वभाबिक पार्ने बाहनामा रामलाल पनि फिसिक्क हाँसे ।
“भिडियोकल र फेस टु फेस बोल्नुमा फरकपना चाहीँ हुन्छ नै ।”
“हो र ?”–रामलाल बोले– “कसरी ?”
“यसको जवाफ शब्दमा छैन ।”– सानुमायाको उतर ।
फेरि मौन र गम्भीर भएर आँखा भुईँमा झुकाइरहे । शब्दवीहिन र अवाक बने ।

२९ श्रावण २०७७
घोराही, दाङ ।