१८असार, राेल्पा । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा पूर्वमन्त्री अमरसिंह पुनले दावी गरेका छन्।

१४ औं महाधिवेशनको तिथि नजिकिँदै जाँदा रोल्पा सभापतिसमेत रहेका पुनले आफू पनि प्रदेश सभापति पदको आंकाक्षी भएको स्पष्ट पारेका हुन्।

महाधिवेशनको सरगर्मी बढेसँगै कांग्रेस नेताहरूले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहको विभिन्न पदमा आ–आफ्नो उम्मेदवारी दावी गर्न शुरु गरेका छन्।

शीर्ष नेताहरूसँगको भेटवार्तापछि बुटवल आएका पूर्वमन्त्री पुनले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको संगठनमा उर्जा थप्न आफू सभापति हुनुपर्ने बताएका छन्।

‘तल्लो तहबाट काम गरेर आएको इमान्दार कार्यकर्ता हुँ। युद्वले छिया–छिया बनाएको रोल्पा जिल्लाको संगठनलाई माथि उठाउने काम गरे,’ रोल्पा सभापति पुनले भने, ‘युद्वताका माओवादीबाट संगठन बनाउँदा रोल्पामा दुःख भोगे, संघर्ष गरे। यसकारण पनि लुम्बिनीका सबै नेता/कार्यकर्ताको भावना मैले समेट्न सक्छु। स्वभाविक रुपमा प्रदेश सभापतिको उम्मेदवार हुँ।’

कांग्रेसभित्रको युवा पुस्तामा लोकप्रिय मानिने पूर्वमन्त्री पुनलाई कोइराला परिवार, वरिष्ठ नेता रामचन्द्र पौडेल, युवा नेताहरू चन्द्र भण्डारी, गगन थापाको समर्थन रहेको उनीनिकट स्रोतले बताएको छ। पछिल्लोपल्ट लुम्बिनीका जिल्ला-जिल्लामा पुगेर उनले नेता/कार्यकर्तासँग संवाद गर्ने अभियान थालेका छन्।

लुम्बिनी प्रदेशका प्रायः जिल्लामा माओवादी युद्वको समयमा संठनमा खटेर लागेका नेता/कार्यकर्तामाथि दुःख दिने काम गरेको उनको भनाइ छ। उनले भने, ‘युद्वको नाममा माओवादीबाट लुम्बिनी प्रदेशलाई पछाडि पार्ने काम गरियो। कांग्रेसको संगठनसँगै प्रदेशको विकास पनि गर्नुछ।’