संघीय संरचनाअनुरुप नेपालको ५ नं. प्रदेशकै प्रमुख धार्मिक तिर्थस्थलहरुमध्ये जलजला एक महत्वपूर्ण तिर्थस्थल हो ।

जलजला वास्तवमा रोल्पाको ऐतिहासिक पर्यटकीय तथा धार्मिक स्थल एवं जिल्लाकै पहिचान हो । रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका र थबाङ गाउँपालिकाको साझा भू–भागमा अवस्थित रहेको छ । जलजलाले मानव जीवनकै ऐतिहासिक पृष्ठभूमि बोकेको अवस्था छ । सुमन्द्र सहतबाट लगभग ३ हजार १ सय ९३ मिटर उचाइमा अवस्थित रहेको छ ।

प्रकृतिप्रेमीहरुको लागि एउटा सुन्दर चित्रमाला र प्रकृतिको एक अदभूत सुन्दरताले भरिपूर्ण बगैँचाले भौगोलिक आनन्दताको आभाष दिन्छ । जलजला पहाडको मनोरम दृश्यहरुको मधुुर मुस्कानले जो कोहीलाई पनि मोहित बनाइरहेको हुन्छ । यहाँ सुन, हिरा, तामा, फलाम, सिमेन्ट ढुंगा, सिंगमरको ढुंगा, शिलालेखमा प्रयोग गरिने ढुंगा खारे लगायतका बहुमूल्य खनिज पदार्थ तथा धातुहरु रहेका छन् । जलजला वास्तवमा धार्मिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक रुपले प्रशिद्ध छ । धार्मिक रुपमा बराह देवताको वैशाख पूर्णिमा, जेष्ठ शुक्ल पूर्णिमा र श्रावण पूर्णिमाको दिन पुजाआजा गर्नुको साथै धार्मिक मेला एवं जात्रा लाग्दै आएको छ ।

महत्वः
जलजला खासगरी धार्मिक, प्राकृतिक र सामाजिक सांस्कृतिक दृष्टिकोणबाट महत्वपूर्ण मानिन्छ । सदियौंदेखि पुर्खाहरुले जलजला भन्ने ठाउँमा बराह र बजुको संयुक्त पुजा गर्दथे र त्यो सिलसिला अहिले झन् बढेको छ । बराह बाह्रवटा छन् भने बजुहरु अठारवटा छन् । जसमा आठवटा बराहरुको नाम धातुुबाट राखिएको छ । जस्तै सुुुन, चाँदी, तामा, पित्तल, फलाम, सीसाजस्ता र पारो यहिँ आठवटा बराहको साथमा भ्रमणका लागि सेता, कैलु, तमासे र मैलु गरी चारभाइ थपिए बाह्र भाइ बराह बनेको विश्वास गरिन्छ ।

जलजलामा बराह र बजुको जेष्ठ पूर्णिमा र साउन पूर्णिमामा भव्य रुपले पुजा हुँदै आइरहेको छ । जेठ महिनामा चाँदी अर्थात् सुनबराहको मात्रै पुजा गरिन्छ । प्रत्येक वर्ष ऋषि पूर्णिमाका दिन जलजलामा बाह्रभाइ बराह र १७ बहिनी बजुहरुको धुमधामले पुजा गरिन्छ । जसमा एक बहिनी मालङ्गिनी बजुले अभक्ष खाएकाले जलजलामा जान नदिएकोले छुटै पुजा गरेको भन्ने परम्परागत विश्वास छ यी बजुले मानिसलाई समाइन् भने ‘बौ’ लाउँछन् भन्ने विश्वास अहिले पनि छ । बजुहरुलाई बलिका रुपमा भेडा चढाइन्छ । अरु बजुहरुको पनि पुजा गरिन्छ । यसमा जलजलामा बराह र बजुको पुजा गर्नको लागि थबाङ गाउँका रोकामगर र झाँक्री मगरले पुजाराको अतिभार लिन्छन् । खासगरी झाँक्री थानमा झाँक्री मगरले र अन्यमा रोका मगरले पुजारीको काम गर्दछन् । यी पुजारीहरु अघिल्लो दिन शुद्ध खानुपर्छ भन्ने मान्यताअनुसरा शुद्ध खाना खाने गर्दछन् ।

जलजलाको बराह र बजुको मन्दिरमा सन्तान माग्न पशुपंक्षीको बढोत्तरी दोष भनि वरदान माग्ने अन्ततः मनमा सोचेको इच्छा पुरा गर्ने देवताको रुपमा चिनिन्छन् । यही मनोकांक्षा पुरा हुने विश्वासमा जिल्ला भित्रका जिल्ला बाहिर र भारतबाट समेत श्रद्धालु भक्तजनहरु आउने गर्दछन् । बराहको आशीर्वादबाट जन्मिएको छोरालाई वर्मन भन्ने चलन छ । बराहको पुजा दुई विधिबाट गरिन्छ । एउटा तान्त्रिक विधि, अर्को वैद्धिक विधि । दाङ जिल्लाको बाह्रकुने दहमा वैद्धिक विधिबाट पुजा गरिन्छ । जलजलामा तािन्त्रक विधिबाट पुजा गरिन्छ । यसरी बराह देवता दाङको बाह्रकुने हुँदै रिहारमा माघ महिनामा पुजा गरिन्छ ।

माघ महिना भरिमा रिडिमा स्नान गर्ने चलन थियो । रिडिपछि बराहहरु घुम्दै पोखराको ताल बराही दमौलि नजिकै छाढदीवराही, ढोरवराह एवं काठमाडौँको धुम्बराही बजáराही आदि स्थानमा पुजा गरिन्छ । यसरी भ्रमण गर्दै यी ठाउँमा वातावरण अनुकुल स्थानमा पुजा गरिन्छ । यसरी भ्रमण गर्दै ठाउँमा वातावरण अनुकुल नभएकाले बराहहरु जलजलामा नै फर्किन्छन् भन्ने विश्वास छ । यसरी अध्ययन गर्दा जलजलामा नै बराह देवताको उद्गमस्थल र अन्यत्र ठाउँ यहीँबाट गएको त्यसैले जलजलाको थप महत्व छ ।

जलजलामा श्रावण पूर्णिमापछि पुजा हुँदैन र जति पनि अन्यत्र बराहको पुजा हुन्छ यो श्रावण पूर्णिमा भन्दा पछाडि हुन्छ । जस्तै मिझिङमा पौष अनि ब्राहकुने र रिहारमा माघ महिनामा अर्को तथ्यको रुपमा हेर्दा जहासुकै भएपनि बराह पुज्दाखेरी बखान गर्दा उत्तरा खण्ड, जलजले, जलथल, भामाओढार भन्ने प्रचलन छ । यसले पनि थप के स्पष्ट हुन्छ भने जलजला शक्तिको प्रतिक बराह देवता बीच अन्यायोश्रित सम्बन्ध छ ।

जलजलाको प्राकृतिक महत्व पनि कम छैन । यस जलजलामा थलथल गर्ने जमिन पनि आकर्षक छ । ऐतिहासिक प्राचिन ओडार भामा ओडार, भामा गुफा थप आकर्षकको रुपमा रहेको छ । भामा ओडार करिब ३० मिटर लामो रहेको छ । उक्त ओडारभित्र दर्शन गर्नको लागि पहिला—पहिला भांग बालेर जाने गरिन्थ्यो भने अहिले टर्चलाइट बालेर जाने गरिन्छ । त्यो ओडार नै बराह देवताको बासस्थान रहेको छ, जसलाई मूलथान पहिला त्यही भएको धार्मिक कथन रहेको छ ।

त्यही ओडार अहिले भामा गुुफा भई सन्तान माग्नेहरुको भिड लाग्दछ । पात पतिंगर ओछ्याई मानव जाति बसेको अनुमान गर्न सकिन्छ । भामा ओडार प्राकृतिक प्रकोप आदिले अहिले सानो भएको हुनसक्छ । यसबाट के स्पष्ट हुन्छ भने मानवजाति घुमन्ते फिरन्ते जीवनकालमा यस ओडारलाई घरको रुपमा प्रयोग गरेको र त्यो संस्कार परापूर्व कालदेखि सम्झना स्वरुप अहिलेसम्म चल्दै आएको अनुमान लगाउन सकिन्छ । पहिला मानिसले घर बनाउँदैन थिए । ओडारमा बस्थे त्यसैले भामा ओडार पहिला घर नै हुनुपर्दछ । यसर्थ भामा ओडार र मानव जातिको नङ र मासुको सम्बन्ध पूर्खाहरुको आश्रयस्थलको रुपमा रहेको हुनसक्छ भन्ने अनुमान लगाउन सकिन्छ ।

सप्तरंगमा फुल्ने गुराँसका फूलहरु विशाल घाँसेमैदानमा सयौँ थरिका मौसमी रंगीविरंगी फूलहरुको बेग्लै प्राकृतिक आनन्द लिन सकिन्छ । जनावरहरुमा कस्तुरी मृग, बदेल, विश्वमा दुर्लभ मानिने हाके, निगालो पोन्य बासस्थान रहेको छ । जडिबुडिहरुमा यार्सा गुम्बा, लो–सल्ला गोनोधर्मा, पँन्युच्याउ, सुगन्धावाल आदि थप आकर्षक हुन यस जलजला धरमपानीबाट रुकुम पूर्वको पुथा र सिस्ने हिमाल उत्तरतर्पm पूर्व तर्फ अन्नपूर्ण र धौलागिरी हिमश्रृंखलाहरुको शानदार दृश्य अवलोकन गर्न सकिन्छ ।
सामाजिक सांस्कृतिक पक्षबाट पनि जलजलाको असीमित महत्व रहेको छ । पुजा गर्नको लागि सबै जातजाति सबै उमेर महिला पुरुष अनि हरेक क्षेत्रबाट मानिसहरुको घुइँचो लाग्दछ ।

जलजलामा भेडा, साँढाको वलि दिँदा जो कसैले पनि सबैभन्दा पहिला वलि दिन सक्छन् । यसमा जसले बढि रकम भेटी चढाउँछन् उसले सबैभन्दा पहिले वलि दिन्छन् । यसको अर्थ प्रत्येक वर्ष फरक व्यक्तिले वलि दिन्छन् । यस प्रक्रियाबाट दुई अर्थ लगाउन सकिन्छ पहिलो रुपैयाँ आर्जन गर्नको लागि उत्पादनमा जोडदिन प्रेरित गर्दछ भने अर्को मेला व्यवस्थापनको लागि रुपैयाँ जम्मा गर्ने वा जलजलाको कोष वृद्धि गर्ने । समग्रमा बराह देवता सबैको साझा हुन् भन्ने स्पष्ट अर्थ लगाउन सकिन्छ । अर्को चाख लाग्दो प्रचलन के छ भन्दा वलिको रुपमा भेडा चढाइन्छ । जतिजति उत्तरतिर गयो त्यति नै बढि भेडा पाल्ने चलन छ ।

त्यसैले गर्दा भेडाको बथान पाइन्छ । भेडाहरु वलि दिनुको महत्व तीनवटा हुनसक्छ । प्रथम स्थानीय स्रोत साधनको अधिक प्रयोग द्धितीय भेडाहरुको संख्या वृद्धि भएमा मानवजातिको बालीनाली नोक्सान पार्ने र बोटविरुवालाई समेत नोक्सान पार्ने भएकाले प्राकृतिक वातावरणलाई सन्तुलन जोगाउन, तृतीय वलि दिइएको भेडाको मासु उपभोग गरी मानवले प्रोटिन युक्त आहार प्राप्त गर्न । यसले गर्दा पनि यस जलजलाको सामाजिक सांस्कृतिक महत्व त्यतिकै छ भन्न सकिन्छ । जलजलाको मेलामा धेरै मानिसको जमघट हुने भएकोले एक अर्काप्रति सद्भाव सहिष्णुता अनि संस्कृतिको आदान प्रदान पनि हुन्छ ।

रोल्पा जिल्लाको थबाङ गाउँ एसियाकै चिर्चित गाउँ हो । राजनैतिक रुपले कम्युनिष्टको उर्वर गाउँ हो । नेपालको राजनीतिमा धेरै पटक पूर्णरुपमा चुनाव बहिस्कार गरेको गाउँ हो । चाख लाग्ने कुरा यो हो की यसै गाउँका रोकामगर र झाँक्रीमगर जलजलाका बराहका पुजारी छन् । अनि दशवर्ष युद्धमा पनि जलजलाको पुजा हुन छोडेन ।

यस क्षेत्रका मानिसहरु कम्युनिष्ट विचार धारातिर आकर्षित छन् भने अर्कोतिर जलजलाको बराह र बजु देवताको हार्दिकता साथ आत्मीय रुपले पुजा गर्दछन् । यसबाट के स्पष्ट हुन्छ भने सामाजिक र सांस्कृतिक रुपमा बराह र बजुप्रति कति समर्पित छन् अनि कति धेरै आस्था राख्दछन् । यसको अर्थ हो बराह देवतालाई अत्यन्तै उच्च कोटिको रुपमा सम्मान गर्नु । यो चानचुने कुरा होइन । यसमा धेरै इतिहास लुकेको हुनुपर्छ । यसको गहन अध्ययन र अनुसन्धान हुन जरुरी छ ।

तस्बिर: आलोक कुमार शाह