आमा ! त्यो दिन
मलाई अझै पनि याद छ
तिमी साह्रै दुखी थियौ
भावबिह्वल थियौ
आँखामा वेदनाको मूल फुटाएर
घाइते पन्छीझैँ यताउती
छट्पटाउँदै थियौ
लाग्थ्यो,
तिमीलाई भोलिको कुनै वास्ता छैन
केवल,
अतितले तिमीलाई पिरोलिरहेको छ
वर्तमानको पिडाले
तिमी जिउँदो लास झैँ भएकी थियौ
अग्निलाई साक्षी राख्दै
सात जुनिसम्म पनि नछुटिने
प्रण गरेको तिम्रो जीवन साथी
जुन दिन,
तिमीलाई एक्लै पारी
यो धर्ती छोडेर गएका थिए।

हो आमा! याद छ मलाई
त्यो बेला तिम्रो आँसु पुछ्दै
म छु नि! भन्दै तिमीलाई
सहानुभूति दिएकी थिएँ
बुवाका अधुरा कसम
म पूरा गर्छु भनेकी थिएँ
तिम्रो साहारा बन्ने आँट लिँदै
बाउको बिँडो थाम्न चाहन्थेँ
तर, मैले सोचेझैँ केही भएन
किनकि, मलाई बाँच्न दिएनन् आमा!

हृदयभरी पारिवारिक चिन्ता अनि
काँधमा थपिएको कार्यभार बोकी
उज्ज्वल भविष्यमा लिप्त सपना
मनमा परिवर्तनको अनौठो ध्वनि गुन्जाउँदै
तैँले र मैले धेरै परको
लामो यात्रा तय गरेका थियौँ
तर, आधा बाटोमै मेरो यात्रा टुंगियो
किनकि, मलाई बाँच्न दिएनन् जुनेली!!

एक्लोपनको फाइदा लिँदै
मेरो बाटो छेक्न तम्से
फकाउन खोजे, मैले मानिनँ
दुईचारवटा मिठा–मिठा
गफमा भुलाउन खोजे, म भुलिनँ
धनको धस्सी उडाउँदैथे, मैले पत्याइन
जसरी हुन्छ,
म उम्कन खोजेँ
म भाग्न खोजेँ
म फुत्कन खोजेँ
अन्तमा,
मलाई जबर्जस्ती लछारेरै छोडे
सकिनसकी भुइँमा पछारेरै छोडे।

आमा! आमा!! आमा!!!
बचाउको आवाज फिजाउँदै
सकेजती हारगुहार मागेँ
चिच्याएँ, कराएँ
मेरो चिच्याहटले
त्यो सुनसान वन गुन्ज्जिरहेको थियो
मेरो गुहारका शब्दले
चराहरुका चिरबिरलाई जित्दैथ्यो
जब–जब,
मेरो इज्जत, अस्मिता र सास बचाउनका लागि
उनीहरू माथि मैले प्रतिकार गर्दथेँ
तब–तब मेरो अस्मिता
झन बढी लुटिँदैथ्यो
मेरो इज्जत खोसिँदैथ्यो
मेरो सास निचोरिँदैथ्यो
त्यो दुखाइको पिडा
खेप्दा–खेप्दा म थाकेँ ।
तर, ती दुष्टहरु
पापीहरु
अपराधीहरु
बलत्कारीहरु मलाई लुछ्न थाकेनन्
झन् धेरै आक्रामक बन्दै गए
बाँच्ने र बच्ने, हरप्रयास गर्दा गर्दै पनि
म बाँच्न पाइन,
मलाई बाँच्न दिएनन् दिदी !!!

मलाई थाहा छ आमा
सदाझैँ आज पनि
तिमी मेरो बाटो कुर्दै हौली
भाइ बहिनीले दिदी अनि दाइले
बहिनी खोज्दै होलान्
जुनेली मेरो अभावमा भक्कानिदै होली
सबै कुरा बुझेर पनि
म तिमीहरूको सामुन्ने आउन सक्दिनँ
किनकी,
एउटा घना जंगलको बिचमा लिएर
मलाई ब्वाँसोहरुले धुजाधुजा पारी
खाइसकेका छन्
मलाई रित्याइसकेका छन्
सुन्दा तिमीहरूलाई
यो कुरा तितो हुनसक्छ
तर,सत्य यही हो कि
मेरो चरित्र हत्या मात्र नभएर
मलाई पनि मारेर फालिदिए
आमा, मलाई बाँच्न दिएनन्!!!

म आफू बाँच्न चाहन्थेँ
मेरो अस्मिता बचाउन चाहन्थेँ
मनमा अनगिन्ती सपनाहरू सजाएकी थेँ
सुन्दर भविष्यको खोजीमा
निरन्तर पाइला सार्दै थिएँ
रमाइलो जिन्दगीको महशुस गर्दै
असिमित सफर तय गरिरहेकी थिएँ
सम्पूर्ण चाहाना, इच्छा सपना र कल्पनालाई
एक झट्कामै अधुरो पारिदिए
मेरा सपना छिनभरमै मारिदिए
चौतर्फी अँध्यारो छायो
कालो बादलले वर्षाको झरी बर्सायो
म कहालिएँ
म निशब्द भएँ
म निदाएँ
म रहिन
म गएँ आमा
मलाई बाँच्न दिएनन्

आमा
दिदी बहिनी
मेरी साथी जुनेली
मेरो हत्याको खबरले शोकाकुल भएर
शान्त भयौ भने
अब पनि
तिमीहरू आँखामा पट्टी बाँधेर बस्यौ भने
कानमा तेल हालेर बहिरो बन्न खोज्यौ भने
आफ्ना आवाजमा प्रतिबन्ध लगायौ भने
म जस्ता लुटिएका
बलात्कृत हुनुपरेका
मारिएका छोरीको
न्याय र निसाफको लागि आवाज बुलन्द गरेनौ भने
ती पापीहरु खुलेआम रमाइरहने छन्
ती गिद्धे नजरहरु अरु छोरीमाथि गाडिने छन्
म जस्ता हजारौं छोरीले
मैलेझैँ बलत्कृत हुनुपर्ने छ
यस्तै पिडा खेप्नु पर्ने छ
मैलेझै मृत्यु सहनु पर्ने छ
फेरि पनि घटना दोहोरिने छ