झट्टा हेर्दा ‘काठमाडौं’ जस्तै देखिने, डुल्दै जाँदा जतात्यतै नेपाली भेटिने ‘मोगोक’ म्यान्मारको पहाडी उपत्यका हो। यो ठाउँलाई ‘बर्माको सानो नेपाल’ भनेर चिनिन्छ।

‘मोगोक’मा नेपालीको बाक्लो उपस्थिति छ। यहाँ नेपालीहरू बसोबास गर्न थालेको, सन् १८८५ देखि हो। माण्डले शहरबाट ११ गोर्खा सैनिक सबैभन्दा पहिले मोगोक पुगेका थिए। त्यही समयदेखि नेपालीको उपस्थिति यहाँ रहन थालेको हो।

सन् १९४२ को दोस्रो विश्व युद्धताका जापानविरूद्ध लड्न धेरै गोर्खा सैनिक म्यान्मार पुगे।

भारतको कोलकताबाट हवाईमार्ग हुँदै म्यान्मारको पुरानो राजधानी रंगुन आउन सकिन्छ। स्थलमार्गको प्रयोग गर्दा भारतको सिलिगुडी, मणिपुर, इम्फाल हुँदै म्यान्मार प्रवेश गर्न सकिन्छ।

म्यान्मारमा सैनिकसँग जोडिएको नेपालको गर्विलो इतिहास छ। तर, यतिबेला नेपालीभाषी पनि सैन्य ‘कू’ विरूद्ध आन्दोलित भएका छन्।

म्यान्माली सरकारले नेपालीभाषीलाई जनजाति जतिकै अधिकार दिएको छ।

राजनीतिक संकटका कारण देशभर तनाबैतनाब छ। राष्ट्रपिता जनरल आङ सान र गोर्खालीबीच फरक सम्बन्ध छ। आङ सानले नै सन्धि गरेर गोर्खालीलाई म्यान्मारमा बसाएका हुन्।

एक लाख ६६ हजार जनसंख्या रहेको मोगोकमा ३५ हजार घरधुरी छन्। यहाँ नेपालीभाषी चानचुन २० हजार बसोबास गर्छन। मोगोकमा करिब ४ हजार घरधुरी नेपालीको छ। जसमा २८ वटा नेपाली गाउँ मोगोकमै रहेको छ।

यहाँ बस्ने नेपालीभाषीले आफ्नो परम्परा र संस्कृतिलाई बिर्सिएका छैनन्। मोगोकका अधिकांश नेपाली खेती, किसानी र रुबीको व्यापार गर्छन। नेपालीभाषीका घरघरमा तुलसीका बोट, मठ–मन्दिर र गाउँ–गाउँमा नेपाली परम्परा जतात्यतै देख्न पाइन्छ।

मोगोकमा २८ हिन्दु मठ–मन्दिर छन्। मोगोकलाई चारैतिर जंगलले घेरेको छ। हेर्दा ठयाक्कै काठमाडौं उपत्यका जस्तो लाग्ने यो शहरको वैभव देखेर नलोभिने सायदै कोही होला।

म्यान्मारका नेपालीहरू दशैं, तिहार र तीज भब्य रूपमा मनाउने गर्छन। जता पुगेपनि नेपाली नै नेपाली भेटिन्छन्– मोगोकका गाउँ–ठाउँमा।

मोगोकमा नेपाली बसोबास गर्न थालेको सय बर्ष नाघिसकेको छ। अहिले म्यान्मारमा पाँचौ पुस्ताका नेपालीभाषी छन्। विएल नेपाली सेवाबाट साभार