नेपालमा प्रतिनिधिसभा पुनर्स्थापनापछि जे जस्ता दृश्य/परिदृश्य देखिएका छन्, त्यसले नेपालमा मूल्य, मान्यता र नैतिकताको त कुरै छोडौं, लाज-शरम पनि सकिएको संकेत गरेको छ।

मेरा पिताजी भन्ने गर्नुहुन्थ्यो, ‘लबस्तराको ओखती हुदैन। छोप्नुपर्ने अंग देखाएर हिडेपछि देखिनुपर्ने र नदेखिनुपर्ने अंग सरोबरी हुन्छ। त्यसपछि त लाज-शरम नै लजाएर भाग्छ।‘

हुन पनि हो रहेछ, जब मान्छेमा कुनै लाज-शरम नै हुदैन, त्यसपछि त जे भने पनि हुने रहेछ, जसो गरे पनि हुने रहेछ। खासगरी नेपालको राजनीतिक वृतका अधिकांश मान्छेको लाज-शरम सकिएको रहेछ। पछिल्ला दृश्य/परिदृश्य त्यही सत्यको साक्षी किनारा बसेका छन्।

यो पंक्तिकार अहिले नेपालमा सबैभन्दा लाजशरम पचाएका मानिस सम्माननीय खड्गप्रसाद शर्मा ओली हुन् भन्ने ठान्दछ। भलै उनी नेपालका प्रधानमन्त्री हुन् र यो पदमा जो बसे पनि उसलाई सम्माननीय भन्ने सनातनी छ। कानुनत: भन्नैपर्ने नपरे पनि  सनातनी ‘प्रोटोकल’मा सम्मानीय भन्नुपर्ने हुन्छ।

तर, पत्रकारिता सनातनी भाषामा गरिदैन। मिडियाका आ-आफ्नै हाउस स्टाइल हुन्छन्, त्यसैको आधारमा आफ्ना पाठकलाई सहज सञ्चार गर्ने कोणबाट बोलीचालीको भाषामा लेख्ने/बोल्ने गरिन्छ। यही क्रममा नेपालका अधिकांश मिडियामा तिमी चलेको हो, गोरखापत्रलगायतका सरकारी र हातका औलामा गन्न सकिने निजी क्षेत्रका सञ्चार माध्यम अझै पनि तपाईं चलाइरहेका छन्। यसमा सबैभन्दा धेरै आपत्ति सम्माननीय खड्गप्रसाद शर्मा ओलीलाई नै छ। उनले एकपटक हैन, धेरै पटक मिडियाको भाषामाथि आपति जनाइसकेका छन्।

प्रसंग सम्माननीय खड्गप्रसाद शर्मा ओलीलाई लाजशरम नभएको हो। पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर त्यसपछिका ६६ दिन वैशाख १७ र २७ मा चुनाव गर्ने नाममा उनले जे जस्ता दृश्य मञ्चन गरे, ती सबै संविधानको कोणबाट असंवैधानिक, कानूनको कोणबाट गैरकानुनी मात्र ठहरिएनन्, नैतिकताको कोणबाट अनैकतिक पनि ठहरिए। उनले मात्र त्यस्तो गैरकानूनी काम गरेका हैनन् कि मुलुकको राष्ट्रपति पद र त्यो पदमा विराजमान सम्माननीय विद्यादेवी भण्डारीलाई समेत त्यसको भागिदार बनाए। संविधानमा अर्कै प्रयोजनका लागि व्यवस्था गरिएको धाराको दुरूपयोग गरेर सार्वभौम नेपाली जनताको प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा विघटन (एक किसिमको हत्या) गर्ने निर्णय गरे, उनको त्यो सनकबाट प्रतिनिधिसभाका सदस्यको पदावधिको हत्या गर्ने ध्येयले आक्रमण गरे। त्यति मात्र हैन, उनले मुलुकको संविधानकै हत्या गर्ने सोचले आक्रमण गरे। उनको बुताले भ्याउथ्यो भने त हत्या नै गरेका थिए। तर, कोमामा मात्र पुग्यो र सर्वोच्च अदालतमा कानुनी सर्जरी गरेर ब्युताइयो। त्यसका लागि आमनेपाली जनता फेरि एकपटक सडकमै जानुपर्यो। पर्दापछाडि गरिएका अनेकौ खेल जनताकै बलमा निस्तेज भए, अहिले सतहमा देखिएको परिणाम त पर्दाअगाडिको खेलको एक अंश मात्र हो।

नेपाली यसै पनि लाज शरम भएको जाति मानिन्छ।अपवाद बाहेक  लाज भएका आमनेपालीलाई यसपटक लागेको थियो, नेपालको संविधान र प्रतिनिधिसभाकै ‘हत्या’ गर्ने अभियोगमा सर्वोच्च अदालतले दोषभागी बनाएपछि कानुनको कोणबाट एक किसिमले ‘अपराधी’ ठहरिएका सम्माननीय खड्गप्रसादले नैतिक दायित्व लिएर कम्तिमा पनि पदबाट त राजीनामा देलान्। यसो गर्दा उनले पदको ‘लाज’ राखेको ठहरिन्थ्यो र सम्माननीय भनिने प्रधानमन्त्री पदको पनि गरीमा बच्थ्यो।

तर, त्यसो त भएन नै। उल्टै अहिले सम्माननीय खड्गप्रसाद आफैंले हत्या गर्न खोजे पनि सर्वोच्च अदालतले जीवनदान दिएको प्रतिनिधिसभामै अर्को धन्धुकारी खेल खेल्ने ऐलान गरिरहेका छन्। यति मात्र हैन, प्रतिनिधिसभा व्युताउन आन्दोलन गर्ने पक्षमाथि मजाक गरेर उनीहरूलाई ‘माग्ने’ भनेर खिसिट्यूरी समेत गरिरहेका छन्। उनको यो लयमा लय मिलाउँदै उनका अनुयायीहरू ठूलो स्वर गरिरहेका छन्।

अझ गजब त के छ भने प्रतिनिधिसभा र आफ्नो पदको पनि हत्या गर्नेकै पक्षमा सांसदहरू नतमस्तक भएका अनौठा समाचार सुन्नमा आएका छन्। त्यसैको पहिलो क्रम बनाउन आइपुगेकी छिन्, नेकपाकी समानुपातिक सांसद माया ज्ञवाली। दासढुंगा दुर्घटनामा जीवन गुमाएका जीवराज आश्रितकी श्रीमती ज्ञवालीले पुस ५ गते सम्माननीय खड्गप्रसादविरूद्ध अविश्वास प्रस्तावको पक्षमा सही गरेकी थिइन्। अहिले उनको यो युटर्नको कुनै विवेकसम्मत औचित्य साबित होला? यसअघि सम्माननीय खड्गप्रसाद प्रधानमन्त्री र सम्माननीय विद्यादेवी राष्ट्रपति भएका बेला मदन भण्डारी नेपाल रत्नले शुशोभित हुँदा जीवराजलाई ठिंगाराम बनाइएको थियो, कसले सम्झाउने मायालाई यो सत्य? उनलाई समानुपातिक सांसद बनाउन खड्गप्रसाद नै सबैभन्दा ठूला बाधक थिए, माधव नेपालको जोडबलमा उनी सांसद बनेकी थिइन्। अब उनै मायाहरू कानूनीरूपमा पराजित र नैतिक रूपमा च्यूत खड्गप्रसादहरूको पक्षमा उभिन्छन् भने यो परिदृश्यलाई कुन शव्दले व्याख्या गर्ने? यो त सुरूवात मात्र हो, खड्गप्रसादले साम, दाम, दण्ड, भेद मात्र हैन, थप पनि लगाएर अरू ‘मायाहरू’लाई पनि ‘विचरा’ बनाउने छन्। उनले आफू प्रधानमन्त्री हुन र माधव-प्रचण्डलाई प्रधानमन्त्री हुन नदिन के गर्छन् भन्दा पनि केसम्म गर्दैनन् भन्ने दृष्टान्तहरू पर्याप्त दिइसकेका छन्। उनी थेसिसमा हैन, एन्टी थेसिसमा बाँचने मानिस हुन्।

यता सम्माननीय खड्गप्रसादको शरीरबाट नैतिकताको एक धर्को लुगा पनि फुकाल्न बाँकि नरहेको अवस्थामा पुगेका छन्, एम्पिअर क्लथका अनुयायीहरूले उनको गाथमा रेसमी लुगाले ढाकिएको देख्नु अर्कै कुरा हो। तर, दुर्भाग्य अर्कातिरका सम्भावित खड्गप्रसादहरूको आङमा पनि नैतिकताको लुगा खासै बाँकि रहेनछ। आमजनताले उनीहरूलाई पनि सम्माननीय खड्गप्रसाद जतिकै लाज पचेको ठानिसकेका रहेछन्। उनीहरू पनि नैतिक रूपमा यति धेरै नाङ्गिसकेका रहेछन् कि आमजनता शंकाको सुविधा दिन पनि उत्साहित देखिएका छैनन्। हुन पनि हो, अब लाइनमा रहेका तीन खड्गप्रसादहरू अर्थात् शेरबहादुर, माधव नेपाल र प्रचण्ड पनि उही ड्याङका मूला हुन्। उनीहरूको विगतले त्यो भन्दा फरक देखाउँदैन।

अब प्रश्न उठ्छ, के यसका लागि सम्माननीय खड्गप्रसादहरू मात्र दोषी छन् त? हैन, उनीहरूलाई एकपटक हैन पटक पटक मतदान गरेर माननीय मात्र हैन, सम्माननीय बनाउने जनता पनि दोषी छन्। तर, त्योभन्दा पनि बढी जनतालाई छपक्कै छोपेर जनताका नाममा देखिने विवेकहिन लम्पट कार्यकर्ता दोषी छन्। यसपालि सम्मानीय खड्गप्रसादले कू गर्दा पनि स्वागतमा र्यालीमा जम्मा हुने सबै त्यही कोटीका तथाकथित ‘जनता’ हुन्। यताका भनौ वा उताका यिनै ‘जनता’ले गर्दा नैतिकता निर्धो भएको हो, मूल्य मान्यताको चीरहरण भएको हो, पार्टी र पद्धतिको तेजोबध भएको हो र सारमा ‘खड्गप्रसादहरू’को लाज हराएको हो।

यो पंक्तिकार खड्गप्रसादहरूको हिमायति हैन, ऊ यो वा त्यो नामका सबै खड्गप्रसादहरूको आलोचक हो। ट्रेजरी बेञ्चमा हैन, अपोजिसन बेन्चमा बसेर कलम चलाउने उसको पेशागत धर्म भएकाले पनि विगत तीन दशकभन्दा बढी समययता उसले यही धर्म निर्वाह गर्दै आएको छ। अपवाद बाहेकका समयमा सत्तामा पुगेका सबै खड्गप्रसादहरूले उसलाई सत्ताको समर्थन गर्ने अवसर नै दिएका छैनन् । यो उसको प्रिय चाहना हैन, बाध्यता हो।

आज नेपालमा जुन शासन व्यवस्था छ, त्यो सर्वगुण सम्पन्न छैन। तर, संसारमा भएका खराब राज्य व्यवस्थामध्ये कम खराब चाँहि पक्कै पनि हो। यो व्यवस्था ल्याउन यो पंक्तिकारको पनि  योगदान छ, सुरूमा मिशन पत्रकारितामार्फत र पछिल्लो समयमा व्यवसायिक पत्रकारितामार्फत्। विद्यार्थी राजनीतिमार्फत पनि एक किसिमले आफ्नो भविष्य पूरै दाउमा लगाएर योगदान गरेकै हो, त्यसो नगरेको हुँदो हो त नेपालको एक स्थापित इन्जिनियर हुने कुरामा शंका गर्नुपर्ने थिएन, एसएलसी र आइएस्सीको प्रमाणपत्रका अंकले त्यसको साक्षी बोक्छ। शायद त्यो भएको भए आज ५० नाघेको उमेर लिएर परदेशमा घरदेशमा नहुनुको पीडा अनुभूत गर्नुपर्ने थिएन।

भनाइ नै छ, सानाले बोले गफ हुन्छ, ठूलाले बोले महानवाणी। यहाँ सानो भन्नाले पद नभएको भुइँमान्छे हो। यो पंक्तिकार देश नै छोडेर परदेश लागेको एक प्रतिनिधि भुइँमान्छे हो। तर, नागरिकता त्यागेर हैन, आफ्नौ देशमा दोस्रो दर्जाको नागरिक भएर बाँच्नुभन्दा अर्काको देशमा दोस्रो दर्जाको आप्रवासी भएर बाँची हेरौ न भनेर। कसैले भन्ला पलायनवादी, उसलाई देशका बारेमा लेख्ने के अधिकार ? तर माफ गर्नुहोला, केही समयका लागि परदेश मात्र लागेको हो, मेरो देश त्यही नेपाल हो। केही समय परदेश लागेकै आधारमा मैले मेरो देशका बारेमा लेख्ने अधिकार कसैका नाममा राजीनामा गरिदिएको छैन।

मेरो जन्मदेशमा पार्टीको, त्यसमा पनि गुटको अझ भनौ कुनै एक नेताको खास मान्छे नभै योग्यताको आधारमा काम पाउँने मान्छे दिउँसै खोज्नुपर्छ। कोही अपवाद होला तर सत्तारूढ दलको चौवन्नी सदस्य नहुँदा त्यस्तो अपवाद पनि मेरो मुलुकले पाएको छैन। त्यही भएर मजस्ता लाखौ भुइँमान्छे परदेशिन बाध्य भएका छौं । रहरले हैन, कहरले।

अहिलेको झण्डै दुईतिहाइ बहुमतको ओलीतन्त्रको त कुरै नगरौ। यो तन्त्रमा ओली र उनको गुटमा रहेका नेताका मान्छेलाई बाँडेपछि उब्रेको मात्रै अरू गुटका नेताका मान्छेले पाए। फरक गुटका मान्छेले त पाउँने अवस्थै थिएन भने फरक विचारका मान्छेले पाउँने कुरा त  असम्भव नै थियो। ओलीको गुणगान गाउँनु नै अहिले नियुक्ति पाउनेको मूल योग्यता बन्यो। उदाहरण एक हैन, अनेक दिन सकिन्छ।

यो भुइँमान्छेले पटक पटक भनेको छ, समस्या सम्माननीय खड्गप्रसादमा छ। समाधान अरूतिरबाट खोजेर निस्कदैन। उनको सोच, कोण र दृष्टिकोण नै प्रगतिशील छैन, वामपन्थी त धेरै टाढाको कुरा भयो। जब  कुनै वामपन्थी चरित्र त हुदैन भने कम्युनिष्ट चरित्र खोजेर कहाँ पाउँनु ?

तर, पनि अझै केही मानिस उनमा महान कम्युनिष्ट चरित्र देखिरहेका छन्। त्यति मात्र हैन, उनको देवत्करण नै गरिरहेका छन्। तर, त्यो विवेक बोलेको हैन। पद र पैसा बोलेको हो। यी दुई नपाउँने कुनै विवेकशील प्राणीले सम्माननीय खड्गप्रसादको पक्षपोषण गर्न सक्दैन। कसैले गर्छ भने उसले खड्गप्रसादको सक्कली रूप नै चिनेकै छैन।

यो भुइँमान्छेले त्यतिकै भनिरहेको छैन। उसले सम्माननीय खड्गप्रसादलाई नजिकबाट चिनेको छ। अझै पनि कोही भ्रममा छ भने समयक्रममा उनीहरूको भ्रमको जालो आफैं हट्नेछ। भनाइ नै छ, कि आफू सच्चिनुपर्छ, कि समयले चड्कन लगाएर भए पनि सच्याउँछ। ओलीलाई बिगार्ने भनेका उनका जो जो म्यान हुन् । जो जो म्यानको कामै त्यही हो, जो पद र पैसाका लागि आफ्नो विवेक बन्दकी राखेर एम्पायर क्लथका लागि तयार हुन्छन्।

केही मानिस सम्माननीय खड्गप्रसादहरूको खासगरी सञ्चार माध्यममा सम्मान चाहन्छन्। त्यसको ठेक्कापट्टा उनले प्रेस काउन्सिलमा भर्ती गरेकाले पाएका छन्। पहिलो त उनले आफ्नो मुखारविन्दुबाट अरूलाई कति सम्मान गर्छन्? त्यसकै हेक्का राख्नुपर्ने हो। जब आफ्ना मालिकबाट अरू सम्मानित हुदैनन् भने उनीहरू कसरी आफ्ना मालिकका लागि सम्मानित भाषाको अपेक्षा गर्छन्। त्यो सुनेर हाँसो उठ्छ, सम्मान मागेर पाइने हैन, त्यसका लागि आफू योग्य हुनुपर्छ।

नेपालको संविधान त मान्दिन भन्न पाइन्छ भने यस संविधानले बनाएका राष्ट्रपति, प्रधानमन्त्रीलगायतका पदमा बसेका जो कोहीलाई जर्बजस्ती मान्नैपर्छ भन्ने हुदैन। यसैपनि सम्मान हृदृयदेखि आउने कुरा हो, त्यसका लागि मुलत: त्यो पात्र नै उसको सच्चरित्र र कामकुराले सम्मान गर्न लायक हुनुपर्छ। अहिले नेपालको राजनीतिक वृतका अधिकांश मान्छेले मजस्ता भुइँमान्छेको हृदयमा सम्मान पलाउने त के, सम्मान टुसाउने मौका पनि दिएका छैनन्।

जब कोही खड्गप्रसाद संविधानमा हुँदै नभएको धारा प्रयोग गरेर यो संविधानकै हत्या गर्न खोज्छ र त्यो मुलुकको सर्वोच्च अदालतबाट प्रमाणित हुन्छ भने  कानूनको कोणबाट ऊ अपराधी हो । अनि त्यस्तो अपराधीलाई कसरी सम्मान गर्न सकिन्छ र ? कम्तीमा यो पंक्तिकार सक्दैन तैपनि एकथान सम्माननीय लेखिदिएको छु ताकि पत्रकार आचारसंहिता पढाउने प्रेस काउन्सिलका उनका अनुयायीहरूलाई मूतको न्यानो मिलोस्।

प्रश्न यो वा त्यो खड्गप्रसादको हैन, खड्गप्रसाद प्रवृतिको हो । तर, अहिलेका एक नम्बर खड्ग प्रसादचाँहि झापा क्षेत्र नम्बर ६ बाट नेकपा एमालेको टिकटबाट प्रतिनिधिसभामा विजयी खड्गप्रसाद शर्मा ओली नै हुन्। यसो भन्नलाई चाँहि कुनै आइतबार पर्खनुपर्दैन ।

मेरा पिताजी भन्ने गर्नुहुन्थ्यो, ‘लबस्तराको ओखती हुदैन। छोप्नुपर्ने अंग देखाएर हिडेपछि देखिनुपर्ने र नदेखिनुपर्ने अंग सरोबरी हुन्छ। त्यसपछि त लाज-शरम नै लजाएर भाग्छ।‘
पिताजी, तपाईले छोडेर जानु भएको पनि तीन महिना हुन लाग्यो तर तपाईको यो भनाइको सान्दर्भिकता अहिले झन टड्कारो भएको महसुस गर्दैछु। परदेशमा छु तर घरदेश दुख्दा पीडाले कहाँ दूरी नाप्दोरहेछ र? विएल नेपाली सेवा