१६फागुन, काठमाडाैँ ।  बर्दियाकी विष्णु चौधरीलाई घाम झुल्केदेखि नअस्ताउँदासम्म नर्सरीमा भ्याइ–नभ्याई हुन्छ।

‘नर्सरीको हेरचाहमै हरेक दिन बित्छ। बिहानदेखि पानी हाल्यो, गोडमेल गर्‍यो। काम गर्दा गर्दै साँझ परेको थाहै हुँदैन,’ उनले भनिन्, ‘बिहानदेखि साँझको काम नै यही हो।’

विष्णु विगत एक वर्षदेखि पुष्पखेतीमा व्यस्त छिन् । बाँके जिल्लाको एक मात्र महिला पुष्प व्यवसायी हुन्, उनी। बर्दिया स्थायी घर भए पनि  उनको परिवार विगत १५ वर्षदेखि कोहलपुरको बर्दहवामा बस्दै आएको छ।
रहरै रहरले उनको पुष्पखेती यात्रा सुरु भएको हो। नेपाली विषयमा स्नातक तहसम्म अध्ययन गरेकी छिन्। अहिले  भने जागिरको लागि भौतारिनुपर्ने अवस्था छैन।

उनले भनिन्, ‘सोचेजस्तो जागिर कतै पाइएन। अहिले यसमै व्यस्त छु।’ अहिले जागीर नपाएकोमा गुनासो छैन उनलाई। बरु पुष्पखेतीलाई निरन्तरता दिन लागिपरेकी छिन्। बेरोजगारी टार्न पुष्पखेती सुरु गरेकी विष्णुले जिल्लाको पुष्प व्यवसायलाई सम्भावनाको रुपमा समेत चिनाएकी छिन्।

बाँकेमा रहेका चार वटा पुष्प व्यवसायमध्ये एक हो, सुविदिप पुष्प उद्यान केन्द्र। विष्णु त्यसको सञ्चालक हुन्। चौधरीले कोहलपुर–५ मा आठ कट्ठा जमिनमा पुष्पखेती गरेकी छिन्। मौसमी, बहुवर्षे र अंलकारिक जातका फूलको। साढे चार लाख लगानीमा। बेर्ना खरिद्को लागि मात्र ४५ हजार रुपैयाँ लगानी गरिन्। जग्गा भाडामा  लिएकी छिन्। कोहलपुर नगरपालिकाकी उप प्रमुख सन्जुकुमारी चौधरीको जग्गामा।

उनी भन्छिन्, ‘पुष्पखेतीमा रहरले लागेकी हुँ, छोटो समय मै यहाँको बजार देख्दा यसैमा सम्भावना रहेछ भन्ने लागेको छ। सबैको प्रतिक्रिया राम्रो छ। स्थानीय सरकारले समेत घेरबारको लागि सहयोग गरेको छ। पहिलो वर्षको उत्पादन बजारमा राम्रो बिक्यो। यसले झन् उत्साह थपिएको छ।’ पहिलो वर्षमा नै फूलहरु उत्साहजनक रुपमा बिकेको उनले बताइन्।

चूलोचौकोमा मात्रै सीमित रहने थारु महिला पछिल्लो समय उद्यमी बन्ने क्रम बढ्दो छ। कुनै बेला अर्काको घरमा कमलरीको रुपमा काम गर्ने यहाँका थारु महिला उद्यम गरेर आत्मनिर्भर भइरहेका छन्। थारु समुदायमा बढ्दो जागरणसँगै यहाँका महिला विभिन्न खाले पेसा व्यवसायमा केन्द्रीत हुन् थालेका छन्।

त्यस्तै मध्ये एक थारु महिलाले सुरु गरेको पुष्पखेती पृथक व्यवसाय हो। जुन विष्णु चौधरीले सुरु गरिन्। तथ्यांक अनुसार नेपालमा जनजाती समुदायले बढी पुष्पखेती गर्दछन्। त्यस मध्येपनि यो व्यवसायमा पुरुषहरुको बाहुल्य छ।
थारु समुदायमा १.८ प्रतिशतले पुष्पखेती गर्दछन्। बाँकेमा जम्मा चार वटा मात्रै व्यवसायिक पुष्पखेती छन्। विष्णु चौधरी एकमात्र महिला पुष्पखेती व्यवसायी हुन्।

२०७४ साल तिरको कुरा हो। उनी स–परिवार टिकापुर घुम्न गएकी थिइन्। त्यहाँ  सयौं क्षेत्रफलमा पुष्पखेती गरिरहेको देखिन्। त्यहाँ पनि उक्त पुष्पखेती गरेका थारु समुदायकै व्यक्ति थिए, सिताराम चौधरी। उनकै प्रेरणाले सुरु भएको हो थियो, विष्णुको पुष्पखेती व्यवसाय।

बेरोजगार उनी जागिर खोजिरहेकी थिइन्। सोचे जस्तो जागिर पाइएको थिएन। कैयौंपटकको प्रयासपछि थाकिसकेकी थिइन्। तर हार भने मानेकी थिइनन्।  ‘ढुंगा खोज्दा देउता मिल्यो भनेझैं’ भनेजस्तै भयो त्यो भ्रमण। अब भने उनलाई गत्तिलो बाहना भेटियो। दिमागमा क्लिक भइहाल्यो। आफैले पुष्पखेती गर्ने।

भ्रमणमा उनका श्रीमान् पनि सँगै थिए। उनी पेसाले शिक्षक हुन्। त्यहिँ बेलै श्रीमानलाई सोधिहालिन्, म पनि पुष्पखेती गर्छु । श्रीमानले नाईनास्ती गर्ने कुरै भएन। उनको प्रश्न भुईमा खस्न नपाउँदै ‘ओके’ भनिदिए।
टीकापुरमा केही जानकारी हासिल गरेपछि कोहलपुर फक्रिइन्। त्यसपछि मात्रै सुरु थियो पुष्पखेती। जुन बाँके जिल्ला कै पहिलो पुष्प खेती बन्न पुग्यो। विष्णु पुष्पखेती गर्ने प्रथम महिला।

सुरुसुरुमा उनलाई खास्सै भरोसा थिएन। उत्साह र डर यस्तै थियो। भन्छिन्, ‘नेपालीकि विद्यार्थी भएकीले जागिर खाने सोच थियो। व्यवसाय गर्छु, आम्दानी गर्छु भनेर म लागेकी होइन्, पहिला रहरले लागेकी हुँ। नशा जस्तो पो भइदियो ।’
अहिले पनि पुष्पखेती बारेमा धेरै जानकारी छैन। पढेर भन्दा पनि ‘परेर’ पो सिकिदो रैछ। यस्तै भएको छ उनका लागि पनि। विभिन्न माध्यमबाट अहिले पनि सिकिरहेकी छिन्।

उद्यानमा पहिलो पटक फूल फुलेको थियो। बिक्री गर्ने बेला भएको फूलमा फौजीको संक्रमण देखियो। किरा लागेपछि भने केही नोक्सानी व्यहोर्नु पर्‍र्यो। पहिलो वर्ष नै। बाँकी  रहेका फूल भने उल्लेखित रुपमा बिक्री भए। १ लाख बढी कमाई भयो। उनी सम्झिन्छन्, ‘नसोचेको कमाईले भावुक नै बनाएको थियो। हौसला समेत थप्यो। त्यसपछि घर  नजिकै अर्को नर्सरी थपे।’ जुन अहिले पनि बिक्री भइरहेको छ।

कुराकानीको क्रममा कैलालीको लम्कीचुहा नगरपालिकाको ५० वटा फूलका माला पठाएर आएको जानकारी दिइन्।  यस वर्ष मंसिरको महिनामा मात्रै विवाहको लागि ४० हजार बराबरको फूल बिक्री गरिन्।  अरु बेला दैनिक फाटफुट बिक्री भइरन्छ।

पुष्पखेती व्यवसाय फस्टाउँदो छ। फोन गरेर समेत मगाउँछन्। कत्ति त घरमै आएर किन्छन्। सबैले हौसला दिएर जान्छन्। अर्कातिर यहाँको स्थानीय सरकारको निर्णयले उनले निकै राहात मिलेको छ। कारण हो, कोहलपुर नगरपालिकाको रेडिमेट खादाँ बहिस्कार गर्ने निर्णय।

नगरपालिकामा हुने जुनसुकै कार्यक्रममा बाह्य बजारबाट आयात हुने दोसल्ला प्रयोग गर्न निषेध गरिएको छ। यहाँ दैनिक हुने कार्यक्रमका उनको नर्सरीको फूल निर्विकल्प हो। उनले भनिन्, ‘कहिले त माग पूरा गर्न नै सकस हुन्छ। त्यो बेला नेपालगञ्जबाट मगाउने गरेकी छु।’ यद्यपि अहिले पनि बाह्य बजारको भर पर्नुपर्ने अवस्था छ। पुष्पखेती विस्तारै बाह्य फूल विस्तापन गर्ने कदम हो।

तर कोहलपुरमा हुने केही कार्यक्रमहरुमा भने बाहिरबाट फूल ल्याएको थाहा पाउदाँ उनलाई दुःख लाग्छ। नगरपालिकाले गरेको निर्णय पूर्ण रुपमा कार्यान्वयन भएमा स्थानीय स्तरमा यस्ता खेती गर्नेहरुलाई सहयोग पुग्ने उनको भनाई छ।

त्यति मात्रै होइन स्थानीय सरकारको प्रत्यक्ष साथ पनि छ। उनको व्यवसाय प्रवर्द्धनको लागि। सिँचाइ तथा बिउ बिजनको लागि कृषि शाखाले एक लाख ५० हजार रुपैयाँ दियो।

 केही समय अघि मात्र नर्सरीको लागि पचाँस हजार रुपैयाँ ल्याइन्। त्यसबाट थप फूल ल्याउने र संख्या बढाउने उनको लक्ष्य छ। नगरपालिकाले समेत पुष्पखेतीलाई स्थानीय ब्राण्डको रुपमा विकासित गर्न लागि परेको छ।

अब भने १५ कठ्ठामा व्यवसाय बढाउने योजना छ। नर्सरीमा काम गर्नको लागि एकजना युवतीलाई रोजगारी समेत दिएकी छिन्। मासिक सात हजारमा। गोडमेल गर्ने, हेरचाह गर्ने, सिचाई लगायतका काम युवतीले नै गर्छिन्। विष्णु भने अन्य व्यवस्थापनका काममा व्यवस्त हुन्छिन्।

पहिलाको भन्दा काम थपिने भएकोले  अझै चार जना कामदार थप्ने तयारीमा समेत छिन्। काममा लगनशील, इमान्दार भएर काम गर्ने भएकोले महिलालाई अवसर दिने सोचमा रहेको उनले बताइन्।

‘महिलाहरु अहिले पनि आर्थिक रुपमा पछि छन्। पुरुषको कमाईको भर पर्नु पर्ने बाध्यता छ। हाम्रो थारु समुदायमा समेत महिलाहरुको अवस्था निकै दयनीय छ,’ उनी भन्छिन्, ‘दुई चार पैसा भए पनि कमाउँछन्। खर्च गर्न त पुग्छ। सामान्य कुरामा पनि महिला पुरुष–श्रीमानको भर नपरुन् भन्ने उद्देश्य हो मेरो।’ थारु समुदायमा अहिले पनि छोरी प्राथमिकतामा छैनन्।

शिक्षा आर्जनको मामिलामा। यसमा अभिभावकले समेत चासो दिँदैनन्। अहिले भने केही अवस्था सुध्रिएको छ तर स्कूल गइहाले पनि बीच मै पढाई छोड्ने समस्या छ। थारु समुदायमा बीचैमा विद्यालय छोड्ने दर उच्च छ।

अर्काको घरमा काम गर्ने र ज्याला मजदुरी गरेर घरको आवश्यकता पूर्ति गर्नु पर्ने अवस्था छ। भलै विष्णुको भने घरको पारिवारिक पृष्ठभूमि नै शिक्षित भएकोले यस्तो समस्या भोग्नु परेन। अबको उनको पहिलो योजना पुष्पखेती खेतीका बारेमा थप कुरा सिक्ने नै हो।

स्थानीय स्तरमा उनी एकजना मात्रै भएकोले स्थानीय सरकारबाट तालिमको लागि  सम्भावना कम छ। काठमाडौँ गएरै भए पनि पैसा तिरेर एक हप्तासम्मको स्पेशल तालिम लिने छ। दोस्रो योजना छ, दुःखमा परेका थारु समुदायका महिलाका लागि एक सस्था खोल्ने। यस्तै उनले पुष्प पसल समेत खोल्ने तयारी गरिरहेकी छिन्। विएल नेपाली सेवा