१८फागुन,काठमाडौँ । दुई वर्षअघि मनोज कुमार साह छिमेकी देश भारतको सीमा जोडिएको बिहार छोडेर रोजगारीका लागि राजधानी काठमाडौं प्रवेश गरेका थिए।

यहाँ उनको एक्लो सहारा थियो, दिदी र भिनाजु मात्र। भिनाजु कृष्णा पेशाले व्यापारी हुन्, जो फलफुलको व्यापार गर्छन्।

बौद्ध नजिकै तिनचुलीलाई आफ्नो ठेगाना बनाएका मनोज अहिले भिनाजुलाई काममा सघाइरहेका छन्। ठेलागाडामा फलफुल डुलाउँदै हिँडेकै २४ महिना बितिसक्यो।

८० किलो फलफुल गाडामा राखेर तिनचुली, आरुबारी र बौद्ध चाहर्नु उनको दैनिकी नै हो। यसबाहेक अरु विकल्प पनि छैन उनीसँग।

सुरुका दिन उनलाई गाडा चलाउँदै टोलटोलमा घुम्न निकै अप्ठ्यारो लागेको थियो। योभन्दा पहिले उनले सामान यसरी बेचेका पनि थिएनन्।

तर काम गरेर पैसा कमाउने सोच राखेर नेपाल भित्रिएका मनोजका लागि अर्को कुनै उपाय पनि थिएन। न हातमा पैसा थियो, न सीप नै। चिनजानका दिदी र भिनाजुबाहेक यो अन्जान शहरमा कोही आफन्त थिएन।

उनलाई काममा पूर्ण रुपमा ढल्न एक वर्ष नै लाग्यो। भाषिक समस्या उस्तै। भाषाकै कारण थुप्रै ठाउँमा अपहेलित पनि बने। तर समाजसँगको घुलमिलले उनलाई एक वर्षमै नेपाली भाषा बोल्न सिकायो।

विगतमा स्थानीयवासीका लागि अन्जान बनेका उनी विस्तारै सबैको प्रिय पनि बन्न थालेका छन्। सुरुका दिन व्यापारमा घाटा व्यहोरेका मनोज हाल आर्थिक रुपमा केही सबल पनि बनेका छन्।

वैदेशिक रोजगारीका लागि दिनमा हजारौं नेपाली राजधानी काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट खाडी मुलुक उडिरहेका हुन्छन्। उनीहरुले पठाएको रेमिटेन्सकै कारण देशको अर्थतन्त्र चलेको छ। नेपालमा काम पाइदैन भनेर लाखौंको हाराहारीमा नेपालीहरु विभिन्न देश पुगेका छन्।

तर, काठमाडौंमा भने छिमेक देशबाट आएका हजारौं युवाहरु रोजगारी गरिरहेका छन्। उनीहरुका लागि कतार र मलेसिया नै काठमाडौं हो।

यहीबाट कमाएर घर पठाएको पैसाले उनीहरुको घरको चुलोचौका बल्छ। ‘हाम्रो लागि त सबै कुरा यही छ,’ बिएल नेपालीसँग कुराकानी गर्दै उनले भने।

काठमाडौंमा जम्न उनले थुप्रै संघर्ष गर्नुपर्यो। समय खर्चिनुपर्यो। भाषा सिक्नुपर्यो। व्यापार गर्ने तौरतरिका बुझ्नुपर्यो।

‘हामीलाई साहुँले जति सामान दिन्छ, त्यसको रकम बुझाउनै पर्छ। उहाँहरुलाई नाफा र घाटामा कुनै सरोकार हुँदैन। सुरुका दिन धेरै फलफुल खेर गयो, नोक्सान भयो,’ उनले भने।

व्यापार गर्ने क्रममा उनलाई भारतीय भनेर हेप्ने गरिन्थ्यो। यसले उनको मन निकै दुस्खेको रहेछ। ‘मैले यस कुरालाई महत्व दिइन। अरु ठाउँमा काम गरेको भए पनि यस्तै त हुन्थ्यो नि,’ उनी भन्छन्।

हाल उनी फलफुल बेचेर दिनमा ६–७ सय रूपैँया कमाउँछन्। आफ्नो कमाइँबाट उनले महिनामा दिदीलाई गाँस र बासका लागि पाँच हजार रुपैयाँ सहयोग गर्ने गरेका छन्।

‘४ महिनाको अन्तरालमा ४० हजार रुपैयाँ गाउँमा पठाउने गरेको छु। घरपरिवारको लागि यहाँ कमाउन आएको हुँ। त्यसैले पैसा त पठाउनु परिहाल्छ नि’, उनी भन्छन्।

उनको सानैदेखिको लक्ष्य थियो– आमाबुवालाई सुख दिने। सोही कारण उनी स्कुल र कलेज पढ्दै गर्दा बच्चालाई टयूशन पढाएर आफ्ना लागि खर्च जुटाउने गर्थे।

उनले गाउँकै बीपीएस कलेजबाट ‘प्लस टु’ सम्मको अध्ययन सकाएका हुन्। उनको पढाई पनि राम्रो थियो। कक्षामा सधैं दोस्रो हुन्थे। घरको अवस्था कमजोर भएपछि उनी काठमाडौं हानिएका हुन्।

भारतमै हुँदा उनी मजदुरीका लागि नटबल्टु बनाउने कम्पनिमा काम गर्थे। यसबापत मासिक आठ हजार कमाइँ हुन्थ्यो। यसले घर खर्च चल्न धौं–धौं बनेपछि उनी विदेशिन बाध्य भएका हुन्।

परिवारमा उनी तीन दिदीपछिका भाई हुन्। सबै दिदीको बिहे भइसक्यो। उनको बुवा पक्षघातको बिरामी हुन्। कसैले सहारा दिएन भने उठ्बस पनि गर्न सक्दैनन्।

बुवा पहिले ट्रकमा सामान लोड र अनलोड गर्ने मजदुरी काम गर्थे। उनकै बलबुतामा घर चलेको थियो। तर एकदिन काम गर्ने क्रममा ट्रकबाट बजारिएर मनोजको बुवाको शरीर चल्न छोड्यो। ‘म त्यतिबेला ७ वर्षको थिए। ४ महिना अस्पतालमा प्लस्टर लगाएर राख्नुपरेको थियो,’ उनले बिगत सुनाए।

घाइते बुवाको उपचारमा बचत भएको सबै पैसा सकियो। यतिबेला आमाले खेती किसानी गरेर घर धानेकी थिइन। घरको दुस्ख बुझेका उनै मनोज अहिले काठमाडौंमा रोजगारी गर्दै भारतमा बसेका आफ्ना परिवारको पेट पालिरहेका छन्। विएल नेपाली सेवा