१९फागुन,काठमाडौँ । पुसको कठ्याङ्ग्रीदो जाडो होस् या गर्मी, टन्टलापुर घाम होस् वा लगातारको झरी, जुनसुकै मौसममा पनि, उत्तिकै व्यस्त देखिने यो दिनचर्या– पूर्व पश्चिम राजमार्गमा सरसफाईको जिम्मा पाएका सफाई कामदारहरूको हो।

उनीहरूको बारे थोरैले मात्र बुझेका छन्। धेरैलाई उनीहरूको भुमिका र कामबारे थाहा छैन। तर, सडकमा हुने सानादेखि ठूला दुर्घटनाका प्रत्यक्षदर्शी हुने उनीहरूले दुर्घटना न्यूनीकरणमा जिम्मेवारी पूर्वक भुमिका निर्वाह गरिरहेका हुन्छन्।

मोरङको उर्लाबारी–६ चन्दनेका अगमबहादुर भुजेलले सरसफाईको काम गर्न थालेको १८ वर्ष लाग्यो। माथिल्लो भागमा रातो झण्डा र मुन्तिर पट्टि कुचो भएको एउटा दह्रो लौरो बोकेर सडक सरसफाईमा निस्कने भुजेल ६२ वर्ष पुगे। तर,पनि उनी कामप्रति बफादार छन्।

दैनिकजसो बिरालो, कुकुर, सर्प मरिरहेका हुन्छन्। सार्वजनिक सवारीको अत्यधिक चाप हुने सुनसरीको इटहरीदेखि पूर्व झापाको दमकसम्म दैनिक २५ हाराहारी कुकुर बिरालो र सर्प मारिने गर्छन्।

जागिर सुरु गरेदेखि यही क्षेत्रमा कार्यरत भुजेल सडकमा मारिएका मुद्दा नलाग्ने पशु, चौपायको अन्त्येष्ठि गर्दै जागिरे समय बित्न लागेको बताउँछन्।

उनी भन्छन्–‘१८ वर्ष यता सडक विस्तार हुन सकेको छैन्। सवारी साधन हरेक दिनजसो थपिएका छन्, सडकले सवारी साधनको चाप धान्न सक्ने अवस्था छैन। त्यसैले दुर्घटना हुने क्रम बढेको छ।’

सडकमा दुर्घटनामा परी मरेका चौपायको व्यवस्थापन मात्र होइन, सडकको किनारमा भएको झाडी फाड्ने, निर्माणका सामग्री बोक्ने ट्याक्टर, ट्रकले झारेको ढुंगा, गिट्टी, बालुवा, माटो सडकबाट हटाउने काम पनि भुजेलकै जिम्मामा हुन्छ।

ट्राफिक नियमपालन नगरी सवारी साधन चलाउने गरेकोले विगतको तुलनामा अहिले कामको बोझ बढेको भुजेलको ठम्याई छ। भुजेलले भन्दै गए–‘हामीलाई सडक सरसफाइको काममा कसैले सहयोग गर्दैन्।’

सामान्यत सडक विभागले तराईको राजमार्ग क्षेत्रमा ५ किलोमिटरमा, पहाडमा तीन किलोमिटरमा र शहरी क्षेत्रमा प्रत्येक एक किलो मिटर क्षेत्रमा एक जना सरसफाई कर्मचारीको ब्यवस्था गर्ने गरेको छ।

उर्लाबारी क्षेत्रको ५ किमि सडकखण्डको सरसफाईको जिम्मा पाएका भुजेल दुर्घटना घटाउन सफाई कर्मचारीलाई समेत ट्राफिक चेतना दिनुपर्ने बताउँछन्।

विगत सम्झँदै उनले भने, ‘दुर्घटनामा परी एक जनाको घटनास्थलमा नै विभत्स मृत्यु भयो। प्रहरीले टुक्रा टुक्रा बटुलेर पोष्टमार्टम गर्न लग्यो। तर शरीरको केहीभाग दुर्घटनास्थलमा नै छोडिएको थियो। मैले त्यो छोडिएको टुक्राहरू भेला गरेर पोष्टमार्टम गर्न पुर्‍याई दिएँ।ु

भाउन्ने –कानेपोखरी –छ धारे सडकखण्डमा कामगर्ने कर्णबहादुर राईको भोगाई अझ पीडादायी छ। जंगल क्षेत्र भएकाले गाउँतिरबाट सयौंको संख्यामा चरनका लागि चौपायहरू आउने गर्छन्।

वर्षायाममा चौपायको चाप हुँदैन। हिउँद महिनामा त गाईवस्तु मुख्य सडकमा बसेर सडक नै अवरुद्ध गरी दिन्छन्। सडकमा नै गोर्व्याउँछन्। १० बजेदेखि ५ बजेसम्म गाईबस्तुको गोबर फाल्ने र सडकबाट चौपाय हटाउँदै दिनचर्या बित्ने गरेको उनको भनाई छ।

मोरङको पथरी शनिश्चरे– १५ का राई १६ वर्षदेखि सरसफाई पेशामा छन्। जंगलक्षेत्र भएकोले कामको चाप बढी भएको राईले बताए। उनले भने–‘तीन सयभन्दा बढी दुर्घटना आँखै अगाडि भएका छन्।’

राई आफ्नो इलाका भरिको सडकलाई जहिल्यै सफा राख्ने गरेको बताउँछन्। सडकमा ठूला सवारी साधनले मारेको सर्पका कारण मोटरसाइकल चालक दुर्घटनामा परेको घटना उनको आँखा अगाडि आईरहन्छ। भन्छन्, ‘बसले सर्प मारेछ। त्यो सर्प सडकबाट हटाउने जिम्मा मेरो नै थियो तर थाहा पाइँन। केही छिनमा एउटा मोटरसाइकल त्यही दुर्घटनामा पर्‍यो।’

मोटरसाइकल दुर्घटनामा पर्नुको कारण मरेको सर्प नै थियो। दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएको राईले बताए। राजमार्ग सरसफाइ गर्ने सडक विभागका यी कर्मचारीहरू सबै करार सेवाका हुन्।

विभागले हरेक वर्ष रेनकोट, ज्याकेट, जुत्ता र एक सरो लुगा बाहेक कुनै सुविधा दिएको छैन। यद्यपि उनीहरूले आफ्नो जिम्मेवारी पुरा गरेका छन्।

महेन्द्र राजमार्गको पथरी–छधारे सडक खण्डमा काम गर्ने रहनसिंह राई विरामी परेपछि सरसफाईको काम उनका नाति शेरबहादुरले गर्न थालेका छन्।

शेरबहादुर भन्छन्– ‘हाम्रो काम सडक सरसफाई हो। तर सडक प्रयोग गर्नेले सरसफाई गर्न नसके पनि फोहोर फालिदिनु भएन।’

पछिल्लो समय सडक विभागले सडकका खाल्डा खुल्डी पुर्न र सानो तिनो मर्मत गर्न पनि उनीहरूलाई नै प्रयोग गर्न थालेको छ। विएल नेपाली सेवा