भर्खरै सम्पन्न रोल्पा जिल्ला तेक्वान्दो संघको अधिवेशनबाट अध्यक्ष पदमा चयन हुनुभयो, यो संस्था र यसको सांगठनिक संरचनाका विषयमा संक्षेपमा जानकारी दिनुहोस् न ?

नेपालको संविधान २०७२ को धारा ३९ को “बालबालिकाको हक” अन्तर्गत उपधारा २ मा बालबालिकालाई खेलकुद तथा मनोरञ्जनको हकको व्यवस्था गरिएको छ भने भाग ४ धारा ५१ मा राज्यका नीतिहरू अन्तर्गत खण्ड (ञ) मा सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीतिको १३ नम्बर बुँदामा “स्वास्थ, सक्षम र अनुशासित नागरिक तयार गर्न खेलकुद तथा खेलाडीमा योजनाबद्ध लगानी गर्ने र खेलकुदलाई राष्ट्रिय एकता सुदृढ गर्ने एवं अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रिय सम्मान अभिवृद्धि गर्नेे माध्यमको रूपमा विकास गर्ने” व्यवस्था गरिएको छ । हाम्रो देश नेपालमा खेलकुदका गतिविधिहरुलाई नियमित रुपमा सञ्चालन गर्नका लागि युवा तथा खेलकुद मन्त्रालय र मन्त्रालय अन्तर्गत राष्ट्रिय खेलकुद परिषद्को व्यवस्था गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् स्वायत्त संस्थाको रुपमा क्रियाशील छ भने यस अन्तर्गत प्रदेश तथा जिल्लाका खेलकुद गतिविधिहरु सञ्चालन हुन्छन् ।

यसै अन्तर्गत नेपालमा केन्द्रीय नेपाल तेक्वान्दो संघ आधिकारिक रुपमा दर्ता भै सञ्चालन हुँदै आएको छ । यसकै मातहतमा प्रदेश, जिल्ला र स्थानीय तहहरुमा स्थापित छ । यो तेक्वान्दो खेलको उत्पति दक्षिण कोरियामा भएको हो । परापूर्वककालमा जसरी मानव सभ्यताको विकास हुँदै आयो त्यसैगरी समय सापेक्ष यस खेलमा पनि विकास एवम् परिवर्तन हुँदै आएको कुरा इतिहासबाट प्रष्ट बुझिन आएको छ । तेक्वान्दो खेल भनेको विना अस्त्रको शस्त्र हो । जुनकलामा सम्पूर्ण शरीरको प्रयोग गरी खेलिन्छ । Taekwondo को शाब्दिक परिभाषा Tae भनेको किक अथवा खाली खुट्टाले हानेर फुटाउनु, kwon भनेको मुठ्ठी अथवा मुठ्ठीले हानेर कुनै चिज नष्ट गर्नु र do भनेको बाटो अथवा तरिका हो । समग्रमा भन्नुपर्दा तेक्वान्दो खेल खाली हात खुट्टाको कला प्रयोग गरी खेलिने मार्शल आर्ट (Martial Art) खेल हो । जुन खेलमा व्यक्तिगत सुरक्षाका विभिन्न कलाहरु समावेश भएका हुन्छन् ।

नेपालमा तेक्वान्दो खेल भित्रिएको इतिहास करिब ३८ वर्ष पुगिसक्यो । वि.सं. २०३९ साल भाद्र महिनादेखि नेपालमा तेक्वान्दो खेल आधिकारिक रुपमा सुरु भएको थियो । वि.सं. २०३९ सालमा राष्ट्रिय सभागृहमा तेक्वान्दो खेलका संस्थापक आदरणीय गुरु श्री दीपराज गुरुङज्यूले आफ्ना केही सहकर्मीहरुका साथ तेक्वान्दो प्रदर्शन गरी २०३९ साल फागुन महिनामा नेपाली सेना र नेपाल प्रहरीमा तेक्वान्दोको तालिम सञ्चालन गर्नुभएको थियो । वि.सं. २०४० सालदेखि सर्वसाधारणलाई काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्ड हलमा नेपालका तेक्वान्दो संस्थापक आदरणीय गुरु श्री दीपराज गुरुङले तेक्वान्दो तालिम सञ्चालन गर्नु भयो । तेक्वान्दो खेलको विकास एवम् विस्तारका लागि वि.सं. २०४३÷०४४ सालमा कालोपेटी प्रथम डान प्राप्त गरेका तेक्वान्दो खेलाडीहरुमध्ये सक्रिय रुपमा लागिपरेकाहरु तथा मार्शल आर्टमा विशेष रुचि राख्नुहुने १४ जना खेलाडीहरुलाई सहायक प्रशिक्षकको रुपमा नियुक्ति दिई १४ वटै अञ्चलमा पठाउने काम भयो । त्यसैगरि हाल क्रमशः सबै जिल्ला र गाउँगाउँमा समेत स्थापित हुँदै आएको छ ।

यहाँहरुको संस्थाजस्तै समानान्तर संस्थाका रुपमा तेक्वान्दोसँग सम्बन्धित अन्य संस्था पनि रहेको पाइन्छ, यी संस्थाहरुका बारेमा केही भ्रम पनि छन्, कसरी स्पष्ट पार्नुहुन्छ ?

हाम्रो नेपाल तेक्वान्दो संघ (NTA) भनेको अन्तर्राष्ट्रिय संघ (IF) हो जसले तेक्वान्दो खेललाई सञ्चालन गर्दछ । मान्यता प्राप्त मार्शल आर्ट विधा अन्तर्गत राष्ट्रिय खेलकुद परिषद् नेपालमा वि.सं. २०३९ साल भाद्र महिनामा दर्ता भै मान्यता प्राप्त आधिकारिक खेलको रुपमा चिरपरिचित संस्था नेपाल तेक्वान्दो संघ हो । राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएका राष्ट्रिय संघहरु २ सय भन्दा माथि रहेकोे पाइन्छ । जस अन्तर्गत हालसम्म मार्शल आर्ट विधासँग सम्बन्धित राष्ट्रिय संघहरु नै ९४ वटा भएकोेले नाम मिल्दो जुल्दो भएपनि खेलको उत्पति भएको देश फरक–फरक रहेको छ ।

खेलाडीले लगाउने पोशाक सेतो भए पनि त्यसको सिलाई र डिजाइन फरक हुन्छ । सिकाउने तरिका, खेल खेल्ने नियम तरिका, भाषा लगायतका अन्य सबै कुरा फरक नै हुनेहुँदा आम खेलपे्रमी, जनसमुदायलाई स्पष्ट पार्न चाहन्छु । यो हाम्रो World Taekwondo (WT)  तेक्वान्दो खेल सबैभन्दा समावेशी र पहुँचयोग्य लडाकु खेलको नेतृत्व गर्दछ, जसले एक प्राचीन सम्पदाको मूल्यलाई ग्लोबल एलिट खेलको मानसँग मिलाउँदछ । हाम्रो तेक्वान्दोको मार्ग दर्शन भनेको उमेर, लिंग, धर्म, जातीयता वा क्षमतालाई वास्ता नगरी खेल खेल्न, हेर्न र मजा लिन सिक्ने अवसर प्रदान गर्न घाँसको जरादेखि एलिट स्तरसम्म समस्त देशभर तेक्वान्दोको विकास विस्तार गर्नु हो ।

हेमन्त खत्री, अध्यक्ष, रोल्पा तेक्वान्दो संघ

रोल्पाबाट प्रतिनिधित्व गरेका खेलाडीहरुले कुन स्तरसम्म भाग लिएका छन् र जितेका केही उदाहरण छन् ? नेपालमा तेक्वान्दो खेलको अवस्था र खेलाडीको भविष्य कस्तो छ ?

रोल्पा जिल्लाको सन्दर्भमा कुरा गर्दा रोल्पा जिल्लामा तेक्वान्दो खेलको विस्तार गर्ने खेलाडी तथा हाल रोल्पा जिल्लामा तेक्वान्दो सहायक प्रशिक्षक रुपमा कार्यरत श्री जगबहादुर नेपाली हुनुहुन्छ । उहाँले रोल्पा जिल्लामा २ दशकदेखि तेक्वान्दो खेललाई निरन्तर रुपमा विस्तार गर्दै आउनुभएको छ । उहाँले उत्पादन गरेका खेलाडी श्री गायत्री श्रेष्ठ अन्तर्राष्ट्रिय प्रतियोगिता साफ गेममा समेत भाग लिन सफल भएका छन् भने श्री थमबहादुर सुनार, यमुना के.सी., मीना बाँठामगर, सीता रोकामगर, म स्वयम् लगायत दर्जनौ खेलाडीहरु राष्ट्रियस्तरको खेलमा सहभागी भई कास्य, रजत पदकमात्र नभई स्वर्ण पदक समेत रोल्पा जिल्लालाई दिलाएका छन् भने क्षेत्रीय र अञ्चल (हाल प्रदेश स्तरीय) प्रतियोगितामा समेत अधिकमात्रामा सहभागिता जनाई दर्जनौ पटक जिल्लाको टिमलाई समेत प्रथम बनाउन सफल भएका छन् ।

नेपालमा तेक्वान्दो मार्शल आर्ट खेलको अवस्थालाई हेर्दा Olympic, Asian Games, South Asian National गेमहरुमा सहभागिता र प्राप्त गरी नेपालमा तेक्वान्दो मार्शल आर्ट खेलकुदको प्रवेशसँगै यसले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा समेत चिनाउन सफल भएको छ । नेपालमा तेक्वान्दो खेलले देशव्यापी रुपमा युवाहरुलाई लठ्यायो पनि यही युवाहरुको भीडबाट उदाएका चर्चित हस्ती तथा हालसम्म नेपाललाई कोरियामा १९८८ मा भएको Olympic खेलमा तेस्रो पदक दिलाउने तेक्वान्दो खेलका उदयमान खेलाडी श्री विधान लामालाई मात्र नेपाल आमा र नेपाली सन्ततीहरुले चिन्दछन् भने, तेक्वान्दोकै अन्य Olympic खेलाडीहरु मानबहादुर तामाङ, नारायण गुरुङ, प्रमिला थापा, सीता राई, संगिना वैद्य, दीपक विष्टजस्ता तेक्वान्दोका हस्तीहरुले नेपाल देशको प्रतिनिधित्व गर्दै विभिन्न समयमा Olympic खेलमा भाग लिन सफल भए । नेपालमा अन्य स्थापित खेलहरुले Olympic खेलमा भाग लिएपनि पदक लिन सकेका छैनन् त्यसैले तेक्वान्दो खेलले मात्र लिन सकेको छ ।

नेपालमा तेक्वान्दोका पिता भनेर श्री दिपराज गुरुङलाई तेक्वान्दो खेलाडीले मात्र नभई सिङ्गो देश नेपालमा मात्र नभएर विश्वमै चिरपरिचित हुनुहुन्छ । संगिना वैद्यलाई हाल नेपालमा तेक्वान्दो खेलको त्तगभभल भनेर पनि चिन्दछन् भने दीपक विष्टलाई साफ गेममा लगातार चार पटकसम्म स्वर्ण जितेका खेलाडी भएकाले उहाँलाई स्वर्णधारी खेलाडी भनेर पनि चिन्दछन् । त्यसैगरि हाम्रै प्रदेशको कुरा गर्ने हो भने मध्यपश्चिमाञ्चल क्षेत्रमा तेक्वान्दो विस्तार गर्ने हस्तीको रुपमा श्री अर्जुन वि.क. लाई चिन्दछौ । हाल उहाँ तेक्वान्दोबाटै राष्ट्रिय खेलकुद परिषद्को डाइरेक्टरको रुपमा कार्यरत हुनुहुन्छ । नेपाललाई सबैभन्दा अन्तर्राष्ट्रिय सफलता दिलाउने खेल नै तेक्वान्दो खेललाई लिने गरिन्छ । त्यसैले नेपालको तेक्वान्दो खेलले दिलाएको अन्तर्राष्ट्रिय सफलता नेपालको खेलकुद क्षेत्रमा स्वर्ण अक्षरले कोरिएका छन् ।

समग्र खेल क्षेत्र अथवा तेक्वान्दो खेलका लागि राज्यको लगानीको अवस्था कस्तो छ ?

नेपालमा समग्र खेल क्षेत्रको भविष्य पहिलेको भन्दा देश संघीय लोतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुरुवात भएपश्चात र नेपालमै सञ्चालन भएको १३ औं दक्षिण एसियाली खेलकुद २०७६ सम्पन्न पश्चात नेपाल सरकारले समग्र खेलका पदक लिने खेलाडीहरुलाई सन्तोषजनक रकम उपलब्ध गराएको थियो । त्यसमा पनि हाम्रो तेक्वान्दो खेलले मात्र ७ (सात) वटा स्वर्ण पदक लिन सफल भएको थियो । तत् पश्चात राज्यले तेक्वान्दो खेलमात्र नभई समग्र खेल क्षेत्रमा लागेको व्यक्तिलाई जिउने आधार स्तम्भ खडा नगरेको अवस्था छ । राज्यले कम्तिमा पनि जिल्ला, प्रदेश, राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको खेलाडीलाई जिउने आधार बनाउनु पर्दछ । राजनीतिक हस्तक्षेपलाई निर्मूल पार्नुपर्दछ । खेल विधाअनुसार प्रशिक्षकको कमी, र तेक्वान्दो खेल नेपालको सन्दर्भमा स्थापित खेल भएकोले राज्यले सन्तोषजनक लगानी गरिरहेको छ । अझ यसलाई बढावा दिएमा राम्रो हुने थियो ।

तेक्वान्दो खेल तथा समग्र खेलकुद क्षेत्रको विकासका लागि कसले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?

खेलकुदको माध्यमबाट शारीरिक, मानसिक, बौद्धिक, संवेगात्मक विकासका माध्ययमबाट नैतिकवान मानव संशाधनको विकास गरी अनुशासित र मर्यादित समाज निर्माण गर्दै खेलकुदलाई रोजगारमूलक व्यवसायको रूपमा समेत स्थापित गर्नु आवश्यक छ । यसका लागि प्रत्येक प्रदेश र स्थानीय तहसम्म नै कार्यक्रम सञ्चालन गरी “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद र सबैको लागि खेलकुद” भन्ने अभियानलाई साकार पार्न खेल संघहरुलाई व्यवस्थित बनाउनु पर्दछ ।

संगठन संरचना, संस्थागत विकास तथा अन्य विषयमा यहाँहरुको आगामी योजना के के छन् ?
यो तेक्वान्दो खेल विश्वका सबै देशमा व्यापक रुपमा विस्तार भएको छ । हाम्रो देश नेपाल सरकारले नै प्रत्येक जिल्ला खेलकुद विकासमा स्थायी प्रशिक्षक खटाएको छ । र संघीयता अनुसार पनि संरचना बनिसकेकोले हरेक स्थानीय तहमा पनि स्थापना भै सकेको र गाउँगाउँ र टोल टोलमा विस्तार भैरहेको छ । रोल्पा जिल्लाको सबै स्थानीय तहमा मात्र नभई गाउँ गाउँमा समेत स्थापित भै सकेको अवस्थामा, मार्शल आर्ट खेल तेक्वान्दो खेल र उक्त खेल खेल्ने खेलाडीको भविश्य राम्रो छ । किनभने हामी आफ्नो स्वास्थ्यको लागि खेल खेल्यौं, व्यायम ग¥यौं भने मात्र हामी स्वस्थ हुन्छौं र स्वस्थ भयो भने मात्र राज्यलाई केही दिन र गर्न सक्छौं । यो खेल खेल्यौं भने खेलाडी मात्र नभई आफ्नो आत्मसुरक्षा, देश विदेशको सेना, प्रहरी, सेक्युरिटी गार्ड लगायतका विविध कार्यहरुमा उल्लेख्य मात्रामा सहयोग पुग्दछ । यो खेल खेलेर प्राप्त गरेको प्रमाणपत्र देशमा मात्र नभई विश्वकै जुनसुकै ठाउँमा पनि मान्यता दिने खेल हो । त्यसैले यो खेल विश्वमै चिरपरिचित खेल तेक्वान्दो हो ।

रोल्पामा मेरो नेतृत्वको टिमले हाम्रोभन्दा राम्रो खेलाडी उत्पादन गर्नेछ, संघलाई माथिल्लो निकायको नियमानुसार अझ वैज्ञानिक ढङ्गले चुस्त र दुरुस्त तवरले विस्तार गर्दै लैजाने, जिल्लास्थित सम्पूर्ण खेलका संघ, खेलहरुसँग विधा फरक भए पनि उद्देश्य एउटै भएकोले सहकार्य गरेर जाने, स्थानीय सरकारको नीति नियमलाई पालना र सहकार्य गर्दै जाने, जिल्लास्थित विभिन्न सरकारी, गैरसरकारी संघ सस्थाहरुसँग सहकार्य गर्दै जाने, रोल्पाली जनसमुदाय, बुद्धिजीवी, साहित्यकार, खेलप्रेमी, व्यापारीहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने, रोल्पा जिल्लाबाट सक्षम खेलाडी उत्पादन गर्ने, क्रमशः पालिकास्तरीय, जिल्लास्तरीय, प्रदेशस्तरीय र राष्ट्रिय प्रतियोगिता समेत सञ्चालन गर्ने योजना रहेको छ ।

अन्तमा, यस पत्रिकामार्फत् भन्नैपर्ने केही छन् कि ?
सर्वप्रथम त मलाई यो तेक्वान्दो खेलको बारेमा केही कुरा राख्ने अवसर दिनुभएकोमा सम्पादक मण्डलज्यू, लगायत पत्रिका परिवारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । पुनः म के भन्न चाहन्छु भने यो हाम्रो तेक्वान्दो खेल World Taekwondo (WT) सबैभन्दा समावेशी र पहुँचयोग्य लडाकु खेलको नेतृत्व गर्दछ, जसले एक प्राचीन सम्पदाको मूल्यलाई ग्लोबल एलिट खेलको मानसँग मिलाउँदछ । हाम्रो तेक्वान्दोको मार्ग दर्शन भनेको उमेर, लिंग, धर्म, जातीयता वा क्षमतालाई वास्ता नगरी खेल खेल्न, हेर्न र मजा लिन सिक्ने अवसर प्रदान गर्न घाँसको जरादेखि एलिट स्तरसम्म समस्त जिल्लाभर तेक्वान्दोको विकास विस्तार गर्नु हो ।

(सनस्टार साप्ताहिकमा प्रकाशित याे अन्तरवार्ता पत्रकार नवीन लाेचनमगरले लिनुभएकाे हाे । सं.)